पूर्वी, मध्य र पश्चिम नेपालमा एक्कासि बाढी आउन सक्ने पूर्वानुमान, सतर्क रहन आग्रह


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार  शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आउने २४ घण्टा देशको पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रवार एक बुलेटिन जारी गर्दै प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानका ससाना खोलामा उल्लेख्य बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ।

बुलेटिनमा भनिएको छ, “नदी तटीय क्षेत्रमा वर्षा भईराख्दा सतर्क रहौँ।”

महाशाखाका जलविद् विनोद पराजुलीका अनुसार नेपालका विभिन्न स्थानमा जडित वर्षा तथा नदीको बहाव मापन यन्त्रले तत्कालै पठाएका तथ्याङ्कको विश्लेषणका आधारमा बाढी पूर्वानुमान गरिएको हो।

तथ्याङ्क सङ्कलन गर्न अहिले विभिन्न स्थानमा ७३ वटा बहाव मापन यन्त्र र ८९ वटा स्थानमा वर्षा मापन केन्द्र उपलब्ध छन्।

पराजुलीले भने, “आउने दिनमा मनसुनी वर्षा हुने क्रम क्रमश: बढ्दै जाने देखिन्छ। त्यसैले तटीय क्षेत्रमा बसोबास गर्ने समुदायहरूलाई बाढी पूर्वानुमानको जानकारी तत्कालै दिने र सचेत गर्ने (सङ्घीय, प्रादेशिक र स्थानीय) संयन्त्रलाई अहिले सक्रिय अवस्थामा राखिएको छ।”

उनका अनुसार पानीको बहाव बढ्न सक्ने पूर्वी, मध्य र पश्चिम नेपालका साना मझौला र ठूला नदीको बहावको अवस्थाबारे चुरेदेखि दक्षिणतिरका तराई क्षेत्र र सीमावर्ती भारतीय राज्यका अधिकारीहरूलाई समेत सचेत गराइसकिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म “प्रदेश १, २ र ३ को चुरे र तराईबाट बहने केही साना नदीहरूमा पनीको बहाव तुलनात्मक रूपमा उल्लेख्य बढ्ने सम्भावना” छ।

शनिवार बिहानसम्मको अवधिमा “प्रदेश १ को इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, प्रदेश ३ को काभ्रेपलान्चोक, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, स्याङ्जा र प्रदेश ५ को रुकुम जिल्लाका केही ससाना खोलामा उल्लेख्य बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ।”

तर ती क्षेत्रका ठूला नदीमा ठूलो बाढीको सम्भावना नरहेको बताइएको छ।

महाशाखाका अनुसार आइतवार बिहानसम्म कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदी तथा कन्काई, कमला, वाग्मती, पश्चिम रापती, बबई लगायतमा मझौला नदीहरूमा पानीको बहाव केही बढे पनि त्यो सतर्कताको तहभन्दा तलै रहने छ।

आइतवारसम्म कुनैकुनै स्थानमा साना नदीरूमा आकस्मिक बाढीको जोखिम रहे पनि ठूला नदीमा बाढीको खतरा नरहेको महाशाखाले जनाएको छ।

तर महाशाखाका जलविद् विनोद पराजुली भन्छन्, “प्रदेश १, २, ३ र ५ का खासगरी चुरे र दक्षिणी क्षेत्रमा चुरे क्षेत्रबाट बहने नदीहरूमा एक्कासि बाढी आउन सक्ने सम्भावना छ। त्यसैले ती क्षेत्रमा पानी पर्दा नदी तटीय क्षेत्रमा नजानु नै उत्तम हुन्छ।”

आउने साताको अन्त्यतिरबाट देशमा वर्षा हुने क्रम अझै बढ्ने सम्भावना छ।

त्यतिबेलाको स्थिति हेरेर बाढी पूर्वानुमान महाशाखाले सचेतना र सतर्कताका लागि नयाँ बाढी पूर्वानुमान बुलेटिन जारी गर्नु पर्न सक्ने अवस्था आउने अनुमान गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com