अनि हाँसो गुञ्जिरह्यो …………


प्रकाशित मिति : असार २, २०७६ सोमबार

रामबहादुर थापा    / प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले पे्रक्षालय गुञ्जिन्छ ।

यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए । मज्जाले हाँसे । खुसी हुन सिके । “खुशीको अभिव्यक्ति हाँसो हो”, योगगुरु डा योगी विकासानन्दले भन्नुभयो, “हाँसोले समाज र परिवारलाई जोड्छ ।”

हाँस्ने मान्छेले दुनियाँलाई नियन्त्रण गर्ने उहाँको तर्क छ । “नहाँस्ने मान्छेलाई अरुले नियन्त्रणमा राख्छ”, योगगुरु विकासानन्दले भन्नुभयो । व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मानिसले हाँस्न बिर्सदै गएको उहाँको बुझाइ छ । “मानिसमात्र हाँस्ने प्राणी भएकाले हाँस्न बिर्से मानिस अन्य प्राणीसरह हुन्छ”, उहाँले भन्नुभयो ।

हाँस्दा शरीरमा एक प्रकारको ‘हर्मोन’ उत्पादन हुने र त्यसले तनाव कम गर्ने बताइन्छ । खुलेर हाँस्दा मानिसको पीडा र चिन्ता भाग्छ । फोक्सोमा ताजा हावा पुग्ने हुँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । हाँसोले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने योगगुरु विकासानन्दले बताउनुभयो । स्वस्थ र तनावमुक्त जीवन, व्यवसायमा सफलता, सकारात्मक ऊर्जा र सामाजिक सम्बन्ध विकासमा हाँसोले फाइदा पु¥याउने बताइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबारदेखि बागलुङ बजारमा शुरु भएको निःशुल्क योग शिविर शनिबार सकियो । सहभागी हाँस्दै बिदा भए । फर्किदाँ योगबारे धेरथोर ज्ञान र सीप लिएर गए । योग शिविरको चाँजोपाँचो मिलाएको हो, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले । मन्त्रालयको ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत चलेको शिविरमा ४०० भन्दा बढी सहभागी बने । शिविरमा १६ प्रकारका योगासनबारे योगगुरु विकासानन्दले प्रशिक्षण दिनुभयो । नसर्ने रोग र जीवनशैली व्यस्थापनबारेको प्रवचन पनि चल्यो ।

अनुहार होइन, चाल हेर्नुस्    
    
प्रवचनकै क्रममा योगगुरुले मानिस अनुहारले नभई चालले सुन्दर हुने उल्लेख गर्नुभयो । ठट्यौली शैलीमा उहाँले भन्नुभयो, “बिहेवारीको लागि ज्वाइँ खोज्दै हुनुहुन्छ भने उसको अनुहार होइन, शरीरको चाल हेर्नुस् ।”

शरीरको चाल कम भएको तर मनको चाल बढी हुने मानिस रोगी हुने उहाँको भनाइ छ । “स्वस्थ हुनलाई शरीर चलायमान र मन स्थिर हुनुपर्छ”, उहाँले भन्नुभयो, “सफल मानिसले आकाशतिर हेर्दै हिँड्छ, असफल र तनावयुक्त मानिसले भुइँतिर हेर्छ ।”

शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी रहेको योगगुरु विकासानन्दले बताउनुभयो । नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उहाँले त्यसबाट बच्न ध्यान र योग साधनामा जोड दिनुभयो । “योगले रोगबाट त बचाउँछ नै सँगै यसले मानिसमा शान्ति, सुख र प्रेमको अनुभूति दिलाउँछ”, उहाँले भन्नुभयो । शरीर, आत्मा र मस्तिष्क शुद्धीका लागि हरेकले योगसाधनलाई अपनाउनुपर्ने उहाँको सुझाव छ ।

स्वस्थ जीवनयापनमा सघाउन योग शिविर राखिएको मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका अधिकृत नवीनकिरण भुुुुसालले बताउनुभयो । “मधमेह, उच्च रक्तचापजस्ता रोगका कारण अल्पायुमै ज्यान गुमाउनेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “यस्ता रोगबाट बच्न योगसाधनाले ठूलो टेवा पु-याउँछ ।” ‘स्वस्थ जीवन’ अभियानमार्फत मानिसलाई स्वस्थ जीवनशैली, खानपान र व्यायमबारे प्रशिक्षित गर्ने गरिएको छ ।

बागलुङसँगै म्याग्दी र लमजुङमा योग शिविर सञ्चालन भइसकेको छ । नवलपुर र स्याङ्जामा शिविर राख्ने तयारी छ । मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको हो । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने उद्देश्य लिइएको छ । “नसर्ने रोगको औषधि नै योग हो”, योगी विकासानन्दले भन्नुभयो, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।”    संसारमा योगको उत्पत्ति पाँच हजार वर्षअघि भएको मानिन्छ । योगबारेको खोज सन् १९२० को शुरुआतमा भएको इतिहास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com