अमेरिकाको पाईलट ट्रेनिङ छोडेर राप्रपाको राजनीतिमा लागेका खेलाडी


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

-सन्जोग आचार्य

न्युयोर्क । अमेरिका सपनाको देश हो । विश्वको सक्तिशाली देश अमेरिका आउने सपना हरेक युवाले देख्ने गर्दछन् । हो, त्यस्तै सपना देख्ने मध्यका एक युवा थिए, सुटिङ खेलका राष्ट्रिय ,अन्तराष्टिय खेलाडी किशोरबहादुर कार्की ।

करिब दुई दशक अगाडि नै कार्की अमेरिका आएका थिए । एउटा अबिवाहित ठिटो । भरभराउदो उमेर । त्यसमाथि अमेरिकामा पाईलटको ट्रेनिङ । परिवार र समाजमा त उनको छुट्टै पहिचान बनिसकेका थियो । कार्की अमेरिका त आए, तर धेरै समय टिक्न सकेनन् ।

सर्लाही हरिवनको सुखीपोखरीमा जन्मीएका कार्की २७ बर्षको उमेरमानै अमेरिका आएका थिए । त्यस समय उनको बिवाह पनि भएको थिएन । अमेरिकाको फ्लोरिडा राज्यमा पाईलट ट्रेनिङ गर्न आएका कार्कीलाई बिवाहको प्रस्ताव पनि नआएको हैन । तर, केही समयको पाइलको ट्रेनिङ सकेर फेरी कार्की नेपालनै फर्किने निधो गरे । ‘तीन दशक अगाडि अमेरिकाको महत्व बेग्लै थियो, त्यस समय पनि म अमेरिकामा बस्न सकिन’ कार्की भन्छन् – “मैले आफ्नो अस्तित्व, पहिचान र स्वाभिमान गुमाउन चाहिन । ”

अमेरिकाबाट फर्किएपछि धेरैले कार्कीको हासो पनि उडाए । कतिकोे प्रश्नको पात्र समेत बनेका कार्की त्यसछि नेपालमा नै आफ्नो पहिचानको खोजी गर्न लागे । कार्कीले नेपालमा छुट्टै पहिचान बनाउन कराते र सुटिङ खेललाई रोजे ।

वि.स २०४० सालमा करातेबाट शुरुवात गरेका किशोरबहादुर कार्कीलाई नेपालमा ओझेलमा पर्न लागिरहेको सुटिङ खेलले आकर्षित गर्यो । सुटिङ खेलका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी भएका कार्की वि.स २०५८ सालमा सुटिङ संघको अध्यक्षसम्म भए ।

सुटिङको अध्यक्ष हुदा कार्कीले गरेको कामको अझ पनि चर्चा हुने गर्दछ । त्यस समयमा सिथिल भएको सुटिङ खेललाई माथि उठाउन सामाग्री जुटाउने देखि लिएर कार्यलय स्थापना गर्ने कामसम्म कार्की सक्रिय भए । ओझेलमा परेको नेपालको सुटिङ खेललाई ‘ग्रास रुट’ देखि माथि उठाउन कार्कीले अन्तर स्कुल प्रतियोगिता समेत गराए । त्यतिमात्र नभएर सुटिङलाई ओलम्पिकसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जाकार्तामा भएको आठौ एशियन सुटिङमा कार्कीले राखेको प्याइन्ट टुटु राइफलको राष्ट्रिय रेकर्ड अझ पनि कसैले तोड्न सकेको छैन ।

अमेरिकाबाट फर्किएर खेलकुदमा सक्रिय भएका कार्की राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिव सम्म भए । वि.स २०५९ सालमा उनले ७५ जिल्लाका खेलकुद परिषद्भित्र धुम्रपान निषेध गरेर चर्चा कमाए । त्यतिमात्र हैन, परिषद्मा विगत १० बर्ष देखि करारमा कार्यरत करिब तीन सय ८७ कर्मचारीलाई जनालाई स्थायी गरेर कर्मचारीहरुको पनि मन जिते । राष्ट्रिय खेलकुद परिषद्मा अझ पनि कार्कीको कामको चर्चा हुने गर्दछ ।

अमेरिका, अष्टे«लिया, जापान, सिंगापुर, युरोपलगायत २० भन्दा बढी देशको भ्रमण गरिसकेका कार्कीलाई पछि राजनीतिमा लागेर देशको सेवा गर्ने मन पलायो । विदेशबाट फर्किएपछि देशका लागि नै केही गर्नुपर्छ भन्ने सोच बनाइरहेका कार्की पूर्व प्रधानमन्त्री स्व. सुर्यबहादुर थापाको विचार र पार्टीगत धारणाले आकर्षित भए ।

शुरुवातमा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाबाट प्रभावित भएर लागेका कार्कीे थापासंग निकटस्त भएर काम गरे । पछि थापाकै क्षेत्र सर्लाहीबाट कार्की दुई पटक संविधानसभाको निर्वाचनमा पनि उठे । नेपाल पारवाहन तथा गोदाम ब्यबस्थापनका अध्यक्ष समेत रहिसकेका कार्की राप्रकाका निर्वाचित केन्दीय सदस्य पनि हुन् । कार्की राष्टिय प्रजातान्त्रिक युवा संगठनका र प्रदेश न. दुईका संयोजक पनि हुन् ।

अहिले राष्ट्रलाई माया गर्ने एउटा कुशल नेतृत्वको खाचो रहेको बताउदैँ कार्की विदेशमा रहेका युवाहरुलाई पनि देशमा नै आफूसंग भएको क्षमता प्रस्तुत गर्ने केही गर्न सुझाव दिन्छन् । “म अमेरिका बसेर पाईलट नै भएको भए पनि यो स्थानसम्म आउदैन थिए होला, अहिले म खुसी छु,” कार्की भन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com