नारकीय जीवन बिताउँदै पूर्वलडाकुः जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन्


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् ।

उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् । त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन् ।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन् ।

‘आमा सधैँ भुँइमा नांगै सुत्नुहुन्छ । सुत्ने लुगा पनि छैन । जाडोमा पनि यस्तै हो ।’ आमालाई हेर्दै जीवले भने, ‘सानो छु केही गर्न सक्दिनँ । छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ ।’

निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव जिते। २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन् र सभामुख बनिन्। यसपाला वर्षमानले चुनाव जिते। तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन्।

चुनावताका भोट माग्न आउने सबैलाई सासु क्वारीले बुहारीको अवस्था देखाएकी थिइन्। ‘भोट माग्न आउनेलाई बुहारीको अवस्था देखाएकी थिएँ। सबैले हेरे मात्र, केही बोलेनन्। उहीले सँगै लडेकाहरु कहाँकहाँ पुगे होलान्। हाम्रो घरमा आजसम्म कोही आएका छैनन्। छोराबुहारीले गरिबको खुसीका लागि लड्ने हो आमा भन्थे। खै को गरिबलाई राम्रो भएहोला’, क्वारीले गुनासो गरिन्। यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com