अमेरिका आउँदै प्रधानसेनापति


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन यही असार २३ गते संयुक्त राज्य अमेरिका जानुहुने भएको छ ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आम्र्ड फोर्सले असार २५ गते आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल सम्बन्धी बैठक र संयुक्त राष्ट्रसङ्घ सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन उहाँ चार सदस्यीय भ्रमण टोलीका साथ त्यसतर्फ जान लाग्नुभएको हो ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागका उच्च पदाधिकारी तथा दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा आगामी साउन १ गते स्वदेश फर्कनुहुनेछ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र सङ्घ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com