बेलायतले डीआर कंगोका नागरिकलाई भिसा नदिने, अरु कुन-कुन देश छन् त निगरानीमा ?


प्रकाशित मिति : पुस ११, २०८२ शनिबार

बेलायतले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) का नागरिकलाई भिसा नदिने भएको छ। अवैध आप्रवासी तथा विदेशी अपराधीहरूलाई फिर्ता लैजान आवश्यक उपायहरूमा सहमति जनाउन कंगो सरकार असफल भएपछि बेलायत सरकारले यो प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कंगो सरकारले नोभेम्बरमा घोषणा गरिएका बेलायतका कडा शरण (असाइलम) नियमहरूअनुसार आवश्यक परिवर्तनहरू नगरेकाले यो कदम चालिएको बताइएको छ।

अब कंगोका नागरिकका लागि लागू हुँदै आएको ‘फास्ट-ट्र्याक’ भिसा प्रक्रिया बन्द गरिनेछ। साथै, बेलायती होम अफिसले कंगोका भीआईपी र राजनीतिज्ञहरूलाई दिइँदै आएको विशेष प्राथमिकता पनि हटाइने जनाएको छ।

होम अफिसका अनुसार अंगोला र नामिबिया पनि यसअघि प्रतिबन्धको चेतावनी दिइएका देशहरूको सूचीमा थिए। तर, हाल ती देशहरू आफ्ना नागरिकलाई फिर्ता लैजान प्रयास बढाउन सहमत भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गृह मन्त्री शबाना महमूदले आफ्ना नागरिकलाई फिर्ता लिन अस्वीकार गर्ने अन्य देशहरूमाथि पनि भिसा प्रतिबन्ध लगाउन बेलायत पछि नपर्ने चेतावनी दिएकी छन्।

होम अफिसले अंगोला र नामिबियासँग भएको सहमतिलाई “गत महिनाको शरण सुधार योजनाबाट प्राप्त पहिलो ठोस उपलब्धि” भनेको छ।

अंगोला, नामिबिया र डीआर कंगो: निष्कासन (डिपोर्टेशन) प्रक्रियामा सहकार्य नगरे भिसा पूर्ण रूपमा बन्द गरिने छ। यी सहमतिहरू कार्यान्वयन भएमा बेलायतमा रहेका हजारौँ अवैध आप्रवासीहरूलाई देश निकाला गर्न सकिने होम अफिसको दाबी छ।

सरकारको नयाँ प्रणालीअनुसार अब शरणार्थीको हैसियत अस्थायी मात्र हुनेछ र आवास सहयोगको सुनिश्चितता अन्त्य गरिनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com