कसले गर्यो आन्दोलनलाई दूषित? भाडाका गुण्डादेखि विदेशी घुसपैठसम्म (विचार)


प्रकाशित मिति : भाद्र २५, २०८२ बिहीबार

नेपाल आज इतिहासकै गम्भीर मोडमा उभिएको छ। विगत तीन दशकदेखि देशलाई जकडेर आएको व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता, नातावाद, कुशासन र बेरोजगारीले राष्ट्रलाई धरासायी बनाइदिएको थियो। लामो समयदेखि जनतालाई गरिँदै आएको उपेक्षाले गर्दा अधिकतम जेन जी पुस्ता पलायन हुन बाध्य छन् र बाँकी रहेका नयाँ पुस्ता, जेन जी, लाई सडकमा उत्रिन बाध्य बनायो।

तर त्यो जनआन्दोलनलाई सम्बोधन गर्नुको साटो सरकारले दमनको बाटो रोज्दा परिस्थिति अझै गम्भीर बन्दै गयो, जसको कारण तीसजना बालबालिकाले ज्यान गुमाउनु पर्‍यो भने चार सयभन्दा बढी घाइते भएका छन्। सरकारी र निजी सम्पत्तिमा अपुर्णीय क्षति पुगेको छ। नेपालका ऐतिहासिक धरोहरहरू समेत ढलेका छन्। देश खरानी भएको छ।

यस संकटको मूल कारण (नेकपा एमाले र कांग्रेस संयुक्त) सरकारको अहंकार र अक्षमता हो। जेन जी आन्दोलनमा भिजिलान्ते पार्टीका लडाकू दस्ता, भाडाका गुण्डा मात्र नभई जेलमा रहेका करिब बीस हजार अपराधी कैदी र विदेशी घुसपैठ समेत समावेश भएको देखिन्छ। यसले निर्मम तरिकाले नेपाली धरोहर मात्र नभई प्रजातन्त्रका आधारस्तम्भ—कार्यपालिका, विधायिका, न्यायपालिका र राष्ट्रपति कार्यालय नै सखाप पारेको छ, जुन पूर्वनियोजित देखिन्छ।

पुराना राजनीतिक दलहरू भूमिगत बन्न बाध्य भएका छन् भने सत्तामा रहेका व्यक्तिहरू सेनाको सुरक्षा घेराभित्र जीवन रक्षाका लागि शरण लिएका छन्। प्रायः सबै भ्रष्ट नेताका घरहरू जलाइएका छन्। यस्तो अवस्थामा नयाँ अन्तरिम सरकार गठनका लागि वार्ता सुरु भए पनि कतिपय शक्तिहरू यसलाई धमिलो पानीमा माछा मार्ने अवसरका रूपमा प्रयोग गर्ने संकेत देखिन्छ। छिमेकी राष्ट्रहरूको गिद्धे दृष्टि पनि यसैबीच स्पष्ट देखिन थालेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब सबै राजनीतिक दलहरूले स्वार्थभन्दा माथि उठेर नयाँ जनादेश लिन तयार हुनुपर्छ। दबाब, हठ र उच्छृंखल गतिविधि बिना सहमतिपूर्ण बाटो रोजिनुपर्छ। संविधानलाई अस्थायी रूपमा निलम्बन गरी चुनावी सरकार गठन गरिनु आवश्यक छ। यस्तो सरकारले नयाँ संविधान निर्माण र निर्वाचनको तयारी एकसाथ अघि बढाउनुपर्छ।

जनचाहना प्रतिबिम्बित हुने खालको संविधान अब अपरिहार्य छ। यसमा संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, हिन्दू अधिराज्य र संवैधानिक राजतन्त्रका विकल्पलाई गम्भीरतापूर्वक समावेश गरेर मात्र स्थायित्व र विश्वास पुनःस्थापना गर्न सकिन्छ।

देश अहिले ध्वस्त अवस्थामा पुगेको छ। पुनर्निर्माणका लागि आन्तरिक स्रोत र साधनको परिचालन, गैरआवासीय नेपालीहरूबाट आन्तरिक ऋण र लगानी, र बाह्य सहयोगलाई स्वच्छ व्यवस्थापन आवश्यक छ। नयाँ सरकार स्वच्छ छवि, अनुभवी नेतृत्व र राष्ट्रहितमा समर्पित व्यक्तित्वहरूको संयोजनमा आधारित हुनुपर्छ।

यो संकट केवल राजनीतिक मात्र नभई सामाजिक र सांस्कृतिक अस्तित्वको संकट पनि हो। जेन जी को आन्दोलनले परिवर्तनको संकेत दिएको छ तर त्यसलाई सकारात्मक दिशामा लैजान सक्षम, पारदर्शी र राष्ट्रप्रेमी नेतृत्व अपरिहार्य छ। अबको बाटो भनेको जनचाहनाअनुरूपको नयाँ संविधान, प्रत्यक्ष जनसहभागिता र दिगो स्थिरता हो। यही बाटोले मात्र नेपालको पुनर्निर्माण र समृद्धिको ढोका खोल्नेछ।

तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com