अमेरिका प्रवेश गर्न लागेका अवैध आप्रवासी मेक्सिकोमा पक्राउ


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

मेक्सिको सिटी, (सिन्ह्वा) मेक्सिकोको प्रहरीले संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुज राज्यबाट पक्राउ गरेको छ ।  टिएरा ब्लान्का नगरपालिकामा ट्रयाक्टरमा चढेर अन्यत्र गइरहेका आप्रवासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा ८६ जना वयस्क व्यक्ति र अरु बालबालिका रहेका छन् ।

पक्राउ परेकाहरुमा मध्य अमेरिकी राष्ट्रहरु होन्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवाका रहेका छन् । प्रहरीले ट्रयाक्टरका चालकलाई मानव तस्करीको आशंकामा गिरफ्तार गरेको छ ।
यस्तै अर्को कारबाहीमा टान्तोयुका नगरमा पनि १५ जना मध्य अमेरिकी नागरिक बसमा यात्रारत रहेको अवस्थामा पक्राउ परेका छन् । त्यसमा नौ जना बालबालिका रहेका थिए ।

विगत दुई हप्ताभित्र मेक्सिको सरकारले अमेरिका भित्रिन खोज्ने अवैध आप्रवासीमाथिको कारबाहीलाई तिब्र बनाएको छ । कुनै पनि किसिमका बैध कागजात बेगर नै मेक्सिको प्रवेश गर्ने आप्रवासीको संख्या विगत एक दशकमै आज सबैभन्दा बढी पाइएको अधिकारीहरुले बताएका छन् ।
मेक्सिको सरकारले आप्रवासीको खुलेआम प्रवेशलाई नियन्त्रण गर्न हजारौं सैनिक र प्रहरी परिचालन गरेको छ ।  मेक्सिको र संयुक्तराज्य अमेरिकाबीच गत जुन ७ मा भएको सम्झौता बमोजिम मेक्सिको सरकारले देशव्यापी अभियान संचालन गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com