१३ देशका लागि राजदूत नियुक्तिको तयारी


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ । सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो । माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ ।

‘अब चाँडै राजदूतहरूको नियुक्ति हुन्छ, यो साता निर्णय हुनेछ,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । लगत्तै शुक्रबार परराष्ट्रमन्त्री महत बेल्जियम र लक्जेम्वर्ग भ्रमणमा जाने तय भएको छ । गत १९ साउनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता भारतमा दीपकुमार उपाध्याय र चीनमा लीलामणि पौड्याल राजदूत नियुक्त भएका छन् ।

कांग्रेस ६, माओवादी ४, राप्रपा ३
राजनीतिक स्रोतका अनुसार कांग्रेस कोटाबाट ६, माओवादीबाट चार र राप्रपाबाट तीनजना राजदूत हुनेछन् । माओवादीले केपी ओली नेतृत्वको सरकारका पालामा सिफारिस गरेका चारजनालाई नै निरन्तरता दिने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रबाट अघिल्लो सरकारका पालामा डा. महेन्द्रबहादुर सिंह (कतार), लक्की शेर्पा (अस्ट्रेलिया), युवनाथ लम्साल (डेनमार्क), पदम सुन्दास (बहराइन) सिफारिस गरिएका थिए । यसपटक पनि यी देश दोहोरिन सक्ने सम्भावना रहेको बुझिएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले चाँडै राजदूत नियुक्तिका लागि प्रधानमन्त्री आफैँले अग्रसरता देखाइरहेको जानकारी दिए । ‘मलाई व्यक्तिबारे विस्तृतमा जानकारी छैन, तर प्रधानमन्त्रीले अग्रसरता देखाइरहनुभएको छ, सायद यसै साता टुंगिएला,’ अधिकारीले भने ।

कांग्रेसमा नेतापिच्छे नाम सिफारिस
कांग्रेस कोटामा जापान, दक्षिण कोरिया, श्रीलंका, इजरायल, साउदी अरब पर्ने लगभग निश्चित भएको छ । यसबाहेक कांग्रेसको कोटामा थप दुई देशका लागि राजदूत हुनेछन् । यसपटक कांग्रेसबाट डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेश भट्टराई, डा. विश्वम्भर प्याकुरेल, दिव्यमणि राजभण्डारीको नाम तय भएको छ ।

पोखरेल र भट्टराई क्रमशः कांग्रेस नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको सिफारिसमा परेको स्रोतले बतायो । सभापति देउवाको कोटाबाट राजभण्डारी र अर्थशास्त्री डा. प्याकुरेलको नाम तय भएको छ । बाँकी दुईजनाको अझै तय हुन बाँकी छ । यीमध्ये उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिको कोटाबाट एकजना सिफारिस गर्ने सभापति देउवाको तयारी छ ।

खाली रहेकामध्ये ओमन र बहराइनमा राजदूत पठाउने निर्णय तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले गरेको थियो । त्यहाँ पहिलोपटक राजदूत जाँदै छन् । राप्रपाको कोटाबाट नेता निरञ्जन थापा, प्रतिभा राणा र खगेन्द्र बस्नेत राजदूत हुने लगभग तय भएको पार्टी स्रोतले बतायो । यसैबीच, स्पेन वा पोर्चुगलमध्ये एउटा देशमा दूतावास राख्नेबारे छलफल भए पनि टुंगिन बाँकी रहेको परराष्ट्र स्रोतले बताएको छ । माओवादीले पोर्चुगल र कांग्रेसले स्पेनमा दूतावास खोल्नुपर्ने धारणा राख्दै आएका छन् । पर्शुराम काफ्ले/नयाँ पत्रिका,

राजदूत नियुक्त हुने देश

  • श्रीलंका
  • जापान
  • इजरायल
  • साउदी अरब
  • कतार
  • अस्ट्रेलिया
  •  डेनमार्क
  •  बहराइन
  • म्यानमार
  • बंगलादेश
  •  दक्षिण कोरिया
  •  युएई
  • ओमन
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com