जेलमा रहेका आप्रवासीलाई कानुनी सहायताका लागि प्रयोग हुने निशुल्क फोन बन्द


प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार

अमेरिकी अध्यागमन हिराशतहरुमा रहेका आप्रवासीहरुलाई कानुनी सहायता प्रदान गर्नका लागि व्यवस्था गरिएको निशुल्क टोल फ्री नम्बर अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले बन्द गरिदिएको छ । नेटफिल्क्सको सिरिज अरेन्ज इज द न्यु ब्लाकमा समावेश गरिएको उक्त नम्बर आइसले बन्द गरिदिएपछि त्यसलाई पुन संचालनको माग गर्दै कलाकार भिक्की मार्टिनेज लगायत अन्य कलाकारहरु र १२१ संघ संस्थाहरुले प्रयास थालेका छन् ।

आप्रवासीलाई सहायताका लागि सन् २०१३ देखि संचालन गरिएको उक्त हटलाइन नम्बर गत अगस्त ७ मा बन्द गरिएको थियो । अरेन्ज इज द न्यु ब्लाकको अन्तिम सिजन प्रिमियर गरिएको दुईसातापछि उक्त हटलाइन नम्बर बन्द गरिएको जनाइएको छ ।

उक्त हटलाइन नम्बर चलचित्रको विभिन्न भागमा फिचर गरिएको छ । चलचित्रका दुईजना पात्रहरु देशनिकालाको प्रकृयामा अध्यागमन जेलमा परिसकेपछि त्यहाँ निशुल्क फोन सेवा नरहेको थाहा पाउँछन् । तर पछि उनीहरुले कानुनी सहायताका लागि निशुल्क हटलाइन नम्बरको व्यवस्था रहेको थाहा पाउँछन् । त्यसपछि उनीहरुले उक्त फोनको बारेमा अन्य आप्रवासीहरुलाई पनि जानकारी गराउँछन् । त्यही फोन सेवा आइसले बन्द गरेको हो ।

आप्रवासीका लागि स्वतन्त्रता नामको उक्त निशुल्क हटलाइन सेवा हिराशतमा आप्रवासीहरुमाथि हुने दुब्र्यबहारका घटना बाहिर आएपछि आइसको निशानामा परेको थियो । हिराशतभित्र आप्रवासीहरुको उपचार लगायतका सेवामा आइसले गरेको वेवास्ता लगायतका विषयमा समेत उनीहरुले यही फोनसेवामार्फत बाहिर जानकारी गराउदै आएका थिए । त्यसैले यो फोन सेवा आप्रवासीहरुका लागि अति महत्वपूर्ण रहेको थियो ।

यो सेवा अन्तरगत आइसले स्वीकृत गरेका कानुनी सेवा प्रदायक संस्थाहरुलाई हिराशतमा रहेका आप्रवासीहरुले फोन गर्न पाउँथे । तर कन्फ्रेन्स कल वा फोन फरवार्ड गर्न भने निषेध गरिएको थियो । निशुल्क सेवा प्रदायक संस्थाहरुले फोनको नियम उल्लंघन गरेको भन्दै आइसले उक्त सेवा बन्द गराएको हो ।

फोटो चलचित्रबाट साभार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com