Follow @khasokhasmag

अविवाहित महिलालाई पनि भत्ता


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

विमलबहादुर विष्ट/ सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने भएको छ । कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका महिलाको वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक भत्ता दिइने योजना बनाएका छौँ, त्यस्ता महिलालाई भत्ता दिइने छौँ ।” बिहे नगरेर एकल बसेका महिलालाई उक्त कार्यक्रमले आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगरपालिकाभित्र ५० वर्षसम्म बिहे नगरी बसेका एकल महिला के कति सङ्ख्यामा छन्, उनीहरुलाई परिचयपत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधि तयार गरिन लागेको नगरपालिका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो ।

आगामी मङ्सिर महीनादेखि उक्त कार्यक्रम शुरुआत गर्ने गरी कार्यविधि तयार गरिने नगरपालिकाले योजना बनाएको छ । बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले यो नौलो कामको शुरुआत गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो । दिपायल सिलगढी नगरपालिकामा ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका थुप्रै महिला हुनसक्ने अनुमान गरिएको छ ।

घरमा नै सामाजिक सुरक्षा भत्ता

दिपायल सिलगढी नगरपालिका–२ को कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण कार्यक्रम शुरु गरेको छ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाभित्र रहेका अशक्त र बैंकसम्म जान नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएकालाई लक्षित गरी वडा कार्यालयले घरघरमै गएर वितरण गर्ने कार्य गरिएको वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो वडामा भएका बैंकसम्म जान नसक्ने अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनेर हामीले उहाँहरुको घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने अभियान चलाएको छौँ, बैंकसम्म जान सक्नेको हकमा बैंक खातामै पैसा जम्मा हुनेछ ।”

एक वर्ष अगाडिबाट नै सामाजिक सुरक्षा भत्ताको लागि सम्बन्धित व्यक्तिको खाता दिपायल पिपल्लामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खोलेको खातामा नै वडा कार्यालयले रकम उपलब्ध गराउने गरेकामा बैंकसम्म पुग्न नसक्नेका लागि घरैमा नै रकम उपलब्ध गराइएको वडा सचिव लालबहादुर कठायतले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यमा राष्ट्रिय वाणिज्य बंैक दिपायल शाखाले पनि सहयोग गरिरहेको बैंकका कर्मचारी गणेशबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बैंकमा खाता खेलेका तर बैंकसम्म आउन नसक्ने अवस्था भएका व्यक्तिलाई घरैमा सामाजिक सुरक्षा भत्ता दिन हामीले पनि वडा कार्यालयलाई सहयोग गरिरहेका छौँ, घरैमा भत्ता पाएपछि नागरिक पनि खुशी भएका छन् ।”

वडा कार्यालयले घरैमा सामाजिक सुरक्षाबापतको भत्ता दिन थालेपछि सो वडाका अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति निकै खुशी हुन थालेको दिपायल सिलगढी नगरपालिका–२ पुनेवाटाका स्थानीय डम्बर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्ता लिन बैंकसम्म जान नसक्नेलाई वडा कार्यालयले घरैमा भत्ता दिन थालेको छ, घरैमा भत्ता पाउन थालेपछि नागरिक खुशी छन् ।”

डम्बर कठायतजस्तै वडामा रहेका अन्य वृद्धवृद्धालाई समेत अहिले भत्ता लिनमा सहज भएको छ । वडाका नागरिक र जनप्रतिनिधिबीचको सम्बन्धलाई सुमधुर र नजिक रहेर काम गर्ने मध्यमको रुपमा यस कार्यक्रमलाई लिइएको वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “घरैमा भत्ता दिने कार्यक्रमले बैंकसम्म जान नसक्नेलाई सहज त भयो नै, त्यसमा पनि वडाका नागरिक र जनप्रतिनिधिबीचको सम्बन्ध झन सुमधुर हँदै गएको छ ।” साथै वडालाई हरियाली र वातावरणीय सौन्दर्यता कायम गर्नको लागि ‘एक घर, एक फलफूल बिरुवा वितरण’ कार्यक्रमअन्तर्गत रहेर वडा कार्यालयले वडाभित्र करीब ७०० आँप र २०० लिच्चीका बिरुवासमेत वितरण गरिएको वडासचिव लालबहादुर कठायतले जानकारी दिनुभयो ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाका वडामध्ये अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर सामाजिक सुरक्षाबापतको रकम वितरणको अभियान चलाउने यो वडा कार्यालय पहिलो भएको वडाध्यक्ष खड्काको दाबी छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com