मेड इन नेपाल : सदाबहार ढाका !


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

बजारमा मौसमअनुसार कपडाको माग हुन्छ । तर, ढाकाबाट निर्मित कपडा सदाबहार छन् । यसको माग दिन–प्रतिदिन बढ्दो छ । जाडो तथा गर्मी दुवै मौसमका लागि ढाकाबाट बनेका कपडा उपयुक्त मानिन्छन् ।

ढाकालाई परम्परागत अथवा मौलिक पहिरनका रूपमा लिइन्छ । तर, समयसँगै परम्परागतभन्दा फरक वानपिस तथा ढाका फ्युजन गरेर डिजाइन गरिएका आधुनिक पहिरनप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । हिजोआज फेसन सोहरूमा समेत ढाका फ्युजन पहिरनलाई प्रस्तुत गर्न थालिएको छ । सर्वसाधारणदेखि सेलेब्रिटीको समेत रोजाइमा ढाकाको पहिरन पर्न थालेको छ ।

विदेशमा समेत माग
ढाकाको साडी, वानपिस, लेहेंगा, कुर्ता, सल, सर्ट तथा लङ कोट, टप्स, वान पिस, क्लोज सुजलगायत सामग्री विदेशमा समेत खपत भइरहेको छ । नेपालीहरू बसोवास गर्ने हङकङ, युके, सिंगापुर, अमेरिका, न्युजिल्यान्ड, कुबेत, इजरायललगायत देशमा समेत यसको माग बढेको छ ।

चोली लेहेंगा
ढाका र अन्य कपडाको मिक्सबाट बनेका चोली लेहेंगा हिजोआज फेसन ट्रेन्डमा छ । यसलाई फ्युजन ढाकाको नामले चिनिएको छ । यसको डिजाइन आफूले चाहेजस्तो बनाउन सकिन्छ । कपडा र डिजाइनअनुसार मूल्य निर्धारण हुन्छ । परम्परागत पहिरनलाई नै फ्युजन गरी नयाँ डिजाइन दिइएकाले यसको माग बढेको हो ।

साडी, मेख्ली
हिजोआज ढाकाको सारीको माग एकदमै बढेको छ । सहज र हलुका हुनाले योे धेरैको रोजाइमा परेको हो । लिम्बू समुदायको सांस्कृतिक पहिरन मेख्ली अहिले गैरलिम्बू समुदायका किशोरीको पनि रोजाइमा पर्न थालेको छ । यो पहिरन गाउन स्टाइलमा भएकाले किशोरीहरूले मेख्लीको प्रयोग गर्ने गरेका छन् ।

वानपिस
ढाकाको वानपिस खोजेजस्तो डिजाइन र रङमा पाइन्छ । अन्य वानपिसभन्दा फरक देखिने भएकाले पनि हिजोआजका युवती यसमा आकर्षित भएका हुन् । गर्मी मौसम भएकाले नि–लेन्थ, अफ सोल्डर, स्लिप लेस वानपिस, ढाका वानपिसलगायत पहिरनको माग उच्च छ ।

फुटवेयर
विभिन्न साइज तथा रङमा लेडिज क्लोज सुज, हाइहिल, स्यान्डल, जेन्स सुज उपलब्ध छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com