लहलहैमा विवाह, अनि पछुतो


प्रकाशित मिति : २६ भदौ २०७६, बिहिबार

विमलबहादुर विष्ट/  दीपायल सिलगढी नगरपालिका वडा नं ८ का माया विष्टको कक्षा ८ मा पढ्दापढ्दै फेसबुकमा एक युवकसँग चिनजान भयो । सत्र वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाहसमेत भयो । अहिले उनी २० वर्षकी भइन् । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । अचेल दुई सन्तान पाल्न आफूलाई धौ धौ परेको उनी बताउँछिन् ।

उनले भनिन् – “फेसबुकले गर्दा लभ प¥यो । बिहे गरें । अहिले समस्या भयो । कसलाई पीडा सुनाउँ रु सहेर बसेकी छु ।” आफूले सानै उमेरमा गरेका बिहेप्रति अहिले निकै पछुतो छ उनलाई । आँशु पुछ्दै उनले भनिन् – “लहलहैमा लागेर सानै उमेरमा बिहे गरियो । त्यसको परिणाम भोग्दैछु ।”

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिका वडा नं ४ मान्नाकापडीका १७ वर्षीय दीपक बोहरा र छिमेकी गाउँकी १४ वर्षीया शर्मिलाबीच पनि फेसबुककै कारण विवाह भयो । बिहे गरेको दुई वर्षमै छोरी जन्मिन् । आफूहरुबीच सधैं भैmझगडा र कलह मात्रै हुने गरेको शर्मिला बताउँछिन् । उनी भन्छिन् – “बुद्धि नपुगेर सानैमा विवाह गरें । अहिले झगडा मात्रै हुन्छ । कसरी जीवन धान्ने होला रु चिन्तामा छु ।”
दीपायल सिलगढी नगरपालिका–८ लडागडाकी चनरी नेपाली पनि बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुगेकी छन् । आमाबुबाले नै बालविवाह गरिदिएको उनको आरोप छ ।

आफूले आमाबुबाकै ढिपीमा समय नपुग्दै विवाह गरेका कारण हाँस्ने खेल्ने उमेरमा परिवार र सन्तानको स्याहारमा बिताउनु परेको र आत्मग्लानी हुने गरेको उनी बताउँछिन् । “आमाबुबाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन,” उनले भनिन् – “बाल्याकाल कसरी ढल्क्यो थाहै भएन । सानैदेखि पढ्ने रहर हुँदाहुँदै घरकाले विवाह गरिदिए । अहिले पछुताउनु बाहेक अरू विकल्प छैन ।”

पारिवारिक दवाव, साथीसङ्गीको लहलहै, अभिभावकको हेरचाह तथा पालनपोषणमा उदासीनता, राम्रो घरपरिवारबाट भन्दै सानैमा बिहे गराइदिने चलन, मोबाइल र इन्टरनेटको बढ्दो प्रयोगका कारण डोटी जिल्लामा उमेर नपुग्दै धेरै किशोरकिशोरीको विवाह हुने गरेको सरोकारवालाहरु बताउँछन् । दीपायल सिलगढी नगरपालिका वडा न ८ ९साबिकको लडागडा गाविस० मा मात्रै विगत तीन वर्षमा १६३ वटा बालविवाह भएको देखिएको छ । साबिकको क्षेत्रीय सदरमुकाम दीपायल राजपुर नजीकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमशः उकालो लागिरहेको छ ।

सामुदायिक विकास केन्द्र (सिडिसी) को सहयोगमा यहाँका जनप्रतिनिधिहरुले गरेको सर्वेअनुसार विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ जनाको बालविवाह भएको पाइयो । सर्वेमा संलग्न सामुदायिक विकास केन्द्रका परियोजना जिल्ला संयोजक एकराज बडुका अनुसार बालविवाहको दर घट्नुको सट्टा बढिरहेको छ । उनले भने – “तथ्याङ्क हेर्दा बालविवाह घट्नुको सट्टा बढिरहेको पाइयो । बालविवाह गर्नु अपराध हो भन्ने जान्दा जान्दै पनि मानिस यसो गरिरहेका छन् । किन गरे होलान बुझनै सकिनँ ।”

जिल्लामा हुने अधिकाँश बालविवाह पुण्य कमाउने नाममा हुने गरेको जोरायल गाउँपालिका वडा नं ५ की स्थानीयवासी तुलसी शाहीले बताइन् । महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले यहाँका मानिसहरु सानैमा छोरीको विवाह गरिदिने गर्छन् र यसले कालान्तरमा छोरीलाई समस्या हुने गर्छ ।”

जिल्लामा २०७३ वैशाखदेखि २०७५ चैत्रसम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको विभिन्न सङ्घसंस्थाको अभिलेखबाट देखिएको छ । अधिकाँश बालबालिका १४ देखि १९ वर्षभित्रका बालबालिका छन् । गरीब, विपन्न र शिक्षाबाट वञ्चित परिवारमा बालविवाह बढ्दै गएको यहाँका स्थानियवासी बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रजनन् अङ्गहरूको पूर्ण विकास नहुँदै विवाह गरिदिँदा महिलामा समस्या देखापर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाका प्रबन्धक चेतराज फुलाराले बताए । उनले भने – “सानैमा बिहे गरेका दम्पतीको समय नपुग्दै बच्चा जन्मिने, कम तौलको हुने, प्रजनन् अङ्गमा समस्या हुने हुन्छ । पछि परिवारको व्यवस्थापन गर्न नसक्दा उनीहरु पछुताउँछन् ।”

‘बालविवाह अन्त्यका लागि म पनि प्रतिवद्ध छु’ भन्दै दीपायल सिलगढी नगरपालिकाले अभियान सञ्चालन गरे पनि त्यो फलदायी हुन सकेको छैन । नगरपालिकाका नगर उप–प्रमुख शिवराज खड्काले बालविवाह जस्ता सामाजिक कुरीति अन्त्य गर्न नगरपालिकाले कुनै पनि कसूर बाँकी नराख्ने दाबी गरे ।

डोटी जिल्लामा बालविवाह, छाउपडी, बहुविवाह जस्ता कुरीतिहरुले वर्षौदेखि जरो गाडेर बसेको छ । जिल्लामा हुने यस्ता कुरीतिका विरुद्धमा अभिभावक र बाल क्लब नै सक्रिय हुनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको धारणा छ । उनले भने – “बालविवाह, छाउपडी जस्ता कुप्रथा हटाउन नागरिक समाज र अभिभावक सक्रिय नभएसम्म अन्त्य हुने छाँट देखिँदैन ।”

दीपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख घनश्याम पाठक बालविवाह गरिदिने अभिभावकहरुलाई नै कानूनको कठघरामा नउभ्याएसम्म यहाँ बालविवाह अन्त्य नहुने विचार राख्छन् ।  कानूनमा विवाह गर्ने उमेर २० तोकिए पनि यसको खासै पालना गरिएको पाइँदैन । सामुदायिक विकास केन्द्र डोटीले बालविवाह गरेका दम्पतीहरूलाई आत्मनिर्भर बनाउन तथा सम्भावित बालविवाहलाई निरुत्साहित गर्न नगरपालिकासँगको सहकार्यमा विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्दैआएको छ ।

उमेर नपुग्दै बिहे गर्दा पाठेघर खस्ने, विभिन्न रोगहरूबाट सङ्क्रमण हुने, शरीर कमजोर हुने गरेको जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थीले बताए । दीपायल सिलगढी नगरपालिकाको वडा नं ९ मा १०० बालबालिकामा गरिएको अर्को एक सर्वेक्षणमा २० प्रतिशत दम्पतीका ७ वटा सन्तान रहेको भेटिएको छ । त्यस्तै, ५० प्रतिशत दम्पतीको ४ देखि ६ र ३० प्रतिशतको ३ जनासम्म सन्तान रहेको भेटिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com