अब पारिवारिक ग्रिनकार्डको आई १३० फर्म अनलाइनबाटै भर्न सकिने


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले अब पारिवारिक ग्रिनकार्डका लागि आई १३० फर्म अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । अब आई १३० आवेदकले अनलाइनमा फर्म भरेर विद्युतीय रुपमा नै पठाउन, केसको अवस्था हेर्न र युएससीआईएसका सुचनाहरु अनलाइनमा नै प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी नागरिकता प्राप्त व्यक्तिले आफ्ना दम्पत्ति, छोराछोरी, दाजुभाई दिदीबहिनी र बुबाआमाका लागि ग्रिनकार्ड आवेदन दिनका लागि यो फर्मको प्रयोग गर्नुपर्छ । त्यस्तै अमेरिकी ग्रिनकार्डवाहकले आफ्ना दम्पत्ति र अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्नका लागि यो फर्मको प्रयोग गर्नुपर्छ । युएससीआईएसमा यो फर्म असाध्यै धेरै प्रयोग हुने मध्येको फर्म हो ।

अब यो सँगै युएससीआईएसमा अनलाइनमार्फत फाइल गर्न सकिने फर्महरुको संख्या ८ पुगेको छ । ग्रिनकार्ड हराएमा वा चोरी भएमा भरिने फर्म आई ९०, भिसाको अवधि थप्न वा परिवर्तन गर्न आई ५३९, नागरिकताको प्रकृयामा सुनुवाईका लागि फर्म एन ३३६, अमेरिकी नागरिकताको आवेदन फर्म एन ४००, नागरिकताको कागजात पुन चाहिएमा एन ५६५, नागरिकताको प्रमाणपत्रका लागि एन ६०० र एन ६०० के फर्म पनि अनलाइनमार्फत भर्न सकिन्छ ।

अनलाइनमार्फत यी फर्महरु भर्नका लागि आवेदकले युएससीआईएसको वेवसाइटमा अनलाइन एकाउन्ट खोल्नुपर्छ । आवेदकले अनलाइनबाटै शुल्क तिर्न, आफ्नो आवेदनको अवस्था थाहा पाउन, युएससीआईएसले मागेका थप कागजात पठाउन र युएससीआईएससँग सुरक्षित तरिकाले इनबक्समा सम्पर्क गर्न सक्छन् ।

युएससीआईएसले अनलाइनबाट फर्म नभर्नेहरुका लागि कागजी फर्मपनि स्वीकार गर्दै आएको छ । तर अनलाइनबाट फर्म भर्दा छिटो प्रकृयामा बस्ने, युएससीआईएसका पत्रहरु हराउने खतरा नहुने र अनलाइनबाट सहजै सबै अवस्था थाहा पाउन सकिने हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com