चीनका राष्ट्रपतिको भ्रमण सफल हुनुका ६ कारण


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

– राधाकृष्ण देउजा

नेपालकी राष्ट्रपति महामहिम विद्या भण्डारीको निमन्त्रणामा नेपाल आउनु भएका चीनका राष्ट्रपती माहामहिम सी जिन पिङ्ग आफ्नो छोटो तर महत्वपूर्ण भ्रमण सकेर फर्कनु भएको छ । केहि अल्पज्ञानी उपरवुज्रुकहरुले जे जस्तो भनेको वा अर्थ लगाउने कोशिस गरेको भएपनि नेपालको निम्ती भारत र चीन दुवैसंगको सम्वन्ध महत्वपूर्ण छ र नेपालले समदुरी र समान महत्वको जुन अभ्यास गर्न खोजेको छ त्यो साँचो अर्थमा सराहनीय छ ।

कार्यकारी भूमिकामा रहेका चिनिया राष्ट्रपति सी जिन पिङ्ग हुन वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन वा अरु कोहि विदेशी पाउना हुन वहाँहरुले नेपाल आउँदा राष्ट्रको राजकीय स्वागत र सम्मान मात्रै हैन नेपाली जनताको तर्फबाट न्यानो आतिथ्यता र हार्दिक स्वागत पाउँदै आउनु भएको छ जसले गर्दा नेपाल र नेपाली प्रतिको दृष्टिकोण थप सकारात्मक बन्न सहयोग गरेको छ ।

जे होस भर्खरै सकिएको राष्ट्रपति सी को भ्रमणले विश्व समुदायमा नेपालको पहिचान अझै व्यापक भएको छ भने नेपाल दक्षिण एसियाको एक महत्वपूर्ण देश रहेको सन्देश गएको छ । चीन सदैव नेपालको असल मित्र रहँदै आएको छ , उसले नेपालको हितमा सकेसम्म सहयोग गर्दै आएको छ । तसर्थ राष्ट्रपती सी भ्रमणको दौरान नेपालले के र कस्ता सहयोग पायो भन्ने विषय त्यति ठुलो हैन किनकि पाउना आउनु जति ठुलो र महत्वपूर्ण हुन्छ त्यो भन्दा निक्कै कम मात्रै महत्व हुन्छ पाउनाले के कोशेली ल्याए भन्ने विषय ।

अत: मुख्य कुरा भनेको संसारकै शक्तीशाली बन्दै गएको राष्ट्रको प्रमुख नेपाल आउने वातावरण बन्न सक्नु र त्यो बनाइनु चाहिं मुख्य कुरा हो । राष्ट्रपती सी को भ्रमणले पैदा गराएको उत्साहमा दंग भैरहंदा जसजसले त्यो अवस्था बनाउन महत्वपूर्ण भूमिका खेले ति पात्रहरुको चर्चा गरिएन भने त्यो खुसि अलिक अधुरो अपुरो हुन्छ ।

हामी सर्वसाधारणले ठ्याक्कै भित्रि कुरो थाहा पाउन सक्ने कुरो भएन तर सामान्य मान्छेले देख्दा राष्ट्रपती सीलाइ आफैं गएर समेत निमन्त्रणा गर्ने माहामहिम राष्ट्रपति विद्या भण्डारी अनि भ्रमणको आवश्यकता र महत्व मनन गर्दै त्यसको ग्यारेण्टी नहुन्जेल लागिरहनु हुने सम्माननीय प्रधानमन्त्री केपी ओली वाहेक यस भ्रमण सम्भव र सफल हुनुमा मुख्यत निम्नको भूमिका महत्वपूर्ण देखिन्छ :

१. सवै भन्दा पहिला चाइनामा राजदुत रहनु भएका माहामहिम लिलामणि पौडेलको चर्चा गर्नु न्यायपूर्ण हुन्छ जसले अन्य थुप्रै देशमा रहेका नेपाली राजदुतहरुले जस्तो राजदुत पदलाइ विदेशी मुद्रामा तलव खाने , तत मुलुकमा पुगेका नेपाली नेताहरुको स्वागत सत्कार गर्ने र आफुले के- के नै गरेको भन्दै आफ्नो वयान आफैं गर्ने माध्यम बन्न दिनु भएन बरु आफ्नो पद र त्यसमा रहंदाको समयलाइ अधिकतम रुपमा नेपाल र नेपालीको हितमा कसरि लगाउन सकिन्छ भन्नेमा लगाउनु भयो । जसको परिणाम चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण बन्ने मात्रै नभई त्यस दौरान नेपालको विकासमा उल्लेख्य सहयोग घोषणा समेत हुन पुग्यो ।

२. त्यतिको शक्तीशाली राष्ट्रको प्रमुखको भ्रमण भनेको भ्रमणको निम्ती गरिएको अनुरोध र त्यसको सम्मानले मात्रै सम्भव हुदैन , त्यसो हुन भ्रमण गर्ने भन्ने देशको शान्ती सुरक्षाको अवस्था पनि विश्वास योग्य भए रहेको हुनुपर्छ । यस अर्थमा चीनिया राष्ट्रपतिको भ्रमणमा कुनै सुरक्षा चुनौती रहँदैन भन्ने सन्देश दिन सफल नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना अनि राष्ट्रिय अनुसन्धान बिभागका सम्पूर्ण सदस्यहरुको भूमिकाको सम्झना हुनुपर्छ भने ति गौरवशाली सुरक्षा संगठनका नेतृत्वकर्ताहरुको प्रशँसा गर्नै पर्छ भने ति संगठनहरुको तालुकवाल मन्त्रालयको मन्त्रीहरु ; उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अनि गृहमन्त्री राम बहादुर थापाको भूमिकाको खुल्ला दिलले प्रशंसा अनिवार्य हुन्छ ।

३. उल्लेखित राजकीय निकाय र पात्रहरुको भूमिका तव मात्रै सम्भव हुनसक्थ्यो जव उनीहरुलाइ त्यस्तो भूमिका गर्न सक्ने वा पर्ने वातावरण बनाउने सहितको नीतिगत नेतृत्व गर्ने पात्रको उपस्थिती हुन्थ्यो l यस पटक त्यस्तो काम वर्तमान परराष्ट्रमन्त्री माननीय प्रदिप ज्ञवालीले गर्नु भयो । भारतका प्रधानमन्त्रीको औपचारिक र धार्मिक भ्रमण भइसकेको अवस्थामा चीनका राष्ट्रपतीलाइ नेपाल भ्रमण गराउन सक्दा क्षेत्रिय सन्तुलन र समदुरी कायम हुने र त्यसले सकारात्मक प्रभाव पनि पार्ने बुझेका माननीय पराराष्ट्र मन्त्रीले जे जसरि आफुलाइ सक्रिय राख्नु भयो , जे जसरि आफ्नो राजदुतलाइ सहि काम गर्न आवश्यक अधिकार , स्रोत साधन दिनु भयो अनि जे जसरि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सक्नु भयो त्यसको प्रशँसा जति गरे पनि कमनै हुन्छ ।

४. तर यो भ्रमण यत्तिकै मात्रै सम्भव हुदैन थियो यदी यस भ्रमणको विषयमा लामो समय प्रजातन्त्र र विधिको शासनको निम्ती लडेको वर्तमान प्रतिपक्षदल सकारात्मक र सहयोगी नभएको भए । जे जसरि नेपाली काँग्रेसले सहजता साथ आफ्ना आन्तरिक असहमति थाँती राखेर यस भ्रमणमा सहयोगी बन्यो त्यसको निम्ती सिंगो नेपाली कांग्रेस पार्टी बधाईको हकदार छ भने त्यस पार्टीका सभापती तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा धन्यवादको हकदार हुनुहुन्छ ।

 

५. अनि अर्को भुल्नै नहुने तथ्य के हो भने यो वा यस्ता भ्रमणहरु सम्भव हुन देशहरुको अलावा सम्वन्धित देशहरुको सत्तारुढ दलहरु विचको आपसी सम्वन्धले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ , यस अर्थमा लामो समय देखि पार्टीको विदेश विभाग सम्हाली रहनु भएका नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मात्रै हैन विगतमा आफु पार्टी प्रमुख हुँदा वा प्रधानमन्त्री हुँदा देखि निरन्तर देखाउनु भएको सन्तुलनकारी, सम्मानपूर्ण भूमिका र चीनसँगको सम्वन्धलाइ दिंदै आउनु भएको महत्वले पनि यस भ्रमणलाइ सम्भव अनि सफल बनाउन भूमिका खेलेको छ ।

६. त्यसको अलावा यहाँ उल्लेख गर्नै पर्छ कि सन १९५५ मा नेपाल चाइनाको सम्वन्धको सुरुवात गर्ने र त्यसलाइ १९६० सम्म आइपुग्दा अझै सुदृढ , थप औपचारिक बनाउन समयको नेतृत्व गर्ने प्रजातन्त्र र जनअधिकारको सम्वन्धमा असहिष्णु भएपनि राष्ट्रियता र परराष्ट्र मामिलामा दुरदर्शी तत्कालिन राजा महेन्द्रको भूमिकाको स्मरण गर्नै पर्ने हुन्छ ।

उल्लेखित सबैको साथै यस कार्यको निम्ती दृश्य अदृश्य भूमिका खेल्ने सबैलाइ धन्यवाद अनि समग्र नेपाली जनतालाइ फेरी एक पटक अतिथि सत्कारको आफ्नो परम्पराको निरन्तरताको निम्ती आभार ।

लेखक
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com