आइसको देशनिकाला गर्ने निशानामा कस्ता र कति नेपाली ? (१८ बर्षको तथ्यांकसहित)


प्रकाशित मिति : असार ९, २०७६ सोमबार

अमेरिकामा यतिबेला अध्यागमनको छापाको सर्बत्र चर्चा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कागजपत्रविहिन आप्रवासीप्रति आक्रमक देखिएपछि आइसले अमेरिकाका १० शहरमा छापामार्ने विषय चर्चाको शिखरमा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलमको नियममा कडाई गर्नका लागि सांसदहरुलाई दुईसाताको समयसिमा दिएर आइसको छापालाई दुईसाता पछाडि सारिएको बताएका छन् । तर दुईसाताको अवधिमा एसाइललाई कडाई गर्ने नियम ल्याउन भने लगभग असम्भव रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक देशनिकालाको आदेश पाइसकेकाहरु आइसको पहिलो निशानामा पर्ने घोषणा गरेका छन् । जसमा नेपालीहरुको संख्या केही सयको हाराहारीमा मात्ररहेको छ । सन् २०१६ देखि अहिलेसम्म अमेरिकामा देशनिकालाको आदेश पाउने र अमेरिका नछाडेका नेपालीहरु झण्डै तीनसयको हाराहारीमा रहेको आइसको तथ्यांकले देखाएको छ ।

सन् २०१५ भन्दा अगाडि अमेरिकाबाट देशनिकालाको आदेश पाएका तर अमेरिका ननछाडेका नेपालीहरु झण्डै १५ सयको हाराहारीमा रहेका थिए । तर उनीहरुमध्ये अधिकांशलाई अहिले टीपीएसले समेटेको छ । टीपीएस समाप्त भएपछि भने उनीहरुमध्ये अधिकांशले अनिवार्यरुपमा अमेरिका छाड्नुपर्नेछ ।

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

आइसको निशानामा रहेका नेपाली ठूलो संख्यामा छन्

– रमेश श्रेष्ठ, कानुन व्यवसायी

आइसले विभिन्न स्थानमा छापा मारेर सयौंलाई नियन्त्रणमा लिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

अहिले वास्तवममा एकखालको आतंकको अवस्था छ । हामीले अध्यागमनको विषयमा कानुनी अभ्यास गरेको आधारमा नेपाली वा अरु आप्रवासीले त्रसित बन्दै फोन गर्न थालेका छन् । विभिन्न स्थानमा कागजपत्रविहिनहरु पक्राउ गरेका घटनापछि स्थीति उग्र नै बनेको छ । अब के होला भन्ने त्रासका साथ जिज्ञासाहरु आउने गरेका छन् । ग्रिनकार्ड प्राप्त भइसकेकाहरु पनि त्रसित छन् ।

इमिग्रेशन एजेण्ट छापामार्न आएमा के गर्ने ?

आइसले अपराधीलाई नियन्त्रणमा लिनका लागि वारेन्ट लिएर आउनसक्छन् । तर अध्यागमनका विषयमा गैरकानुनी रुपमा बसिरहेकाहरुका बारेमा सुचना पाएमा कुनै अदालतको कागजात वा वारेन्ट बोकेर आउछन् जस्तो लाग्दैन । उनीहरुले कागजपत्रविहिन भएको सुचना प्राप्त गरेमा जहाँ पनि सोधपुछ गर्न सक्छन् । कसैलाई खोज्न आउँदा अरु व्यक्ति पनि देखेमा इमिग्रेशन एजेण्टले उनीहरुका बारेमा पनि सोधपुछ गर्न सक्छ । एउटा व्यक्तिलाई खोज्न जाँदा कागजपत्रविहिन अरु देखिएमा उनीहरु सबैलाई सोध्न सक्छन् । उचित कागजात प्रस्तुत गर्न नसकेमा, कानुनी हैसियत देखाउन नसकेमा त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिन सक्छन् र लिने गरेका छन् ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको एजेण्ट आएमा यदि तपाईको केस अदालतमा चलिरहेको छ वा युएससीआईएसमा आवेदन दिनुभएको छ भने त्यसको कागजात देखाउनुपर्छ । आफू कानुनी रुपमा बसिरहेको प्रमाणित गर्ने कागजात सधै आफ्नो साथमा राख्नुपर्छ । गाडी चलाउँदा वा डेलिभरीमा जाँदा लाइसेन्स वा आईडीमात्र राखेर हुँदैन, इमिग्रेशन सम्बन्धि कागजातपनि साथै बोकेर हिड्नु उपयुक्त हुन्छ । त्यस्ता कागजात आफ्नो साथमा राखेर अधिकारीलाई व्याख्या गर्न सकेमा समस्या हुँदैन ।

दुईचार घण्टालाई नियन्त्रणमा लिएपनि आत्तिहाल्नु हुँदैन । आफ्ना कागजात देखाएर छुट्न सकिन्छ । तर डिपोर्टको अर्डर पाइसकेरपनि विना कुनै कागजात अमेरिकामा लुकेर बसेको छ भने उसले आफू डिपोर्ट हुनबाट बच्नका लागि केही गर्न सक्दैन ।

त्यस्तो नेपालीहरु कत्तिको छन् अमेरिकामा ?

देशनिकालाको आदेश पाइसकेका तर अमेरिकामा नै रहेका नेपालीहरु अमेरिकामा थुप्रै छन् । तर डिपोर्टको अन्तिम आदेश भइसकेको व्यक्ति अमेरिकामा लुकेर बसेका छन् भने उनीहरु निशानामा पर्छन् । नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गरिएकाले कतिपय त्यस्ता नेपालीहरु टीपीएसको संरक्षणमा पनि छन् ।

टीपीएस नलिएका तर अदालतमा मुद्दा हारेर डिपोर्टको आदेश पाएका नेपालीहरु अहिले अप्ठ्यारो अवस्थामा छन् । अदालतमा केस चलिरहेको बेलामा टीपीएसका लागि आवेदन दिनुपर्ने थियो । तर कतिपयले अदालतमा रहेको केसमा असर पर्न सक्ने शंका गरेर टीपीएसका लागि आवेदन दिएनन् । उनीहरुका लागि डिपोर्टको अन्तिम आदेश आइसकेको सन्दर्भमा अब मुस्किल हुन्छ । तर कोही व्यक्ति प्रारम्भिक रुपमा अदालतबाट मुद्दा हारेको छ तर अपिल गरिरहेको छ भने त्यस्ता व्यक्तिलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले नियन्त्रणमा लिएर डिपोर्ट गर्न मिल्दैन ।

आइसका एजेण्टहरुमा घरमा आएर कागजातको खोजी गर्दा आफूले अपिल गरेको कागजात देखाएमा एजेण्टहरुले जाँचबुझ गर्छन् । यदि केस चलिरहेको देखिएमा देशनिकालामा परिदैन ।

अपराध गरेको व्यक्तिलाई डिपोर्टको प्राथमिकतामा राखिएको छ । कस्ता कस्ता अपराध पर्छन् ?

आक्रमण, घातक वा जघन्य अपराध नभएपनि त्यस्ता व्यक्तिलाई निशानामा पार्ने गरिएको छ । सामान्य चोरीका घटनालाई पनि आपराधिक गतिविधिमा राखेर अध्यागमन एजेण्टले पक्राउ गरेर डिपोर्ट गर्नसक्छन् । कम उमेरको व्यक्तिलाई चुरोट वा मादक पदार्थ बेच्ने, बिना लाइसेन्स मसाज वा नेल्समा काम गर्ने जस्ता कुराहरु पनि अपराधमा नै पर्छन् । विना लाइसेन्स ब्युटिसियनका रुपमा काम गरेमा पनि पक्राउ गरेर अध्यमगन समस्यामा पर्नसक्ने सम्भावना छ । अहिलेको वातारण हेर्दा सानो र ठूलो अपराध छुट्याउने अवस्था छैन । ओबामा कार्यकालमा पनि सानो सानो अपराधमा नियन्त्रणमा लिएर डिपोर्ट गर्ने घटनाहरु भएका थिए । अहिलेको सरकारले अत्यन्तै कडा रवैया अपनाएकाले सानोतिनो अपराधका कारण पनि देशनिकालामा पर्ने खतरा रहन्छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले अपरेशन क्रस चेक संचालन गरिरहेको छ । कुनै व्यक्तिले अदालतबाट देशनिकालाको फैसला पाइसकेपछि उसलाई डिपोर्टको लागि बोलाइन्छ । त्यो अवस्थामा ब्यागेज सहित आउने भनेर पत्र पठाइन्थ्यो । पहिले ब्याग एण्ड ब्यागेजको पत्र नआउँदासम्म डिपोर्ट गर्न नपाइने तर्क थियो । तर त्यस्तो तर्क अदालतले अब अस्वीकार गरेको छ । कुनै व्यक्तिको मुद्दा सकिएर डिपोर्टको आदेश पाइसकेको सन्दर्भमा त्यस्तो आदेश पाएर पनि लुकेर बसेकाहरु आइसको प्राथमिकतामा परिरहेका छन् । अपरेशन क्रस चेक अन्तरगत उनीहरुलाई प्राथमिकतामा पारिएको छ । देशनिकालाको आदेश पाएपनि अध्यागमनले त्यो कार्यान्वयन गर्न सकेको थिएन । तर अब त्यस्तो आदेश पाएकाहरुलाई देशनिकालाको प्राथमिकतामा राखिएको छ ।

केहीसमय अगाडि लिइएको यो अन्तरवार्ता समय सान्दर्भिक रहेकाले पुन प्रकाशन गरिएको छ ।

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

आइसले पक्राउ गर्ने खतरामा हुनुहुन्छ ? यो कार्ड सधै बोकेर हिड्नुहोस्

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com