प्रतिनिधिसभामा काङ्ग्रेसले असंसदीय र अमर्यादित व्यवहार देखायो: प्रधानमन्त्री


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले असंसदीय र अमर्यादित व्यवहार देखाएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक अभ्यास र प्रणालीमा प्रधानमन्त्रीलाई आवश्यक लागेको र राष्ट्रिय महत्वका विषयमा संसद्लाई जानकारी गराउने प्रचलन छ । संसद् सरकारको दृष्टिकोण, मूल्य मान्यता सार्वजनिक गर्ने थलो हो । प्रतिपक्षले जुन व्यवहार देखायो, त्यो गलत छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीले मेरो कुरा नै ठीक भन्ने ‘बालहठ’ प्रस्तुत गर्ने काम प्रमुख प्रतिपक्षीबाट भएकामा आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीको सम्बोधन रोक्नका लागि सदन अवरुद्ध गर्ने, वेलमा नै गएर विरोध गर्ने विषय र सन्दर्भसमेत नभएको उहाँको भनाइ थियो । काङ्ग्रेसले हरेक क्षेत्रमा निहुँ खोजेको र विरोधका नाममा विरोध मात्रै गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनका सहयोद्धा, मेरा मित्र शेरबहादुर देउवाकै नेतृत्वमा वेल घेर्ने र संसद् अवरोध गर्ने काम भयो तर विरोध गर्नुपर्ने विषय केही थिएन ।”

प्रधानमन्त्रीले लोकतन्त्रमा सरकारको प्रमुखले आफ्नो धारणा राख्ने, त्यसपछि प्रमुख प्रतिपक्ष दल र संसद्मा रहेका अन्य दलले क्रमैसँग राख्ने प्रणालीको विरुद्धमा समेत काङ्ग्रेस प्रस्तुत भएको र त्यसले लोकतान्त्रिक मूल्य र मान्यताको समेत हित नगर्ने बताउनुभयो ।

काङ्ग्रेसको व्यवहारबाट आफू आश्चर्यचकित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हरेक विषयमा निहुँ खोज्ने र विरोध मात्रै गर्ने संस्कारसमेत राम्रो नभएको स्पष्ट पार्नुभयो ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com