दशैँको सट्टा घटस्थापनादेखि नवमीसम्म सिकाली जात्रा मनाउँदै खोकनाबासी (फोटो फिचर)

– दिपेन्द्र ढुंगाना

नेपालीको घरघरमा बडा दशैँको रौनक छाएको छ । अधिकांश व्यक्ति र समुदाय टीकाको प्रतीक्षामा छन् तर उपत्यकाभित्रकै एउटा सिङ्गो गाउँमा न जमरा राखिएको छ न त बडादशैँको चर्चा नै ।

ललितपुरको खोकना गाउँका बासिन्दा दशैँ मनाउँदैनन् । बरु उनीहरू घटस्थापनाको दिनदेखि नवमीसम्म ‘सिकाली जात्रा’ मनाउँछन् । मुलुकभरि बडा दशैँको चहलपहल भइरहँदा यस गाउँका बासिन्दा ‘सिकाली जात्रा’ मनाउनमै व्यस्त हुन्छन् ।

 

अहिले खोकनावासीलाई यो जात्रा भ्याइनभ्याइ छ । यो गाउँमा यो वर्ष मात्र जमरा नराखिएको होइन । परम्परागत चलनकै कारण यहाँ दशैँ मनाइँदैन र टीका पनि लगाइँदैन ।

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

तत्कालीन खोकना गाविसका अध्यक्ष मदन डङ्गोलका अनुसार आश्विन शुक्ल प्रतिपदाका दिन यस गाउँमा रहेका तीनवटै गुठी (तः गुठी, जम्मू गुठी र सालाः गुठी)मा एक÷एकवटा राँगाको बलि दिएर यो जात्रा थालनी गरिन्छ । त्यस दिन तीनवटै गुठीका गुठियारहरू सामूहिक भोज खान्छन् ।

उहाँका अनुसार जात्रामा रुद्रायणी, भैरव, बालकुमारी, गणेश, ब्रह्मा, महादेव, कलः ज्व (करुणामय), दन्द्रायणी, बज्रबाराही, महालक्ष्मी, नृत्यवश्वर लगायतका देवीदेवताको पूजा गरिन्छ । जात्रामा स्याल, कुकुरलगायतका जनावरको समेत पूजाआजा गर्ने गरिन्छ ।

नेपाल संवत् ३३६ देखि प्रचलित यो जात्रामा अन्य देवी नृत्यका तुलनामा खोकनावासीले बढी तामधामका साथ मनाइने गरिएको खोकना सामुदायिक अध्ययन केन्द्रका अध्यक्षसमेत रहेका डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौथीको दिन बिहानै यस गाउँका तीनवटा गुठीमा पुनः राँगाको बलि दिइन्छ । त्यही गाउँकै श्रीकाली चौरमा बेलुका सामूहिक भोज खाएर चौथीको दिन यो जात्रा समाप्त गरिन्छ ।

पञ्चमीको दिन गाउँभरिका मन्दिरमा रहेका मूर्तिहरू बाहिर निकाली खटमा राखेर विशेष पूजाआजा गरिन्छ । त्यसै दिन गुठी र अग्रजहरूको पूजा गरी राति ‘खटजात्रा’ गरेर श्रीकाली चौरमा पुगी त्यस दिनको जात्रा सकिने अध्यक्ष डङ्गोलले बताउनुभयो ।

उहाँका अनुसार षष्ठीको दिन रुद्रायणी गुठीको देवी नाच र श्रीकालीको नाच गरी तीनवटै गुठीबाट जात्रा निकालिन्छ । जात्रापछि भोजभतेर गरी गुठीबाट निकालिएका देवीदेवताका मूर्तिहरू गुठीका लागि प्राणप्रतिष्ठा गरिन्छ ।

भोलिपल्ट अर्थात् सप्तमीमा दिनभरि विभिन्न देवीदेवताको नाच गरी बेलुकातिर नाच मन्दिरमा प्रवेश गराई त्यस दिनको जात्रा पनि सकिएको जानकारी गराइन्छ । अष्टमीका दिन गुठीहरूबाट फेरि देवीदेवताका मूर्तिहरू बाहिर निकाली गाउँभर जात्रा गराई राति पुनःस्थापित गरिन्छ ।

नवमीको दिन खोकना गाउँका नेवार समुदायका प्रत्येकको घरमा पूजापाठ गरी सामूहिक भोज खाएर श्रीकाली जात्रा सम्पूर्ण रूपले समापन भएको घोषणा गरिन्छ ।

किंवदन्तीका अनुसार खोकनामा रहेको रुद्रायणीको मूर्ति चोरेर लाने क्रममा एक्कासि भाले बासेछ र चोरले लसुनको बारीमा मूर्ति छोडेर भागेछ । भोलिपल्ट खोकनावासीले रुद्रायणीको मूर्ति खोजेर पुनः प्राणप्रतिष्ठा गरेछन् ।

मूर्ति पुनःस्थापनापछि गाउँमा ठूलो उन्नति भएछ र यो सबै उन्नति प्रगति देवीकै कृपाले भएको हो भन्दै यो जात्रा सुरु गरिएको हो भन्ने स्थानीयवासीको विश्वास छ ।

भालेकै कारण चोर देवीको मूर्ति चोर्न असफल भएको भन्दै रुद्रायणी गुठीका गुठियार अहिले पनि भालेको मासु खाँदैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com