मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ?

काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको जाम समाधानका लागि सरकारले सात स्थानमा अन्डर पासको तयारी गरिरहेको जवाफ दिनुभयो । मन्त्री महासेठले भन्नुभयो, “काठमाडौँको जाम समाधान गर्न हामीले गौशाला, कोटेश्वर, चाबहिल, थापाथली र नयाँ बानेश्वरलगायतका स्थानमा अन्डर पासको व्यवस्था गर्न काम अगाडि बढाइएको छौँ ।”

काठमाडौँका सडकमा खानेपानीको पाइप गाडेर कहिले सकिन्छ ? एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले फेरि पाइप राख्ने भन्दै बाटो खन्दै जान्छ, यस्तो प्रक्रिया कहिलेसम्म चल्छ मन्त्रीज्यू ? यहाँ आज आयोजित साक्षात्कारमा पहिलो प्रश्नको पूरा जवाफ दिन नपाउँदै मन्त्रीसमक्ष ती पत्रकारले फेरि अर्को प्रश्न ते¥याए । मन्त्रीको जवाफ थियो, “हामीले जसले बाटो खनेर पाइप बिछ्याउने काम गर्छ उसले नै तत्काल त्यो बाटो पुरेर कालो पत्र गर्नुपर्ने कडा निर्देशन दिएका छौँ र त्यहीअनुसार काम भइरहहेको छ र त्यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ ।” उहाँले काठमाडौँ शहरलाई व्यवस्थित गर्नका लागि पुल र सडक निर्माणको काम भइरहेको बताउनुभयो ।

मन्त्री महासेठले विगतको तुलनामा वर्तमान सरकारले पूर्वाधार, आर्थिक विकास, शान्ति सुरक्षा र पर्यटन विकासका क्षेत्रमा जनताको चाहनाअनुसार नै अगाडि बढिरेहको बताउनुभयो । “सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको छ, सडक निर्माणदेखि पुल निर्माणसम्म सरकार तदारुकताका साथ अगाडि बढिरहेको छ, यो आर्थिक वर्षमा ३०० वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो । हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनामा द्रूत गतिका काम भइरहेको जानकारी दिँदै मन्त्री महासेठले रेलका बारेमा पनि लक्ष्यअनुरुप नै काम अगाडि बढेको बताउनुभयो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com