अमेरिकामा ५ लाख बढी घरमा विद्युत् अवरुद्ध, ३ करोड मानिस हिउँदे मौसमको प्रभावमा


प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार

सोमबार, मार्च १६, २०२६ का दिन मिचिगनको ग्रान्ड हेभन स्टेट पार्कस्थित भित्री र बाहिरी लाइटहाउसहरू भएको साउथ पियरमा ठोकिँदै गरेको एउटा ठूलो समुद्री छाल। (जोएल बिसेल/कालामाजु ग्याजेट मार्फत एपी)

वसन्त ऋतुको आगमन नजिकिँदै गर्दा अमेरिकाका विभिन्न राज्यहरूमा मौसमले उग्र रूप लिएको छ। भारी हिमपात, शक्तिशाली हावाहुरी र टोर्नाडोको चेतावनीका बीच लाखौँ मानिसहरू प्रभावित भएका छन्। सोमबार बिहानसम्मको तथ्यांक अनुसार, देशभरका ५ लाखभन्दा बढी ग्राहकहरू विद्युत् सेवाबाट वञ्चित भएका छन्। विशेष गरी ओहायो र पेन्सिलभेनियाका कतिपय क्षेत्रमा गत शुक्रबारदेखि नै अन्धकार छाएको छ।

मौसम पूर्वानुमान विभागका अनुसार हाल करिब ३ करोड मानिसहरू हिउँदे मौसमको प्रभावमामा रहेका छन्। मिसिगन र विस्कन्सिन लगायतका क्षेत्रमा ‘ब्लिजार्ड’ अर्थात् भयानक हिमआँधीको चेतावनी दिइएको छ। यता मिसिसिपी भ्यालीदेखि न्यु इङ्गल्याण्डसम्मका १२ करोड मानिसहरू तीव्र गतिको हावाहुरीको चपेटामा छन् भने न्यूयोर्कदेखि फ्लोरिडासम्मका ६ करोड नागरिकहरू टोर्नाडो र विनाशकारी आँधीको जोखिममा रहेका छन्।

विस्कन्सिनको मिलवाकी काउन्टीमा हिउँदे संकटकाल घोषणा गरिएको छ। त्यहाँका अधिकारीहरूले सडकमा यात्रा नगर्न कडा चेतावनी दिएका छन्। सडकहरूमा दर्जनौँ ठूला ट्रकहरू हिउँमा फसेका दृश्यहरू सार्वजनिक भएका छन् भने आयोवा र मिसिगन क्षेत्रमा थप ६ देखि १२ इन्चसम्म हिउँ पर्न सक्ने अनुमान गरिएको छ। हिमपातसँगै दृश्यात्मकता शून्य प्रायः भएकाले हवाई उडानहरू समेत प्रभावित भएका छन्। सोमबार मात्रै २,७०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्।

एट्लान्टा, सार्लोट र वासिङ्टन डलेस जस्ता मुख्य विमानस्थलहरूमा उडान रोक्का गरिएको थियो। दक्षिणी राज्य फ्लोरिडामा भारी वर्षा भइरहेको छ भने केही दिनअघिको न्यानो मौसमलाई चिर्दै आर्कटिक हावाका कारण तापक्रम शून्यभन्दा तल पुग्ने चेतावनी दिइएको छ। मिड-एट्लान्टिक क्षेत्रमा ७५ माइल प्रतिघण्टाभन्दा बढीको वेगमा हावा चल्ने र यसले थप क्षति पुर्‍याउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com