एमालेकै समर्थनमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ : बलदेव


प्रकाशित मिति : फाल्गुन १४, २०७३ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,‘संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुन्छ, कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा हामीले छलफल गरिरहेका छौं, गोप्य रुपमा मतदान गर्दाखेरि दुई तिहाई पुग्ने आधार सरकारसँग छ, तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं।’ उनले संशोधन प्रस्ताव भारी मतले पारित हुने समेत दाबी गरे। खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत खुलासा गरे।

उनले भने,‘परिस्थिति आयो भने वामपन्थी गठबन्धन बनाउनपनि सकिन्छ, संविधान संशोधन प्रस्ताव पारित गराउनकै लागि सरकारले जस्तोसुकै रणनीति बनाउन सक्छ, एमालेसँग यसबारेमा कुराकानी सकारात्मक भैरहेको छ।’

उनले काँग्रेससँग अहिले नै गठबन्धन तोडिहाल्ने पक्षमा आफ्नो पार्टी नहरेको जिकिर गर्दै भने,‘स्थानीय तहको निर्वाचन भएपछि नेतृत्व हस्तान्तरण हुन्छ, हामी सहमतिकै साथ अगाडि बढ्छौं, अब स्थानीय तहको निर्वाचन कसैले भाँड्न सक्दैन, बैशाख ३१ गते नै चुनाव हुन्छ, सरकार जस्तोसुकै चूनौतिको सामाना गरेर चुनाव गराउन प्रतिबद्ध छ, मधेशी मोर्चाले चाहेरपनि चुनाव विथोल्न सक्दैन्, स्थानीय तहको निर्वाचन भएपछि अरु निकायको चुनावपनि हुन्छ।’

देश चुनावतिर अघि बढेकोले चुनाव गर्नबाट कसैलेपनि रोक्न नसक्ने बताउँदै खनालले भने,‘कुनैपनि बहानामा चुनाव स्थगित् गर्नुहुँदैन्, ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्छ, अनिमात्रै संविधान कार्यान्वयन हुन्छ।’

त्यस्तै उनले ५ नम्बर प्रदेशका जनतालाई चित्त बुझाउनको लागि उक्त प्रदेशलाई अहिले नै सुगम प्रदेश बनाउनेगरि केही सुविधा अहिले नै दिनेगरि तयारी भैरहेको समेत स्पष्ट पारे।  त्यस्तै उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने सरकारले तयारी गरिरहेकोले मोर्चापनि चुनावमा भाग लिनेमा आफूहरु पूर्ण विश्वस्त रहेको स्पष्ट पारे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com