भोलिदेखि नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ गर्दै अमेरिकी दूतावास, विषयवस्तु ‘भिजन टु भेन्चर’
प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार
नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्दैछ। दूतावासका अनुसार यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ ले सृजनात्मक विचारलाई वास्तविक उद्यममा रूपान्तरण गर्ने सपनालाई जोड दिएको छ। सन् २०२३ देखि सुरु गरिएको यो कार्यक्रम अब आफ्नो चौथो संस्करणमा प्रवेश गर्न लागिरहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार यो मेला अहिले काठमाडौंमा मात्र सीमित नभई राष्ट्रव्यापी अभियानका रूपमा अघि बढेको छ। यसले नेपालको रचनात्मक अर्थतन्त्रलाई विश्वस्तरमा पुर्याउने प्रयास गरिरहेको दाबी दूतावासको छ। सन् २०२३ मा काठमाडौंमा पहिलो पटक आयोजित मेलाले सशक्तिकरण, नविनता र प्रेरणाका विषयवस्तुका साथ डिजिटल क्रिएटर्स र इन्फ्लुएन्सरहरूलाई एउटै मञ्चमा ल्याएको थियो। उक्त कार्यक्रममा युवाहरूलाई अनलाइन उपस्थिति बढाउने, व्यवसाय सुरु गर्ने र करियर निर्माण गर्ने अवसर प्रदान गरिएको थियो, र त्यसयता मेला निरन्तर विस्तार हुँदै आएको दूतावासले जनाएको छ।
सन् २०२४ मा मेलामा एक हजारभन्दा बढी सहभागीको उपस्थिति थियो । त्यतिबेला १२ वटा मुख्य स्टेज र १९ वटा अन्तरक्रियात्मक कार्यशालासहित ३१ वटा सेसन आयोजना गरिएको थियो। पोडकास्टिङ, सोसल मिडिया ग्रोथ, मानसिक स्वास्थ्य, फुड भ्लगिङ, ट्राभल भ्लगिङ लगायतका विषय समेटिएका थिए। सन् २०२५ मा यो मेला काठमाडौं बाहिर इटहरी र पोखरासम्म विस्तार भएको थियो, जसले राजधानी बाहिरका क्रिएटर्सलाई पनि अवसर प्रदान गर्यो। त्यो संस्करण ब्रान्डिङ र मोनेटाइजेसनमा केन्द्रित थियो।
सन् २०२६ को चौथो संस्करण चितवन, नेपालगन्ज र काठमाडौंमा आयोजना हुने भएको छ। दूतावासले जनाएको अनुसार, यस यात्राले अमेरिकी दूतावासले नेपालको क्रिएटर इकोनोमीमा गरेको निरन्तर लगानीले उद्यमशीलता, रोजगारी सिर्जना र समावेशी डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने कार्यलाई अघि बढाएको छ। यस वर्षको मेलाले डिजिटल कथा र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने लक्ष्य राखेको दूतावासले जनाएको छ।
मेला जनवरी १७ मा चितवनमा, जनवरी २४ मा नेपालगन्जमा, र जनवरी ३० देखि ३१ सम्म काठमाडौंमा आयोजना हुने दूतावासले जानकारी दिएको छ। कार्यक्रममा अन्तरक्रियात्मक कार्यशाला, प्यानल छलफल, विशेषज्ञ प्रस्तुति तथा ‘पिच टु सक्सेस’ सेसन समावेश हुनेछन्। मेलामा सज्जन राज वैद्य, प्रियंका कार्की, आयुष्मान जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा लगायत ५० भन्दा बढी प्रभावशाली क्रिएटर्स र विशेषज्ञहरूले आफ्नो अनुभव साझा गर्नेछन्।
काठमाडौं फिनालेमा छनोट भएका क्रिएटर्सले निम्बसका आनन्द बगरिया, अग्नि समूहका क्याबिनेट श्रेष्ठ र एनसेलकी विशाखा खड्का कुँवरसमक्ष आफ्ना आइडिया पिच गर्दै तत्काल फिडब्याक र मार्गदर्शन पाउनेछन्। यस पहलले नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावबाट विश्वव्यापी बजार र अमेरिकी साझेदारसँग जोडेर आर्थिक सम्बन्ध सुदृढ बनाउने उद्देश्य लिएको दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले बताएका छन्।

मेलामा सहभागी हुने क्रिएटर्स र युवा उद्यमीहरूले डिजिटल साक्षरता र सीप विकास, प्रविधि प्रयोग, मोनेटाइजेसन, ब्रान्ड बिल्डिङ, नेटवर्किङ र विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै दिगो व्यवसाय निर्माण गर्ने रणनीति, तत्काल मार्गदर्शन र प्रेरणा प्राप्त गर्ने विश्वास दूतावासले व्यक्त गरेको छ। विगतका संस्करणहरूमा सहभागीहरूले यस कार्यक्रमलाई प्रेरणादायी, उपयोगी र जीवनपरिवर्तनकारी अनुभव गरेको तथा धेरैले सीप विकास, नेटवर्किङ र नयाँ अवसरहरूको प्रशंसा गरेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार, यो मेला मुख्यतः डिजिटल क्रिएटर्स, इन्फ्लुएन्सरहरू, महत्वाकांक्षी तथा वर्तमान कन्टेन्ट सर्जक र युवा उद्यमीहरूलाई लक्षित गरिएको छ। मेला डिजिटल उद्यमशीलतामा केन्द्रित रहँदै सृजनशीलतालाई दीर्घकालीन पेशा बनाउन सहयोग पुर्याउने उद्देश्यमा केन्द्रित छ। मिथ्या सूचनाबारे प्रत्यक्ष रूपमा लक्षित नभए पनि विगतका संस्करणहरूले इमानदार सामग्री सिर्जना, गोपनीयता र मानसिक स्वास्थ्य जस्ता विषयमार्फत जिम्मेवार कन्टेन्ट निर्माणलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गरेको दूतावासले जनाएको छ।





