अमेरिकामा हिमपात र हावाहुरी : १ लाख ५० हजारभन्दा बढी नागरिक विद्युत् सेवाबाट वञ्चित


प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

फोटो : एपी/रासस

अमेरिकाका विभिन्न क्षेत्रमा भीषण हिमपात, तीव्र हावाहुरी र बाढीका कारण जनजीवन प्रभावित भएको छ। १३७ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरीका कारण ओहायो, पेन्सिल्भेनिया र मिशिगनमा १ लाख ५० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन्।

राष्ट्रिय मौसम सेवाका अनुसार मिनेसोटा र विस्कन्सिनका केही क्षेत्रमा ३० सेन्टिमिटरभन्दा बढी हिमपात भइसकेको छ। मिनियापोलिस क्षेत्रमा अझै थप हिमपात हुने सम्भावनासँगै हिमआँधीको चेतावनी जारी गरिएको छ। मिनेसोटा, मिशिगन र विस्कन्सिन राज्यहरूमा सडकको अवस्था अत्यन्त जोखिमपूर्ण बनेको भन्दै स्थानीय यातायात अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।

विस्कन्सिनको यातायात विभागले सामाजिक सञ्जालमार्फत धेरै उत्तरी जिल्लाहरूमा सडक प्रयोग गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। विभागले नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।

मध्यपश्चिमी क्षेत्रका धेरै ठाउँमा भारी हिमपातका कारण सडक अवरुद्ध भएका छन् भने मैदानी क्षेत्रमा तीव्र हावाहुरीले क्षति पुर्‍याएको छ। उता हवाई राज्यका केही भागमा भने भीषण बाढी आएको छ। मौसमविद्हरूका अनुसार मध्य-दक्षिणी अमेरिकामा सुरु भएको मेघगर्जनसहितको आँधी सोमबारसम्म पूर्वी अमेरिकातर्फ फैलिने सम्भावना छ।

विशेषगरी वासिङ्टन डीसीसहित मध्य-अटलान्टिक क्षेत्र उच्च जोखिममा रहेको बताइएको छ, जहाँ शक्तिशाली हावाहुरी र सम्भावित टोर्नाडोको चेतावनी दिइएको छ। वरिष्ठ मौसमविद् टायलर रोयसका अनुसार लगातारको हिमपात, हावाहुरी र अन्य प्रतिकूल मौसम प्रणालीले अमेरिकाको पूर्वी आधा भागमा ठूलो प्रभाव पार्नेछ। उनले यसका कारण प्रमुख विमानस्थलहरूमा उडान सेवा प्रभावित हुने बताएका छन्।

खराब मौसमका कारण हवाई उडान सेवा पनि अस्तव्यस्त भएको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटअवेयर’का अनुसार आइतबार मिनियापोलिस–सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६०० भन्दा बढी र डेट्रोइटबाट हुने दर्जनौँ उडान रद्द गरिएका छन्।

मौसमविद्हरूका अनुसार विस्कन्सिनको केन्द्रीय भाग र मिशिगनको अपर पेनिन्सुलामा ६० सेन्टिमिटरभन्दा बढी हिमपात हुन सक्ने सम्भावना छ। शिकागो र मिलवाकी जस्ता सहरहरूमा कम हिमपात भए पनि सोमबारसम्म यात्रीहरूलाई समस्या हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले नेब्रास्काका अधिकांश क्षेत्रमा उच्च हावाहुरीको चेतावनी जारी गर्दै हिमपातसँगै ९७ किलोमिटर प्रतिघण्टासम्मको हावा चल्न सक्ने बताएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com