उद्धार तथा राहत तीव्र, एउटै जिल्लामा २ लाखसम्म पीडित


प्रकाशित मिति : असार २९, २०७६ आईतबार

अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो ।

तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराउनुभएको छ । यसैगरी सङ्घ, प्रदेशबाट आवश्यक थप सहयोग प्रभावित क्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भन्नुभयो, “राहतका लागि स्थानीय तहले केन्द्र र प्रदेशसँग समन्वय गरी काम अगाडि बढाएको छ, केन्द्रबाट त्रिपाल, डुङ्गा र उद्धारका लागि जनशक्ति तराई पठाइएको छ ।”

यातायात अवरुद्ध हुँदा तराई क्षेत्रको बाढी प्रभावितको उद्धार गर्न समस्या आइरहेको खनालले बताउनुभयो । तथापि जसरी सकिन्छ डुबान र बाढीको चपेटामा परेकालाई उद्धार गरी सुरक्षित राख्ने पहल भइरहेको उहाँले बताउनुभयो, “उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तिनै अङ्गका सुरक्षा निकायलाई एकमुष्ट परिचालन गरिएको छ ।”

नेपाली सेनाको चारवटा हेलिकप्टर आइतबार तराई पुगेका छन् । तिनले अत्यधिक विपद्मा परेका क्षेत्र, बस्ती र मानव समुदायको पहिचान र अवस्थिति पत्ता लगाउन सघाएको छ । साना साधन पुग्न नसकेका स्थानमा पुगेर उद्धारकर्मी पुर्याउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com