नेपालको संविधान झिंगा परेको चौरासी व्यञ्जनजस्तो : अशोक राई


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

नेपाल सरकारका पूर्वमन्त्री तथा समाजवादी पार्टीका बरिष्ठ नेता अशोक कुमार राईले नेपालको वर्तमान संविधान झिंगा परेको चौरासी व्यञ्जनजस्तो भएको बताउनुभएको छ । न्युयोर्कमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै राई भन्नुभयो – ‘नेपालको संविधानमा कैयन सकारात्मक कुराहरु छन् । तर त्यसमा भएका विभेदकारी व्यवस्थाले सकारात्मक कुराहरुलाई पनि अर्थहीन बनाइदिएको छ ।’

संविधान संसोधनमार्फत संविधानमा भएका विभेदकारी व्यवस्थाहरु हटाइनुपर्ने अशोक राईले बताउनुभयो । जातीय र लैगीक विभेद व्यवहारत हट्न नसकेको बताउँदै विभेदविहिन समाजको निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको भौगोलिक एकीकरण भएतापनि अहिलेसम्म भावनात्मक एकीकरण हुन नसकेको भन्दै त्यो जिम्मेबारी पूरा गर्ने दिशामा आफ्नो पार्टी लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गर्नुभयो तर यति धेरै बर्ष वित्दा पनि भावनात्मक एकीकरण हुन सकेको छैन । त्यो ऐतिहासिक जिम्मा पूरा गर्ने हाम्रो दायीत्व हो ।’

पहिचानका आधारमा प्रदेशहरुको विभाजनलाई नेपाललाई चिरा पारेको अर्थमा बुझ्न नहुने उहाँले बताउनुभयो । उहाँले सिंगो नेपाल काँक्रोजस्तो नभई सुन्तलाजस्तो भएकाले चिरा पारिएको नभई प्राकृतिक रुपमा नै सुन्तलाका फरक केस्राहरु जस्तो रहेको बताउनुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य सुशीला श्रेष्ठले सबैप्रकारका विभेद अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अमेरिकामा सिकेको ज्ञान र धन नेपालको विकाशमा लगाउन पनि अमेरिकामा बस्ने नेपालीहरुलाई अनुरोध गर्नुभयो । अमेरिकाको प्रणालीका सकारात्मक कुराहरुलाई नेपालमा लागु गर्न सकिएमा समृद्ध नेपालको सपना पूरा हुने उहाँले बताउनुभयो ।

न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको अन्तरकृया कार्यक्रमको आयोजना नेपाली समाज अमेरिकाले गरेको हो । नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत मन्तब्य दिएका थिए ।

कार्यक्रममा रक्तदाता अर्जुन मैनाली र खेलाडी विमला तामाङलाई सम्मान समेत गरिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com