महाशिवरात्रीको महारौनक


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

शब्द / तस्विर : जीतेन्द्र जीसी

हिन्दुहरुको महान पर्व महाशिवरात्रीमा पशुपतिनाथमा विशेष चहलपहल रह्यो । प्रचलित हिन्दु मान्यता अनुशार यो पर्वमा महिलाहरुले भगवान शिबको पुजा आराधाना गरेमा छिट्टै फल मिल्ने विश्वास रही आएको छ ।

फाल्गुण कृष्ण चतुर्दशीको दिन मनाईने यो पर्व सृष्टिको प्रारम्भको मध्य राती भगवान शङ्कर ब्रम्हाबाट रुद्र रुपमा अबतरण लिएको भनाइ छ । कतै कतै यो दिन भगवान शिबजीको विवाह सम्पन्न भएको भनाई पनि छ ।

आजकै दिन भगवानले कालकुट नामक बिष आफ्नो कण्ठमा लिएको र समुद्र मन्थन पछि बाहिर आएको भन्ने धार्मिक भनाईहरु पनि छन् । महाशिवरात्रीमा नेपाल तथा भारतका विभिन्न कुटी तथा मन्दिरहरुबाट आएका जोगीहरु पशुपती क्षेत्र ढाके । गाँजा तान्ने र नांगा बाबाहरु अरु भक्तहरुको पनि लायक बने ।

हिन्दुहरुको यति महत्वको धार्मिक तथा आस्थाको केन्द्र जहाँ मृत शरिर जलाउदा पनि मोक्ष पाइन्छ भन्ने मान्यता सनातन हिन्दु धर्माबलम्बीबीच छ । पशुपतिमा हरेक दिन दर्जनौ लाश जलाईन्छन् तर यती पवित्र स्थानमा बगी रहेको दुषित पानी र मन्दिर को अव्यवस्थाले भने खल्लो बनाउने गर्छ । बर्षेनी करोडौ भेटी, दान जम्मा हुने स्थानको दुर्दशा भने कारुणिक छ ।

नेपाल सरकारका पूर्व मूख्य सचिब लीला मणी पौडेलले बागमती सफाइ अभियान चलाउदा एउटा कुन्टोमा पानी जम्मा गरेर नुहाएको पपुलिस्ट समाचार बने पनि बागमतीको धमिलो र दुषित पानीले सम्पुर्ण हिन्दुहरुको आस्थामा नाक खुम्च्याइ दिएको छ ।

नेपाल सरकारले छुट्टै पशुपती विकास कोष गठन गरे पनि यस्ले हिन्दु आस्थालाई उचो राख्ने भन्दा नियुक्ती पाउने र कमाउने धन्दा बाहेक केही गर्न सकेन । हिन्दुहरुको आस्थाको केन्द्रलाई पर्यटकिय केन्द्र बनाउन सके यस्को महत्व निक्कै बढ्ने देखिन्छ । त्यती सकिएन भने पनि मन्दिर परिसरसम्म बग्ने पानी मात्रै स्वच्छ बनाउन सके पनि ठूलो उपलब्धी हुने थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com