स्वास्थ्यविमा रकम तिर्न नसक्नेलाई अमेरिकी भिसा नदिने नियमबिरुद्ध अदालतमा मुद्दा


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

स्वास्थ्य विमा तिर्न नसक्ने वा अमेरिकामा स्वास्थ्य खर्च बेहोर्न नसक्नेहरुको भिसा अस्वीकृत गर्नसक्ने ट्रम्प प्रशासनको नियमबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । आप्रवासीहरुको अधिकारका लागि सकृय र कानुनी संस्थाहरुको एउटा समुहले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकालाई भिसा अस्वीकृत गर्नसक्ने नियमबिरुद्ध मुद्दा दायर गरेका हुन् ।

ओरेगनको अदालतमा मुद्दा दायर गर्दै ट्रम्प प्रशासनको यो नीति लागु हुनमा रोक लगाउन माग गरिएको छ । आइतबारदेखि लागु हुन लागेको ट्रम्प प्रशासनको नयाँ नीतिले अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ ।

आगामी नोभेम्बर ३ देखि लागु हुने नयाँ नियमले अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार समेत थपेको छ । नयाँ नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्नेछ ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका हुन् । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा लागु हुनेछ ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको छ । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु हुनेछ ।

अब अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्नेछ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने छ भने रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइनेछ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।

१ बर्षको अल्पकालिन स्वास्थ्य विमा, पारिवारिक सदस्यको स्वास्थ्य विमा, एकबर्षको भिजिटर स्वास्थ्य विमा योजनालाई पनि मान्यता दिइनेछ ।

नोभेम्बर ३ भन्दा अगाडि नै अमेरिकाको आप्रवासी भिसा प्राप्त गरिसकेकाहरुको सन्दर्भमा नयाँ नियम लागु नहुने जनाइएको छ । अमेरिकी नागरिकका छोराछोरीहरुका सन्दर्भमा, विशेष भिसाका सन्दर्भमा पनि नयाँ नियम लागु नहुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com