मुस्ताङमा सोनाम लामाका तीन प्रोजेक्ट, गफ र हल्ला होइन काममा व्यस्त (स्थलगत रिपोर्ट)


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

– किशोर पन्थी/मुस्ताङ (साथमा फोटोग्राफर दिपेन्द्र ढुंगाना )

अमेरिकाको न्युयोर्क निवासी व्यवसायी तथा एनआरएन अभियन्ता सोनाम लामा धेरै बोल्दैनन् तर मुस्ताङमा उनका बहुआयामिक महत्वका तीनवटा प्रोजेक्टले लाखौं शब्दहरु एकैपटक बोलेका छन् । एनआरएनएले पर्यटन प्रवद्र्धनदेखि लगानीसम्मका एजेण्डालाई प्राथमिकता दिइरहेको सन्दर्भमा यही काम सोनाम लामाले व्यवहारिक रुपमा मुस्ताङबाट सुरु गरेका छन् ।

५ करोडको लागतमा बुद्धमूर्ति

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मुक्तिनाथ मन्दिर नजिकै झण्डै ५ करोडको व्यक्तिगत लगानीमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरेका लामाले आफ्नो परिवारका तर्फबाट बुद्धमुर्तिसँगै पाँचवटा स्तुपाहरु पनि निर्माण गरेका छन् । पाँचवटा स्तुपाहरुमा बुद्धका पाँचवटा स्वरुपहरु रहेका छन् ।

मुक्तिनाथमा हिन्दुमन्दिरको नजिकै स्थापित बुद्धमूर्ति नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुंगाको बुद्धमूर्ति हो । १२ हजार ६ सय फिटको उचाईमा स्थापित मूर्तिको तौल झण्डै ६० हजार किलो रहेको छ ।मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो । चर्चित नेपाली मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यको सहडिजाइनमा बुद्धमूर्ति निर्माणका लागि २० जना भन्दा धेरै कालिगढहरु संलग्न रहेका थिए । डिजाइनर शाक्यबन्धु दुबैजना मूर्तिकलामा स्नातकोत्तर हुन् ।

मुक्तिनाथमा निर्माण गरिएको बुद्धमूर्ति र उक्त स्थलबाट देखिने धौलागिरी हिमालको दृश्य ।

फर्पिङबाट ल्याइएको विशेषप्रकारको ढुंगाबाट मूर्ति बनाइएको हो, जसको आयु हजारौं बर्ष रहेको छ । बुद्धमूर्तिमा टाउकोमात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ । मुक्तिनाथमा स्थापना गरिएको बुद्धमूर्ति शाक्यमुनी बुद्धको मूर्ति हो । नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको मूर्ति नै मुक्तिनाथमा स्थापना गरिएको हो । मूर्तिमा बुद्ध भूमीस्पर्स मुद्रामा रहेका छन् ।

सोनाम लामा भन्छन् —‘शाक्यमुनी बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । तिनै बुद्धको मूर्ति मुक्तिनाथमा स्थापना गरेर हामीले नेपालको अग्लो स्थानबाट बुद्ध नेपालमा जन्मेको सन्देश विश्वभर फैलाउन चाहेका हौं ।’

मुक्तिनाथमा बुद्धमूर्ति स्थापनाको प्रमुख उद्देश्य पर्यटन प्रवद्र्धन गर्नु रहेको बताउँछन् सोनाम लामा । हिन्दुहरुको पवित्र धर्मस्थल मुक्तिनाथमा वर्षेनी हजारौं हिन्दु तिर्थयात्रीहरु आउने गर्छन् । तर यो क्षेत्र बौद्धधर्मालम्बीहरुको बाहुल्य रहेको क्षेत्र हो । हिन्दुहरुको पवित्र धर्मस्थल मुक्तिनाथलाई बौद्धधर्मालम्बीहरुले नै संरक्षण गर्दै आएका छन् । यस क्षेत्रमा अहिलेसम्म धार्मिक पर्यटनस्थलका रुपमा हिन्दु धर्मालम्बी पर्यटकहरु बढीमात्रामा आउने गरेपनि बुद्धमूर्तिको स्थापनापछि बौद्ध धर्मालम्बी पर्यटकहरु पनि यस क्षेत्रमा धार्मिक पर्यटनस्थलको रुपमा आउन थालेका छन् ।

बुद्धमूर्तिस्थल आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक स्थल बनेको छ । बुद्धमूर्ति अगाडि तस्वीर खिच्दै ।

सोनाम लामा भन्छन् —‘हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने गर्छन् । त्यसैगरी बौद्धधर्मालम्बीहरु लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउन थालेका छन् । यसबाट धार्मिक पर्यटकहरुमात्र होइन, घुमफिर गर्नमात्र आउने पर्यटकको संख्या समेत बढेको छ ।’

मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङ जिल्लामा धार्मिक पर्यटनका हिसाबलेमात्र नभई ठूलो संख्यामा बाह्य र आन्तरिक पर्यटकहरु घुमफिर र टे्रकिङका लागि समेत आउने गर्दछन् । मुक्तिनाथ मन्दिर दर्शनका लागि पुगेकाहरु बुद्धमूर्तिस्थलमा पुगेर दर्शन गर्ने र तस्वीर खिचाउने गर्छन् । यो बुद्धमूर्ति आन्तरिक र बाह्य पर्यटकका लागि विशेष आकर्षणको केन्द्र बनेको छ ।

बुद्धमूर्ति अगाडि सोनाम लामाको आफ्नै पोज

मूर्ति स्थापनास्थल आफैमा एउटा भ्यूप्वाइन्टका रुपमा रहेको छ । जताबाट पनि मुक्तिनाथ क्षेत्रमा आउँदै गर्दा यो मूर्ति देख्न सकिन्छ भने मूर्ति भएको स्थलबाट मुस्ताङको सौन्दर्य अवलोकन गर्न सकिनेछ । धौलागिरी र निलगिरी लगायतका हिमालका साथै कोरला जाने बाटो र उपल्लो मुस्तांग जाने बाटोको दृश्य पनि यहाँबाट देख्न सकिन्छ । साथै मुस्ताङका आधादर्जन पूरातात्विक गाँउहरु पनि यहाँबाट देख्न सकिन्छ । मुक्तिनाथ विकाश समितिको झण्डै दुई रोपनी जग्गामा बुद्धमूर्ति स्थापना गरिएको छ ।

 

लो मुस्ताङ हिमालयन रिसोर्ट

पर्यटकहरुलाई भ्रमणका लागि आग्रह गरेर वा प्रचारप्रसार गरेरमात्र हुँदैन, त्यसका लागि आवश्यक पूर्वाधार र सुविधाको समेत आवश्यकता हुन्छ । सोनाम लामाको लगानीमा मुक्तिनाथको रानीपौवामा हेलिप्याडसहित आकर्षक रिसोर्ट निर्माणको काम भइरहेको छ । लो मुस्ताङ हिमालयन रिसोर्टको संचालन आगामी केहीमहिनामा नै हुने सोनाम लामाले जानकारी दिएका छन् ।

विदेशमा बस्ने नेपालीहरुको लगानी भित्राउने सन्दर्भमा ठूलाठूला घोषणा, बहस र सेमिनारहरु भइरहदा सोनाम लामाले भने धेरै हल्ला नगरेरै करोडौंको लागतमा रिसोर्ट निर्माणको काम लगभग पूरा गरिसकेका छन् । यसबाट मुक्तिनाथ क्षेत्र घुम्न जानेहरुलाई सहज हुनेमात्र नभई कैयनलाई रोजगारी मिल्ने र नेपालको अर्थतन्त्रमा समेत योगदान पुग्ने सोनाम लामाको विश्वास रहेको छ ।

लो मुस्ताङ हिमालयन रिसोर्ट र त्यहाँबाट देखिने दृश्य ।

विदेशमा बस्ने नेपालीहरुले लगानीको हल्लामात्र गर्ने तर काम नगर्ने भन्दै आलोचना हुने गरेको सन्दर्भमा मुस्ताङको मुक्तिनाथमा सोनाम लामाले गरेको लगानीले काम गर्नेहरुलाई हल्ला बढी आवश्यक नहुने कुराको पुष्टी गरेको छ । नेपालमा लगानी गर्न चाहने विदेशमा रहेका नेपालीहरुलाई पनि लामाको प्रयासले उत्प्रेरित गरेको छ ।

निर्माण सम्पन्न हुँदै गरेको लो मुस्ताङ हिमालयन रिसोर्टबाट मुक्तिनाथ मन्दिर र थोराङला पासको आकर्षक दृश्यमात्र होइन, निलगिरी र धौलागिरीको दृश्य पनि देख्न सकिन्छ । आकर्षक शैलीमा निर्माण भएको यो रिसोर्टले पर्यटकको समेत ध्यान खिच्न थालिसकेको छ । रिसोर्टसँग माउन्टेन क्लाइम्बिङ समेत राख्ने लामाको योजना रहेको छ ।

६ सय रोपनी जग्गामा स्याउ खेती

अमेरिकामा अर्गानिक सुपरमार्केट संचालन गरिरहेका सोनाम लामाले मुस्ताङको जोमसोममा लामो समयदेखि स्याउ फार्महरु संचालन गर्दै आएका छन् । जापानी र अमेरिकी स्याउका समेत बेर्ना लगाएर स्याउ फार्म संचालन गरिरहेका लामाले बर्षेनी लाखौं रुपैयाको स्याउ उत्पादन गर्दै आएका छन् ।

त्यो बाहेक जोमसोमको कालिगण्डकीको किनारमा झण्डै ६ सय रोपनी जग्गामा नयाँ स्याउ फार्म संचालनको तयारी गरेका छन् । जोमसोमको कालिगण्डकी क्षेत्रमा व्यक्तिगत रुपमा संचालित यो सम्भवत सबैभन्दा ठूलो स्याउ फार्म हुनेछ । स्याउ फार्मसँगै माछापालन र तरकारी उत्पादनका लागि ग्रिनहाउससमेत संचालनको योजना रहेको छ लामाको ।

जोमसोम, ठिनी र ढुम्बा गरी तीनगाउँको क्षेत्र पर्ने ताउथाङमा स्याउ फार्म संचालनका लागि काम अगाडि बढिसकेको छ भने २ बर्षमा ७ हजार स्याउका बेर्ना लगाउने योजना रहेको छ । रेड डेलिसियस, फुजी, गोल्डेन, गाला, ग्रिन र पिंक लेडी जस्ता विश्वचर्चित स्याउहरु उक्त फार्ममा लगाइनेछ ।

स्याउ टिप्दै सोनाम लामा

यो स्याउफार्म स्याङ गाउँको अगाडि रहेको छ भने ढुम्बा तालको तलपट्टी रहेको छ । निलगिरीको हावाले स्पर्स गर्ने कालिगण्डकीको किनारामा रहेको यो स्याउफार्म आफैमा एउटा सानो उपत्यका जस्तो देखिन्छ । पूराना फार्महरुमा मुस्ताङमै फल्ने स्थानीय स्याउ रहेपनि लामाले आधुनिक तरिकाले अर्गानिक स्याउ उत्पादनको तयारी गरेका हुन् ।

झण्डै ६ सय रोपनी जग्गामा संचालनको तयारीमा रहेको स्याउ फार्म ।

स्थानीय उत्पादन र कृषिको प्रवद्र्धनका लागि आफूले स्याउ फार्ममा लगानी गरेको लामा बताउँछन् । अहिले बजारमा विदेशी स्याउ ठूलो हिस्सामा भित्रिरहेको सन्दर्भमा उत्पादन बढाउन सकेमा र स्याउ उत्पादन हुनसक्ने सरकारी खाली जग्गाका समेत व्यवस्थापन गर्नसकेमा नेपालमा स्याउमा आत्मनिर्भर हुनेमात्र होइन, निर्यात गरेर नेपालले ठूलो रकम भित्राउनसक्ने बताउँछन् सोनाम लामा ।

मुक्तिनाथदेखि एनआरएनसम्म

सोनाम लामा सन् १९६१ मा मुक्तिनाथको पुराङमा जन्मिएका हुन् । १६ बर्षसम्म गाउँमा बिताएका उनी झण्डै २४ बर्षदेखि अमेरिकामा रहँदै आएका छन् । लामा झण्डै एकदशकभन्दा लामोसमयदेखि एनआरएनए अभियानमा सकृय छन् । सन् २००९ देखि लगातार ४ बर्ष एनआरएनए आईसीसी सदस्य रहनुभएका सोनाम लामाको पहलमा एनआरएनए अमेरिका बन्द कोठाबाट आम जनतामाझ आउन सफल भएको थियो । लामा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी रहेकै बखत एनआरएनए अमेरिकाको पहिलोपटक आमरुपमा सदस्यता वितरण र निर्वाचन सम्पन्न गरेको थियो ।

सन् २०१५ मा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित लामाले नेपालमा आएको विनाशकारी भूकम्पमा प्रत्यक्ष फिल्डमा खटिएर राहत वितरण लगायतका काममा नेतृत्वदायी भूमिका खेलेका थिए । त्यस्तै नेपालमा बाढीपहिरो लगायतका प्रकोप आउँदा पनि उहाँ अमेरिकाबाट नेपाल आएर राहतको कार्यमा खटिदै आएका छन् ।

महाभूकम्पको बेला राहत र उद्दारको कार्यमा खटिदै ।

एनआरएनएमा नागरिकताको निरन्तरताको मुद्दालाई लगातार उठाइरहनुभएका लामाले एनआरएनए नागरिकताको विषय सविधानमा लेखिएपनि ऐन बन्न र कार्यान्वयन हुन बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन् । कार्यान्वयनका सन्दर्भमा जटिलता आउनसक्ने भएकाले त्यसलाई सहज बनाउन आफू लागिपर्ने उनको भनाई छ ।

उनको नेतृत्वमा भएको न्युजर्सी सम्मेलनबाट पारित भिजन २०२० एण्ड वियोण्डको कार्यान्वयनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पनि लामाको भनाई छ । एनआरएनए नागरिकतापछि अब विदेशमा रहेका नेपालीहरुले नेपालको पर्यटन, अर्थतन्त्र र समग्र विकाशमा दिनसकिने योगदानबारे एनआरएनए केन्द्रीत हुनुपर्ने उनको धारणा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com