काठमाडौँमा दैनिक दुई करोडको मःम बिक्छ


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

ठेलादेखि पाँचतारेसम्म, सर्वसाधारणदेखि भिआइपीसम्म । सहरी क्षेत्रमा खाजाको पहिलो रोजाइमा मःमकै राज छ । तिब्बतबाट नेपालमा भित्रिएको यो परिकारले मेनुमा कब्जा जमाएसँगै राजधानीमा मःमको दैनिक करोडौँको कारोबार हुन थालेको छ ।

नेपालमा मःम यसरी भित्रियो

करिब ६० वर्षअघि नेपालमा मःम भित्रिएको हो । उपत्यकाका नेवार समुदायका व्यापारीहरू व्यापारको सिलसिलामा तिब्बत जाने क्रममा मःम काठमाडौंमा भित्रिएको हो । जाडोयाममा चीनको तिब्बतस्थित ल्हासामा अत्यधिक चिसो हुने भएपछि नेपालका नेवारी समुदायका व्यापारी ८ महिना ल्हासा र चार महिना नेपाल बस्थे । यसरी लामो समय तिब्बतमा बस्दा उनीहरू मःमको पारखी बनी नेपालमा पनि भि-याएका हुन् । त्यही मःम अहिले विभिन्न स्वाद र प्रकारमा बन्न थालेको छ ।

अन्तर्राष्ट्रिय ब्रान्डतर्फ नेपाली मःम

चीनमा बन्ने मःमको आकार नेपालमा पाइनेभन्दा ठूलो हुन्छ । नेपालमा भने यहा“का व्यापारीहरूले आफ्नै शैलीमा ढालेर मःमलाई सर्वप्रिय बनाउँदै लगे । तिब्बती खान्की मोहमोःलाई नेपाल भित्रिएपछि मःम भन्न थार्लिएको जानकारहरू बताउँछन् । तिब्बतमा लाम्चो आकारको मःम पाइन्छ भने नेपालमा लाम्चो तथा डल्लो मःम बन्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा नेवारी समुदायका व्यापारीले त्यसवेला लाम्चो आकारको मःमबाट डल्लो बनाएर त्यसलाई आफ्नै नाम दिए । डल्लो आकारको मःमलाई नेवारी भाषामा मःमचा भनिन्छ । चा अर्थात् स्थानीय भन्ने हो । तिब्बतमा पाइने मःममा नुन र प्याजको प्रयोग हुन्छ भने नेपालमा भित्रिएपछि मःममा नेपाली मसला, प्याजका साथै अचार प्रयोग गर्न थालियो । जसले नेपाली मःमको मौलिक पहिचान बन्यो । नेपाली स्वादको मःम अहिले विश्वव्यापी बन्दै गएको छ ।

मःमको व्यावसायिक कारोबार सुरुवात

तिब्बतबाट मःम बनाउन सिकेर स्वदेश फर्केका नेपाली व्यापारीले आफ्नै घरमा आउने आफन्त, पाहुनालाई खुवाउन नयाँ परिकारका रूपमा यसलाई अघि सारे । त्यसवेला शनिबार वा फुर्सदको समयमा काठमाडौंका बासिन्दाले घरमै मःम पकाएर खाने गर्थे । ०२० पछि भने मःम व्यावसायिक रूपमा अघि बढेको बताउँछन् नाङ्लो रेस्टुरेन्टका सञ्चालक श्यामसुन्दर कक्षपती । उनका अनुसार नेवारी समुदायमा लोकप्रिय हुँदै गएपछि व्यवसायीले ललितपुरको पाटनका गल्लीमा रेस्टुरेटहरूमा मःम बनाएर बिक्री गर्न थालेका हुन् । त्यसवेला मानिस लुकीलुकी मःम खाने गरेको उनी बताउँछन् । सुरुसुरुमा बफ मःम मात्रै बन्ने गथ्र्यो ।

नाङ्लोले भित्र्याएको चिकेन मःम

चेन रेस्टुरा नाङ्लोले २५ वर्षअघि नेपालमा चिकेन मःमको सुरुवात गरेको हो । नाङ्लोका सञ्चालक कक्षपतीले बेकरी क्याफे खोलेर चिकेन मःमको सुरुवात गरे । चिकेन मःमप्रति ग्राहक लोभिन थालेपछि होटेल, रेस्टुरेन्टमा पनि यसको माग र व्यापार बढ्न थाल्यो । काठमाडौंको गल्लीबाट सुरुवात भएको मःम व्यवसाय अहिले सडकमा ठेलागाडादेखि संसारभरिकै रेस्टुराँ र पाँचतारे होटेलसम्म पुगिसकेको छ ।

उपत्यकामा दैनिक काटमार कति ?

पशुसेवा विभागको केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यालयका पशु विकास अधिकृत देवी मजाकोटीका अनुसार काठमाडौं उपत्यकामा दैनिक चार सय २० वटाजति राँगाभैँसी काटिन्छ । त्यस्तै दैनिक दुई हजार ६ सय बढी खसीबोका र २३ हजार कुखुरा काटिन्छ । उनका अनुसार बंगुरको यकिन तथ्यांक भने राखिएको छैन । यद्यपि दैनिक कम्तीमा एक ट्रक बंगुर भित्रिने गरेको छ । जसअनुसार काठमाडौंमा दैनिक २५ वटाभन्दा बढी बंगुर काटिन्छ ।

मःम का लागि कति मासु ?

सडकदेखि तारे होटेलहरूसम्म मःमको कारोबार हुने भएकाले मःमकै लागि प्रयोग हुने मासु कति भन्ने तथ्यांक कुनै निकायसँग छैन । मःमका लागि सानो पसलबाट पनि धेरै मासु बिक्री हुन्छ । काठमाडौंका रेस्टुरेन्ट तथा होटेलदेखि ठेलागाडामा समेत मःम मात्र परिकार नबन्ने भएकाले कति मासु मःमकै लागि प्रयोग हुन्छ भन्ने तथ्यांक नभएको सरोकारवालाहरू बताउँछन् ।

अनौपचारिक स्रोतका अनुसार उपत्यकामा काटिने राँगाभैँसीको मासुमध्ये करिब ३० प्रतिशत मासु बफ मःमका लागि प्रयोग हुन्छ । चिकेन मःमका लागि भने उपत्यकामा काटिने कुखुराको मासुमध्ये करिब सात प्रतिशत मासु मात्र प्रयोग हुन्छ । त्यस्तै मटन मःमका लागि काटिने खसीबोकाको मासुमध्ये करिब ३ प्रतिशत र पोर्क मःमका लागि काटिने बंगुरको मासुमध्ये एक प्रतिशतभन्दा कम मासु प्रयोग हुन्छ ।

काठमाडौंमा दैनिक दुई करोडको मःम बिक्छ

फास्टफुड व्यवसायमा मःम सर्वाधिक लोकप्रिय छ । स्वादिलो र भोक मेट्ने भएकाले मःम खाजाका रूपमा धेरैका लागि पहिलो रोजाइमा पर्ने गरेको छ । नेपालीले पैसा, स्वाद र सन्तुष्टिका हिसाबले पनि अन्य खाजाभन्दा मःमलाई नै प्राथमिकता दिने गरेका छन् । काठमाडौंका पाँचतारे होटेलदेखि सडकको छेउमा ठेलागाडामा समेत मःम नै ग्राहकहरूले खाजामा धेरै रोज्ने गरेका छन् ।

मःम एक प्लेटको ६० रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ठेलागाडादेखि सामान्य होटेल तथा खाजाघरहरूमा मःम प्रतिप्लेट ६० देखि एक सय रुपैयाँमा पाइए पनि रेस्टुरेन्ट तथा ठूला होटेलहरूमा त्योभन्दा बढी मूल्यमा बिक्री हुन्छ । नेपालमा दैनिक रूपमा कति मःम बिक्री हुन्छ र कति होटेल तथा रेस्टुरेन्टहरूबाट मःम बिक्री हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन ।

व्यवसायीको अनुमानअनुसार काठमाडाैँ उपत्यकामा मात्र दैनिक दुई करोड रुपैयाँको मःम बिक्री हुन्छ । जसमध्ये सबैभन्दा बढी बफ मःमकै कारोबार हुन्छ । बफपछि भेज, चिकेन, पनिर, मटन मःमको बिक्री बढी हुने गरेको छ । तुलनात्मक रूपमा भेज र चिकेन मःम करिब बराबरजस्तो बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

पाँचतारे होटेलमा मःमको कारोबार

काठमाडौंका पाँचतारे होटेलमा पनि मःमको व्यापार फस्टाउँदै गएको छ । ठूला होटेलहरूले मःम प्रतिप्लेट हजार रुपैयाँसम्म लिने गरेका छन् । केही होटेलबाहेक सबै तारे होटेलको मेनुमा मःम राखिएकै हुन्छ ।

पहिलो रोजाइमा बफ मःम

अहिले नेपालमा बफ, चिकेन, मटन, भेज, पोर्क, पनिर, बनाना मःमहरू बन्ने गरेको छ । तर, बफ मःमकै स्वादलाई सर्वसाधारणले धेरै रुचाउने गरेका छन् । राँगाभैँसीको मासु राखेर बनाइने मःम नै दैनिक रूपमा अरू मःमभन्दा बढी बिक्री हुने गरेको मःम पसल सञ्चालकहरू बताउँछन् ।

चार दशकअघिदेखि सञ्चालनमा रहेका विभिन्न मःम पसलले अहिलेसम्म पनि बफ मःम मात्रै बिक्री गर्दै आएका छन् । एभरेष्ट मःम कमलपोखरी, फाइभस्टार मःम वसन्तपुरजस्ता दशकौँदेखि चल्दै आएका मःम पसलले अहिलेसम्म बफ मःम मात्रै बनाउने गरेका छन् । नेपालमा घुम्न आएका पर्यटकले पनि बफ मःमदेखि मःमका अन्य परिकार पनि मन पराउने गरेका छन् । ६० प्रतिशत विदेशी पर्यटकको मन मःमले जित्ने गरेको होटेल तथा रेस्टुराँ व्यवसायीको दाबी छ ।

उतिवेला एक रुपैयाँमा १२ वटा मःम पाइन्थ्यो

फाइभस्टार मःम बोसोरहित हुने भएकाले लोकप्रिय छ । यसका सञ्चालक राजेन्द्र तुलाधरले सुरु–सुरुमा सालको पातबाट गाँसिएको टपरीमा मःम राखेर ग्राहकलाई दिन्थे । उनले मःमको व्यापार सुरु गर्दा एक रुपैयाँको १२ वटा मःम दिइन्थ्यो । करिब ५० वर्षअघि प्रतिप्लेट एक रुपैयाँबाट सुरु भएको तुलाधरको फाइभस्टार मःममा अहिले ग्राहकहरूको घुइँचो लाग्छ । अहिले उनी बफ मःम प्रतिप्लेट ८० रुपैयाँमा बिक्री गर्छन् ।

स्वास्थ्यका लागि कत्तिको लाभदायक ?

लोकप्रिय भए पनि स्वास्थ्यका दृष्टिकोणले भने मःम त्यति हितकर नभएको चिकित्सकहरू बताउँछन् । स्वस्थ तरिकाले बनाइएको र राम्रोसँग पकाइएको मःमले स्वास्थ्यलाई असर गर्दैन । मैदाको पिठोमा रेसादार तत्व केही नहुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । भोक मेटाउनका लागि मात्र मैदाको पिठोबाट बनेको मःम खान सकिन्छ । मःमभित्र प्रयोग गरिने विभिन्न परिकार राम्रोसँग पाक्नु आवश्यक छ ।

जनस्वास्थ्य पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार राम्रोसँग नपाकेको मःमभित्रको मासुमा जुकाको फुल हुने सम्भावना निकै हुन्छ । जसले गर्दा स्वास्थ्यमा दीर्घकालीन असर पुग्न सक्छ । थोरै पैसाले पेट भरिने भएकाले यसलाई हिजोआज धेरै मानिसले दिनहुँ खाजाको रूपमा प्रयोग गर्ने गरेका छन् ।

दिनहुँ मःम खाने गर्दा स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । मैदाबाट बनेको मःम खानाले कब्जियत, मोटोपना, ढाड दुख्ने, उच्च रक्तचाप, किड्नीमा हुने समस्याजस्ता रोग देखापर्न थाल्छन् । कोदो, फापरबाट बनेको मःमको परिकार स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुने डा. उप्रेतीको सुझाब छ । मःमलाई दिनहुँजसो प्रयोग गर्नु राम्रो होइन । तर, कहिलेकाहीँ मात्र खाने हो भने कार्बोहाइड्रेड प्राप्त हुन्छ । मासु प्रयोग गरिएकोभन्दा भेज मःम स्वास्थ्यका लागि राम्रो हुने चिकित्सकहरू सुझाउँछन् ।

यसकारण चले यी मःम पसल

नक्साल, कमलपोखरीस्थित एभरेष्ट मःमको प्रमुख विशेषता स्वाद हो । ग्राहकहरू एभरेष्ट मःममा प्रयोग गर्ने सुपलाई खुब मन पराउँछन् । यसका सञ्चालक डम्बर राईले ०४३ सालतिर प्रतिप्लेट तीन रुपैयाँका दरले मःम बिक्री गर्थे । बफ मःम मात्र पाइने एभरेष्ट मःममा अहिले उनी प्रतिप्लेट एक सय ३० रुपैयाँ लिन्छन् ।

त्यस्तै, कोटेश्वरको शिखर मःमको आकार ठूलो हुने भएकाले एकै प्लेटले भोक मेट्ने उद्देश्यले ग्राहकहरू त्यहाँ पुग्छन् । सुन्धारास्थित धरहरा मःम पसल टपरीका कारण चर्चित छ । जहाँ टपरीमा मःम दिइन्छ भने मःमको स्वाद पनि अत्यन्तै रुचाइएको छ । यीलगायत मःम पसलहरू कुनै न कुनै विशेषताले चलेका छन् । कतै स्वादिष्ट सुप, कतै स्वादिष्ट अचार त कतै बोसोरहित मःमका कारण मःम पसलहरू सफल बनेका छन् ।

होटेल सांग्रिला, लाजिम्पाट

यस होटेलमा बफ मःमबाहेक भेज, चिकेन र मटन पाइन्छ । दैनिक १५ देखि २० हजारसम्म मःमको कारोबार हुने गरेकोमा भेज मःमको नौ सय, चिकेन र मटन मःमको प्रतिप्लेट हजार लिने गरिन्छ ।

द्वारिकाज होटेल, बत्तीसपुतली

गौशाला, बत्तीसपुतलीमा रहेको द्वारिकाज होटेलमा पनि भेज तथा ननभेज मःम पाइन्छ । प्रतिप्लेट ६ सय रुपैयाँभन्दा बढी लिइने यस होटेलमा दैनिक १० हजारभन्दा बढीको मःम कारोबार हुन्छ । हरेक शुक्रबार यस होटेलले मःमको कारोबारबाट हजारौँ रुपैयाँ कमाउने गरेको छ ।

होटेल र्‍याडिसन, लाजिम्पाट

होटेल र्‍याडिसनमा पनि स्टिम, कोठे, फ्राइड, सी मःमको कारोबार राम्रो छ । यस होटेलमा चिकेन, भेज, पोर्कलगायतका मःमका परिकार पाइन्छ । जहाँ भेज मःम प्रतिप्लेट तीन सय ५० देखि ननभेज मःमको मूल्य प्रतिप्लेट ६ सय रुपैयाँसम्म पर्न जान्छ ।

शंकर होटेल

लाजिम्पाटस्थित शंकर होटेलमा चिकेन र भेज गरी दुई परिकारका मःम पाइन्छन् । त्यहाँ दैनिक १५ देखि २० प्लेट मात्र मःमको व्यापार हुने गर्छ । त्यहाँ चिकेन मःमको प्रतिप्लेट तीन सय ७५ र भेज मःमको तीन सय १५ रुपैयाँ पर्ने गर्छ ।

होटेल तिब्बेत इन्टरनेसनल, बौद्ध

यस होटेलमा चिकेन, बफ, पोर्क, भेज, तिब्बेतियन, कोठे, स्टिम मःम पाइन्छ । दैनिक १० हजारभन्दा बढीको मःमको कारोबार हुने यस होटेलले सबै प्रकारका मःमको प्रतिप्लेट चार सय ३५ रुपैयाँ लिने गरेको छ ।नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com