राष्ट्रपतिद्वारा गणतन्त्र दिवसकाे शुभकामना : आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैलाई अनुरोध


प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई १४ औँ गणतन्त्र दिवसकाे शुभकामना व्यक्त गर्नुभएकाे छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्त्वपूर्ण घडी आएको बताउनुभएको छ ।

जारी सन्देशमा भनिएको छ-‘विश्वमा लाेकप्रिय तथा समृद्ध पद्धतिकाे रूपमा रहेकाे लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्राे शासन प्रणालीका रूपमा मात्र नभइ जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएकाे छ । याे सबैका निम्ति गाैरवकाे विषय हाे ।’

उहाँले देशमा सुशासन, द्रुततर आर्थिक, सामाजिक विकाससहित समृद्धि हासिल गर्न सबै नेपालीको उत्तरदायित्व भएको बताउनु भएको छ । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात् देशमा सुशासन, द्रुततर आर्थिक, सामाजिक विकाससहित समृद्धि हासिल हुन्छ भन्ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सबैको सामूहिक उत्तरदायित्व हो ।’ जारी सन्देशमा भनिएको छ ।

उहाँले संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बने पनि बताउनु भएको छ र मुलुकका समग्र विकास र समृद्धिका लागि आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपालीलाई अनुरोध पनि गर्नु भएको छ ।

जारी सन्देशमा भनिएकाे छ- ‘सामाजिक न्याय र समानतामा आधारित समाजबादउन्मूख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिभाराले मूर्तरूप लिनेछ भन्नेमा विश्वस्त छु । मुलुकका समग्र विकास र समृद्धिका लागि आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपाली दाजु भाइ दिदीबहिनीलाई अनुरोध हार्दिक आव्हान गर्दछु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com