पार्टीभित्र गुटउपगुट अन्त्य हुनुपर्नेमा नेताहरुको जोड


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाउनुभयो । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ थियो ।
अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभयो ।

उहाँले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का नेता प्रदीप गिरीले एकजुट भएर काङ्ग्रेसलाई अघि बढाउन आवश्यक छ भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com