माटाको भाँडामा लुकेको कथा !

पवित्रा गुरागाईं/लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो । मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो । यहाँका बाटा साँघुरा र खाल्डाखुल्डी परेर पानी जमेका थिए । सडकमा सवारी साधनको बाक्लो आवतजावतबीच मानिस आ–आफ्नो गन्तव्य जान प्रयासरत देखिन्थे ।

बाहाखाः ऐतिहासिक व्यापारिक केन्द्र हो । यहाँको भीमसेन चोकबाट दक्षिणमा पाँच मिनेटजति सिधा हिँडेपछि दायाँतिर इँट्टा छापेको फराकिलो बाटो भेटिन्छ । सिधै पश्चिम एक–दुई मिनेट अगाडि बढेपछि थोरै दक्षिण पश्चिम मोडिँदै जाँदा नासःननी चोक आउँछ ।

यो चोकमा केही घर छन्, सबै खुला । व्यक्तिगतरुपमा कसैले पनि आफ्नो घर पर्खाल लगाए छैनन् । घरैघरका बीचमा खुला सामूहिक आँगन छ । यो चोकवासी यही आँगनमा आफ्ना कामधाम गर्छन् । चोकवासीमध्ये एक हुन् ५३ वर्षीय कृष्ण प्रजापति । उनको घर सामुन्ने पर्ने आँगनमा माटाले बनेको पुरानो घ्याम्पो छ । ठूलो घ्याम्पोमाथि ढुङ्गाको सहायताले काठको फलेक अड्याइएको छ । फलेकमाथि माटाको मझौला आकारको गमला छ ।

बिहान १०ः३० बजे यो सामूहिक आँगनमा पुग्दा कृष्ण एउटा विशेष प्रकारको सानो घनले फलेकमा राखिएको गमला एकनाशले पिट्दै थिए । यसरी टुकटुक पिटेर उनी बुट्टा कोरिरहेका हुन्छन् । कृष्णले नै बनाएका अरू यस्तै गमला भूइँमा लस्करै राखिएका छन् ।

माटोमा हातले कला कुँदेर भाँडाकुँडा, खुत्रुके र गमला आदि बनाउनु नेवार समुदायका प्रजापतिको पुख्र्यौली पेशा हो । कृष्ण पनि ३८ वर्षदेखि यही पेशामा रमाइरेहका छन् । यसपाला लगातार परेको पानीले भने उनको दैनिकीमा परिवर्तन ल्यायो । आफ्नो हातको सीप माटोका विभिन्न आकृतिमा उतार्ने उनको कामले यो अवधिमा व्यापक विश्राम लियो ।

“चार–पाँच दिनदेखि राम्रोसँग काम गर्न पाएको छैन”, उनले सुनाए । यतिभन्दा पनि गमला पिट्न भने छाडेनन् । उनी काम रोक्न चाहँदैनन्, किनकी पानी रोकिएपछि घाम लाग्छ भन्ने आशा उनलाई छ । कृष्णलाई यो खेपमा लगभग २० वटा गमला सुकाउनुपर्नेछ । सुकेका गमला रङरोगन गरेर भट्टीमा पोल्न ठिक्क पार्नुछ ।

उनकी ५० वर्षीया श्रीमती गमला यताउता ओसार्न उनलाई सघाइरहेकी देखिन्छिन् । श्रीमतीलाई उनले ‘घरकी लक्ष्मी’ भनेर चिनाउने गरेका छन् । कृष्ण र उनकी घरकी लक्ष्मीले मिलेर बनाएका यी गमला प्रतिबोरा रु ८५–९० मा थोक मूल्यमा बिक्री गर्छन् ।

कृष्णको घर छेउमा छ ४० वर्षीय ज्ञानबहादुर प्रजापतिको पुरानो घर । भित्रबाट उनी परम्परागत डालोमा माटो भरेर निस्कन्छन् र ल्याएर चोकको किनारतिर पोख्छन् । यो क्रम चलिरहन्छ ।

सोही टोलका सिद्धीबहादुर प्रजापतिले १५–१६ वर्षदेखि नै माटोसँग खेल्न सिकेका थिए । माटोमा आफ्नो सीप उतारेर यसैलाई जीवनयापनको माध्यम बनाए । माटोका भाँडा बनाउने काममा लत कसरी बस्यो भन्ने प्रश्नमा उनी आफ्नै नेवार लवजमा भन्छन्, “बाउबाजेले गरेको देखेर नै सिक्यौँ ।”

यो जोडीसँग भेट हुँदा उनीहरू आफ्नो साँघुरो चारतले घर अगाडि राखिएको मेशिनमा माटो पेल्दै थिए । त्यो माटोबाट ४० वटा हाँडी तयार भएको छ । स्थानीय पार्वती प्रजापति आफ्ना ५९ वर्षीय श्रीमान् र ९० वर्षीया सासूसँग बस्छिन् । घरजस्तै उनको माइतीको पेशा पनि माटोको भाँडा बनाउने नै हो । यो परिवारको घर २०७२ सालको भूइँचालोले भत्काएको थियो । पुख्र्यौली जग्गा बेचेर उनीहरूले चारतले पक्की घर बनाएका छन् ।

पार्वतीकै भनाइमा उनीहरूको पुरानो घरसँगै भाँडा बनाउने व्यवसायलाई पनि भूइँचालोले थिचेर गयो । घर त नयाँ बन्यो, आफ्नो पुख्र्यौली पेशाले विश्राम लियो, उनीहरूमा यसको छटपटी देखिन्छ । “अब छिट्टै नै काम थाल्ने हो”, उनी उत्साहित हुँदै भन्छिन् । उनको अनुहारमा त्यो छिट्टैको व्यग्र प्रतीक्षा देखिन्छ ।

कृष्ण, ज्ञानबहादुर, सिद्धीबहादुर र पार्वती यो चोकका प्रतिनिधि मात्र हुन् । माटोको भाँडा बनाउने कला प्रजापति समुदायको संस्कृति र जातीय पहिचानका साथै जीविकोपार्जनसँग जोडिएको पेशा हो । लेस्याइलो माटो पानीसँग मुछेर विभिन्न आकृतिमा ढालिने यो काम सहज छैन । तैपनि यसलाई जीवन्त राख्न यी दुवै पुस्ताले दिनरात गरेको मेहनतमा खोट देखिन्न ।

पार्वती भन्छिन्, “यो काममा धेरै दुःख छ । रातदिन माटोसँग खेल्नुपर्छ । माटोबिना हाम्रो घर चल्दैन ।” यही घर चलाउन पार्वतीका श्रीमान् वर्षको छ महीना काठमाडौँ उपत्यका बाहिर जान्थे । माटोका भाँडा बनाउने साथीहरूको समूहमा गएका उनका श्रीमान् मोहनकृष्णले काठमाडौँ बाहिर आफ्नो सीप देखाइसकेका छन् ।

उनी नगरकोट, सिन्धुपाल्चोकको बाह्रबिसे, गोर्खा, बुटवल, सुनवललगायत शहरसम्म पुगेर माटोमा कला उतार्थे । यही काम परिवारको प्रमुख आयआर्जनको स्रोत थियो तर विगत १५–१६ वर्षदेखि उनी यसरी बाहिर गएका छैनन् । पार्वतीका अनुसार मोहनकृष्ण बाहिर जाँदा चार जना छोराछोरीको सम्पूर्ण दायित्व एक्लैको काँधमा आउँथ्यो । घरका लागि कमाइ हुन्थ्यो, तर घर सम्हाल्न धेरै गाह्रो हुन्थ्यो ।

नासःननीसँगै जोडिएको चपाचोका कहानी पनि फरक छैनन् । कंसकुमार प्रजापति ६५ वर्षका भए । उनले १६–१७ को उमेरदेखि नै माटोमा ‘जीवन’ खोज्न थालेका हुन् । माटोमा भुलेका उनले आमाबुबाबाट सीप सिक्ने मौका पाए पनि पढाइ–लेखाइ गर्न पाएनन् । तै उनको रोजीरोटी राम्रै चलेको छ ।

उनी भन्छन्, “पहिला–पहिला यो काम गर्न निकै कठिन थियो । धेरै शारीरिक बल चाहिन्थ्यो ।” उनका अनुसार पहिले वरिपरिका खाली जग्गा विशेषगरी सिन्टीटार, बोडेबाट आफैँ माटो खनेर बोकेर ल्याउनुपर्दथ्यो । माटोमा आवश्यकताअनुसार पानी मिसाएर खुट्टाले मुछ्नुपर्दथ्यो । त्यसरी मुछिएको माटोको डल्लोलाई परम्परागत ९हातैले घुमाउने० चक्रमा राखेर आकार दिइन्थ्यो ।

धान राख्ने घ्याम्पो, हाँसीलगायत बनाएर त्यसलाई घाममा सुकाइन्थ्यो । त्यसपछि पराल र खरानीको थुप्रोमा राखेर पूरा चार दिनसम्म पोलिन्थ्यो । अचेल कंसकुमारलाई यति धेरै झमेला पर्दैन । “अहिले धेरै प्रविधि आयो । बिजुलीबाट चल्ने चक्र, माटो मुछ्ने मेशिन र सुधारिएको भट्टाले काम सजिलो बनाइदिएको छ”, उनी भन्छन्, “पहिलाजस्तो धुँवा पनि सहन पर्दैन । खोकी पनि लाग्दैन ।”

‘माटोको दुःख’ रहर कि बाध्यता

माटोका भाँडा बनाएरै जीविकोपार्जन गर्ने यी परिवारका भनाइमा यो उनीहरूका पुर्खाले सिकाएको कला हो । यसमा उनीहरू आफ्नो पहिचान भेट्टाउँछन् । यो पेशाले गरिखान सिकाएको छ । आत्मसम्मान दिएको छ । घरपरिवारको भरथेग गरेको छ । “प्रशस्त नाफा नभए पनि बाँच्न सक्ने बनाएको छ । जेनतेन छोराछोरीलाई स्कूल पठाउन सक्ने बनाएको छ”, उनीहरू सबैको भनाइ उस्तै छ ।

अर्कातिर यो पुस्ताले उच्च शिक्षाको अवसरै भेट्टाएन । पार्वतीका श्रीमान् मोहनकृष्ण स्कूलै जान पाएनन् । ज्ञानबहादुर ७ कक्षासम्म मात्र पढे । उता सिद्धीबहादुर पनि १६ वर्षमै स्कूल छाडे । उनीहरूसँग आजका पुस्तासँग जस्तो विकल्प थिएनन् । त्योभन्दा बढी आमाबुबाले सिकाएको पेशालाई मनैबाट आत्मसात् गरेका थिए । बाध्यता नै भए पनि यसमा आफूहरूको मन रमाएको उनीहरू बताउँछन् ।

हामीलाई यही काम रमाइलो लाग्छ । पानी नपरी घाम लागेका बेला झनै रमाइलो लाग्छ, सिद्धीबहादुर हाँस्दै भन्छन्, “जे भए पनि काम गरेर खाने हो । अलिअलि पैसा आएकै छ । समय पनि बितेकै छ ।” छेउमै बसेकी उनकी ६७ वर्षीया श्रीमती मिश्री प्रजापति पनि मुसुमुसु हाँस्छिन् । नेवारीमा मात्र दोहोरो कुराकानी गर्न सक्ने उनको भनाइ थियो, “मलाई पनि यो काम रमाइलो लाग्छ । हामी खुशी छौँ ।”

यी चोक वरपर प्रजापति समुदायकै करीब ३५० घरधुरी छन् । धेरै वर्षअघि यी सबैको पेशा र व्यवसाय माटोका भाँडा बनाउनु नै थियो तर समय बितेसँगै धेरै नयाँ पुस्ताले फरक काम गर्न थालेका छन् । उनीहरूले पुख्र्यौली पेशाभन्दा अलग बाटो समातेकामा कति परिवारलाई दुःख पनि लागेको छ ।

पार्वतीकै सन्तान पनि यो पेशामा छैनन् । चार छोराछोरीमध्ये तीन जना त विदेश गइसके । अर्का एक जना पनि भिन्नै काममा छन् । नयाँ पुस्ताले पुख्र्यौली पेशा अपनाउन छाडेपछि यो कला मासिएर जाने हो कि भन्ने चिन्ता उनीहरूलाई छ ।

“नयाँ पुस्ता पढेलेखेको छ । यो काममा दुःख धेरै छ । धुँवा, धुलो सहेर पनि कमाइ कम हुन्छ”, पार्वती भन्छिन्, “सबै यही काममा जोडिउन् भन्ने त होइन, तर मासिन दिनु हुँदैन । यो हाम्रो संस्कृतिसँग जोडिएको कुरा हो । कम्तीमा हामी यसलाई जीवितै राख्छौँ ।” उता कसंकुमारका चार सन्तानले पनि बेग्लै बाटो समातिसके । कृष्णका दुई छोराहरू डाक्टर र इञ्जिनीयर बन्ने तयारीमा छन् ।

आफ्ना सन्तानले अब यो पेशा अँगाल्दैनन् भन्ने बुझेका यी परिवारलाई कहिलेदेखि आफूहरूको परिवार यसमा जोडियो भन्ने यकिन छैन । आफूसहित तीन पुस्तासम्मले यो काम गरेको उनीहरूलाई थाहा छ ।

पेशामा थपिएको चुनौती र समस्या

समय र आधुनिकीकरणसँगै यो बस्ती वरपर जग्गाको कारोवार बढ्यो । खेतहरू ‘प्लटिङ’ गरेर घडेरीमा परिणत भए । भाँडा बनाउने उपयुक्त माटोको स्रोत मासिँदै गयो । प्रजापति समुदायले माटो ल्याउने सिन्टीटार बोडेका खाली जमीन भटाभट घरले भरिए । पहिले–पहिले माटो दिन कसैले आनाकानी गर्दैनथ्यो तर अहिले मोल बढेपछि लोभ देखाउन थाले । माटाका भाँडा बनाउने पेशाको मुख्य समस्या अहिले यही हो ।

ज्ञानबहादुर र सिद्धीबहादुर गुनासो गर्छन्, “कच्चा पदार्थ ९माटो० सहज उपलब्ध हुन नसक्दा हामीलाई धेरै गाह्रो भएको छ । पहिले सित्तैमा पाइने माटोको अहिले एक ट्याक्टर बराबरको कम्तीमा रु तीन हजार पर्छ ।” यसले उनीहरूको लागत बढाएको छ । लागत बढे उत्पादनको मोल पनि बढ्छ । व्यवसाय टिकाउनै गाह्रो भइसक्यो । अचेल त झन माटो धेरै टाढा दाङसम्मबाट ल्याउनुपर्छ । टाढाबाट ल्याउँदा रु छ हजारसम्म तिर्नुपर्छ सिद्धीबहादुर दुखेसो पोख्छन् ।

स्थानीय नासःननी युवा क्लबका सदस्य ३२ वर्षीय श्यामकुमार प्रजापति यो परम्परागत पेशालाई समयअनुसार परिमार्जित गर्दै लान सकिने बताउँछन् । यसका लागि विशेष व्यवस्थापकीय ज्ञान, थप लगानी र आवश्यक पूर्वाधारको व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । उनले ‘थिमि सेरामिक’ को उदाहरण दिए । स्थानीय ५० वर्षीय सन्तकुमार प्रजापतिले आफ्ना बाबु सन्तबहादुरले सिकाएको पुस्तैनी पेशालाई’ ‘सेरामिक मोडेल’ मा रुपान्तरण गरेका छन् ।

परम्परागत माटाका भाँडाभन्दा सेरामिक उत्पादन बनाउन तामा, पित्तल र फलामको पाउडर जस्ता थप कच्चा पदार्थ चाहिन्छ । यसलाई दुई चरण गरी १२०० डिग्री सेल्सियससम्म पोल्नुपर्छ भने एकानासे आकार नाप्ने सीप पनि चाहिन्छ ।

उनका अनुसार’ ‘थिमि सेरामिक’ का ८० प्रतिशत उत्पादन अमेरिका, नेदरल्याण्डस लगायत विदेशमा पुग्छन् भने २० प्रतिशत यहीँ बिक्री हुन्छ । यसमा २० प्रतिशतसम्म नाफा हुने सन्तकुमारले जानकारी दिए । काममा परम्परागत लैङ्गिक विभाजन यो पेशाको अर्को महत्वपूर्ण पाटो हो ।

यस्तो किन भन्ने प्रश्नमा उनीहरू सबैको जवाफ एकै हुन्छ–यो काममा धेरै शारीरिक बल चाहिन्छ । मेसिन नआउँदा सम्म खुट्टाले नै माटो मुछ्नुपथ्र्यो । भाँडाको मुख्यस्वरुप बनाउन हातको कला चाहिन्छ । कलाले लैङ्गिक विभेद नगरे पनि यसलाई ढाल्न ९पिट्न० पनि शारीरिक बल चाहिन्छ । यो काम महिलालाई भन्दा पुरुषलाइ सहज हुन्छ । उनीहरूको सिधा र समग्र बुझाइ यही हो । यही कारण यो पेशाका हर्ताकर्ता पुरुष नै हुन्छन् । महिलाको सहायक भूमिका रहन्छ ।

मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्षदेखि मध्यपुरथिमि नगरपालिका सांस्कृतिक गुरुयोजना’ निर्माण र कार्यान्वयन प्रक्रिया शुरू गरेको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार तीन चरणमा ९अल्पकालीन, मध्यकालीन र दीर्घकालीन० यी योजना लागू गरिनेछ । यसमा ‘माटाका भाँडा बनाउने पेशा प्रोत्साहन गरिनेछ । यहाँको कला, संस्कृतिलाई पर्यटनसँग जोडेर लाने तयारी स्थानीय सरकारले गरेको छ ।

“यो मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक चिनारी र संस्कृति बोकेको पेशा हो । विगतमा सबै प्रजापति समुदाय यसैमा थिए । अचेल ओझेलमा परेको छ, प्रमुख श्रेष्ठले भने”, “यो मौलिक परम्परा हो । यसमा नयाँ पुस्ता आकर्षित हुने गरी समयअनुसार रुपान्तरण गर्दै संरक्षण गरिनुपर्छ । नासःननी–५ चोकलाई समेटेर ‘खुला सङ्ग्रहालय’ बनाउने स्थानीय सरकारको योजना छ ।
गत आर्थिक वर्ष स्थानीय सरकारको सहयोगमा पाँच वटा ९हाल आठ० सुधारिएका चिम्नीसहितका भट्टी बनाइएको छ । दाउरा नै हालिने यी बन्द भट्टीमा ७०० डिग्री सेल्सियस तापक्रममा भाँडा पोलिन्छ ।

यो प्रविधिमा धुँवा सिधै चिम्नीबाट माथि जान्छ । ‘‘धुँवाको प्रत्यक्ष असरबाट बच्न सकिन्छ’’, प्रमुख श्रेष्ठ भन्छन्, ‘‘भट्टीहरूको व्यवस्थापन भने समुदायबाट नै हुन्छ ।’’ २०६८ सालको जनगणनाअनुसार मध्यपुरथिमिको जनसङ्ख्या ८३ हजार छ । यसमा प्रजापति समुदायको करीब आठ हजार छ ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com