स्वस्थ शरीर र मानसिक सुखका लागि योग : उपराष्ट्रपति पुन


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आज यहाँ आयोजित योग शिविरको उद्घाटन गर्नुहुँदै उहाँले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने बताउनुभयो ।

योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको भन्दै उहाँले आज विश्वभरका मानिसहरु कुनै न कुनै रोगसँग जुधिरहेका छन् भन्नुभयो ।

हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पको खोजीमा रहेको उहाँको भनाइ थियो । आजको विश्वमा मानिसले ठूला–ठूला भौतिक सुखसयल प्राप्त गरेका भए पनि ती मानिसहरु आत्मिक शान्ति, मानसिक सुखको खोजीमा रहेको उहाँले बताउनुभयो ।



योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरुले भिन्नभिन्न कोणबाट तर्क गरेको भन्दै उहाँले भन्नुभयो, “विद्वानहरुले योगको शुरुआत शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको बास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन् ।”

उहाँले थप्नुभयो, “वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति गर्ने गरेको मानिन्छ ।”



योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानको रुपमा स्थापित भएको भन्दै उहाँले केही दिनअघिमात्रै एकविज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलीको जन्म नेपालको अर्घाखाँची जिल्लामा भएको प्रमाणसहित दावी गरेको जानकारी दिनुभयो । उपराष्ट्रपति पुनले आज संसारका १७५ राष्ट्रले स्वीकार गरेको योग नेपालबाटै फैलिएको बताउनुभयो ।

आज योग कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दू, बौद्ध र जैन संस्कृतिमा व्यवहारिक प्रयोग भइरहेको उहाँको भनाइ थियो ।

त्यसकारण योग नेपाली भूमिबाट विश्वभरका मानिसमा फैलिएको सन्देश भएको भन्दै उहाँले विश्वभरका मानिसलाई एकताको सूत्रमा बाँध्ने माध्यम पनि योग हो भन्नुभयो ।

नेपालबाट फैलिएर अन्तर्राष्ट्रिय जगत्ले स्वीकार गरेको र संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरुमा उहाँले शुभकामना पनि व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय योग दिवस समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्रविक्रम महतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, टङ्कनाथ पौडेल, रामप्रसाद वस्तीलगायतले बोल्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति पुन, उहाँकी धर्मपत्नी हस्तमालिनी पुनलगायत उपस्थित भएकाहरुले योग गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com