अध्ययनकै लागि भनेर ९ वर्षमा ३ लाख विद्यार्थी विदेश उडे !


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ ।

२०६७/६८ मा ११ हजार ९ सय ८२ जना र २०६८/६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन् । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने प्रावधान छ ।

यस्तै, २०६९/७० मा १६ हजार ५ सय ४, २०७०/७१ मा २८ हजार १ सय २६ र २०७१/७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए ।
तर, सरकारले ती विद्यार्थीको अवस्थाबारे तथ्यांक राख्न सकेको छैन । जसकारण, विदेशमा नेपाली विद्यार्थीको अवस्थाबारे सरकारलाई जानकारी छैन ।

दैनिक १६४ जना विद्यार्थी पलायनत्र सरकार भन्छ : जनशक्ति प्रक्षेपण प्रतिवेदनले समस्याको हल निस्कन्छ

यसैगरी, २०७२/७३ मा ३२ हजार ४ सय ८९, २०७३/७४ मा ५० हजार ६ सय ५९ जना, २०७४/७५ मा ५८ हजार ७ सय ५८ र २०७५/७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थी बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अध्ययनका लागि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका ६० वटा देशमा जाने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार ३ लाख ६१ हजार ४ सय ५५ जना विद्यार्थीले नेपालमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com