केरुङ जोड्ने राजमार्गको प्रगति : ६ महिनामा ट्रयाक खुल्ने, एक वर्षमा डबल लेनको बाटो

प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

सेनाले निर्माण गरिरहेको रसुवाको मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै जोडिने भएको छ । उत्तर चीन जोड्ने छोटो मार्गका रूपमा विकास हुँदै गएको उक्त मार्ग आगामी साउनभित्रै पूरा गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । ‘मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर मार्गको करिब ५५ प्रतिशत काम पूरा भइसकेको छ,’ नेपाली सेनाका मेजर सञ्जय केसीले भने, ‘०७४ साउनसम्म सडक खुलाउने कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।’

आठ फेजमा काम
हाल नेपाली सेनाले चार ठाउँबाट आठ फेजमा काम गरिरहेको मेजर केसीले बताए । उनका अनुसार स्याफ्रुबेसी जेरो किलोमिटर, त्रिशूली दोभान, सोले र मैलुङबेसीबाट काम भइरहेको छ । नेपाली सेनाले सडक खन्न चारवटा क्याम्प बनाएर काम थालेको छ । गल्छी, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी ८४ किलोमिटरमध्ये नेपाली सेनाले १७ किलोमिटर सडक खन्ने काम पाएको हो ।

०७३ बाट सडक खन्न सुरु गरेको सेनाले हालसम्म ८ किलोमिटर सडक निर्माण पूरा गरेको जनाएको छ । ‘एक लेनको ५ किलोमिटर र दुई लेनको तीन किलोमिटर सडक पूरा भइसकेको छ,’ केसीले भने, ‘निर्माण गर्न बाँकी ९ किलोमिटर सडक एक लेनको खन्ने कार्य भइरहेको छ । आगामी साउनभित्रै नौ किलोमिटर सडक खनेपछि नेपाली सेनाले दुई लेनको बाटो ०७४ को अन्त्यसम्ममा पूरा गर्नेछ ।’

हेलिकोप्टरबाट विस्फोटक पदार्थ र इन्धन
नेपाली सेनाले हेलिकोप्टरबाट विस्फोटक पदार्थ र इन्धन ओसारेर सडक निर्माणको काम गरिरहेको छ । सडक निर्माण अवधिका लागि १६ वटा कम्प्ररेसर मेसिन र चट्टान फोर्न तीसवटा ज्याक हम्मर सञ्चालन गरिरहेको नेपाली सेनाले जनाएको छ । सडक खन्न स्थलमार्गबाट रसुवाको मैलुङ र राम्चेको सीमा क्षेत्रमा २४ टन भार क्षमता बहन गर्ने सक्ने बेलिब्रिज तयार गरिएको छ । सेनाका अनुसार दुई लेनको सडक खन्नका लागि प्रतिकिलोमिटर साढे चार करोड रुपैयाँ लाग्नेछ ।

सडक खन्न चट्टान बन्यो चुनौती
सडक खन्न नेपाली सेनाले सोलेबाट दुई किलोमिटर मैलुङतर्फको चट्टान भूकम्पका कारण चर्किएर बसेका कारण ब्लास्टिङ गरेर खन्न समस्या रहेको सेनाको भनाइ छ । ‘सावधानी अपनाएर हामीले निरन्तर ११ घन्टा काम गरिरहेका छौँ,’ मेजर केसीले भने, ‘चट्टान फोर्न अर्को भित्तामा डोरीमा झुन्डिएर काम गरिरहेका छौँ । माथिबाट ढुंगा खसिरहन्छ, जोखिम मोलेरै भए पनि काम गरिरहेका छौँ ।’

सडक खन्न खटिने सेनाको १० लाख बिमा
सडक खन्न खटिएका नेपाली सेनाका जवान र नागरिकको १० लाख रुपैयाँ दुर्घटना बिमा गरिएको छ । चारवटा क्याम्प बनाएर आठ फेजमा काम भइरहेको सडकमा हाल एक सय ७० जना नेपाली सेना र तीन सय ५० जना सिभिल काममा खटिएका छन् । सडक खन्दा चट्टानमा झुन्डिएर काम गर्नुपर्ने भएकाले भइपरी आउने दुर्घटनालाई लक्षित गर्दै सबैका लागि एकमुष्ट जीवन बिमा गरिएको सैनिक स्रोतले जनाएको छ ।

सडक निर्माणका लागि कति खर्च भयो ?
स्याफ्रुबेसी–मैलुङ सडक खन्न पहिलो चरणअन्र्तगत आर्थिक वर्ष ०७२-७३ मा साढे नौ करोड र आव ०७३-७४ मा ३५ करोड रुपैयाँ विनियोजन भएको छ । दुई लेनको सडक निर्माणका लागि ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा धुन्चेको वारिबाट सडक खन्ने तयारी भए पनि २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कारण त्रिशूली किनाराको बायाँबाट सडक निर्माण कार्य सुरु भएको हो । नेपाली सेना सडक खन्न नयाँ खण्डअन्तर्गत करिब १० किलोमिटर क्षेत्रमा सडक कहाँबाट फ्रेस कटिङ गर्ने भन्ने विषयमा सडक विभागको प्राविधिक कमिटीले रेखांकन नल्याउँदा ढिलाइ भएको थियो । चीनसँगको छोटो दूरी बनाउने उद्देश्यले सरकारले स्याफ्रुबेसी–मैलुङ सडकखण्ड नेपाली सेनालाई जिम्मा दिएपछि ठूलो स्याफ्रुबेसीदेखि मैलुङसम्मको १७ किलोमिटर सडक खन्न सुरु गरिएको हो ।

त्रिदेशीय व्यापारिक मार्ग छोट्याउन द्रुत गतिमा काम
नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक मार्ग छोट्याउन स्याफ्रुबेसी–केरुङ मार्ग छिचोल्ने गरी सेनाले द्रुत गतिमा काम सुुरु गरिरहेको छ । उक्त सडक निर्माणपछि दक्षिण एसियाली देशसँगको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको सडक मार्ग दुई लेनको हुनेछ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुको दूरी ५५ किलोमिटर छ । सडक निर्माण पूरा भएपछि स्याफ्रुबेसीदेखि बेत्रावतीको दूरी ३१ किलोमिटरले जोडिनेछ ।

मैलुङ मार्ग निर्माण भएपछि रसुवागढी–गल्छी–पर्सा–ठोरी मार्ग त्रिदेशीय व्यापारका लागि छोटो दूरी बन्नेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रुबेसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी दुई सय ३० किलोमिटर हुनेछ । चीनको सिगात्से आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा चीनले केरुङ प्रान्तसम्म ल्याउने लक्ष्य राखेको छ ।

केरुङको पुनस्र्थापनासँगै रसुवागढी नाका
रसुवागढी नाका पहिलेदेखि नै नेपाल र चीनको सम्बन्ध राख्ने सेतुका रूपमा रहेको थियो । चीनले केरुङ भन्सार नाका सञ्चालन गरेसँगै नेपालतर्फ आवश्यक एकीकृत भन्सार, सुक्खा बन्दरगाहलगायतको पूर्वाधार निर्माणका लागि चासो देखाएको छ । हाल अस्थायी रूपमा कार्यालयको काम भइरहेको छ । चीनले समृद्ध बन्दरगाह, रेलमार्गको योजना, काठमाडौं हुँदै भारतसम्म पुग्ने छोटो दूरीले केरुङ–रसुवागढीलाई प्रमुख भूव्यापार नाकाका रूपमा विकास गरेको छ ।

चीन र नेपालको व्यापारका लागि करिब आधा दर्जन नाका खुलेका छन् । तर पनि चीनबाट भारतलगायत अन्य सार्क मुलुकका लागि भने यो सबैभन्दा छोटो दूरीको नाका हो । यो नाकाबाट भावी दिनमा नेपाल हुँदै भारतीय क्षेत्रमा समेत व्यापार गर्न सहज हुने चीनको विश्वास छ । रसुवागढीबाट वीरगन्ज, भैरहवालगायतको दूरी नजिक पर्ने भएकाले यसलाई चीनले महत्वका साथ हेरेको छ ।

सडक जोडिएपछि चीनसँगको दूरी छोटो
मैलुङ–स्याफ्रुबेसी मार्ग जोडिएपछि चीनको केरुङदेखि काठमाडौंसम्मको दूरी छोटो हुनेछ । चीनको केरुङदेखि धादिङको गल्छीसम्मको सडक दूरी ८४ किलोमिटर मात्रै हुनेछ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ । यसरी काठमाडाैँबाट चीनको केरुङ ३ घन्टा ३० मिनेटमा पुग्न सकिनेछ ।

गत वर्ष औपचारिक रूपमा नाका सञ्चालन आएपछि केरुङ–रसुवागढीबाट नेपाल हुँदै दक्षिण एसिया छिर्ने भूव्यापारिक योजनामा चीन अघि बढेको छ । ५५ वर्षअघि नै निर्माण गरिएको तिब्बतको केरुङ सुक्खा बन्दरगाहको पुनरुत्थानसँगै गत १५ मंसिरपछि रसुवागढी अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चालनमा आएको थियो । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग सन् २०२० भित्र रसुवागढीबाट ३५ किलोमिटरनजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।

रसुवागढीलाई चीन र नेपालबीच प्रमुख ‘ल्यान्ड प्यासेज’का रूपमा महत्व दिएको चीनको बुझाइ छ । तिब्बतबाट नेपाललाई ‘ट्रान्जिट’ बनाएर भारतको व्यापक बजारमा पस्ने ‘हिमाली सिल्करोड’ योजनासहित ५५ वर्षपछि चीन केरुङ फर्केको हो । चीनले दक्षिण सिल्करोड अवधारणासमेत अगाडि ल्याएको छ, जुन सिचुआनको छेङ्दुबाट युनानको कुनमिङ हुँदै म्यानमार, बंगलादेश, भारत, पाकिस्तान भएर अफगानिस्तानसम्म पुग्छ  । निराजन पौडेल/नयाँ पत्रिका,

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com