निर्वाचन आफैमा प्रजातान्त्रिक प्रकृया हो भने यस प्रक्रियामा भाग लिने सबै प्रजातान्त्रिक हुन : राधाकृष्ण देउजा


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

सर्वप्रथम निर्वाचनको दौरान जे जस्ता जायज नाजायज क्रियाकलाप भए गरेको देखेको सुनिएको भएपनि अव प्रक्रिया इतिहासको अंश भएको छ भने परिणाम वर्तमानको सत्य । यस अर्थमा एनआरएनए अमेरिकाको निर्वाचित कार्यसमितिका पदाधिकारी देखि सम्पूर्ण सदस्यहरुलाइ बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । एनआरएनए अमेरिकालाई निर्वाचित साथीहरुले सम्पूर्ण अमेरिकावासी नेपालीहरुको भरोसाको संस्था बनाउनु हुनेछ भन्ने मेरो आशा सहितको शुभकामना छ ।

हामी प्रवासमा छौं, हामी सबैको छाता संगठनका रुपमा एनआरएनए अमेरिका हुनुपर्ने हो । तर बिडम्बना यो संस्था सिमित ठेकेदार शैलीका व्यक्ती वा समुहको हातमा रहेको छ भन्ने देखिन्छ । अमेरिकामा भएको नेपालीहरुको संख्या र एनआरएन अमेरिकाको सदस्य संख्या विचको भिन्नता हेर्ने हो भने एनआरएन सम्पूर्ण अमेरिकावासी नेपालीले आफ्नो ठान्ने सँस्था हुनै सकेको छैन भन्ने प्रष्ट नै छ । एनआरएनलाइ प्रवासमा रहेका नेपालीहरुको आशा र भरोसाको केन्द्र संस्था बनाउनु सम्पूर्णको जिम्मेवारी हो तर त्यो जिम्मेवारी वहनको पहलकदमी यथोचित हुन भने नसकेकोले अहिलेको अवस्था भएको हो ।

हामी सबै नेपालबाट आएका व्यक्तिहरु मध्य धेरैको इतिहासमा स्वदेश हुँदा कुनै दल विशेषसंग आवद्धता हुँदो हो, त्यो आवद्धताको अवशेष कहीं कतै अहिले पनि देखिँदो होला तर त्यो त्यो स्वदेशी (अझै भनौ मातृभुमिको) राजनीतिक आवद्धताले यहाँ हाम्रो कर्मलाइ निर्देशित गर्न आवश्यक छैन । त्यसको मतलव राजनीतिका बारेमा टिका टिप्पणी नै गर्नै हुन्न भन्ने होइन् । तर यहाँ के कम्यूनिष्ट को कांग्रेस या अन्य पार्टीको सदस्य ? त्यसमाथि मेरो जाने बुझेसम्म, मेरो सामान्य ज्ञानले भन्छ, बिदेशमा कुनै पनि दलको संगठन खोल्न कुनै पार्टीको बिधानले सिधै दिदैन । अझै अहिले नेपालमा स्पष्ट बहुमतको सरकार संचालन गरिरहेको नेकपाको पार्टी बिधानले त विदेशमा संगठन खोल्ने कल्पना गरको पनि छैन । अनि देश, विदेश बुझेका बिद्धानहरुको पार्टी भनिने नेपाली कांग्रेसको पार्टीको बिधानले पनि सायद त्यो नभनेको हुनुपर्छ ।

त्यसैले प्रवासमा हामी यो पार्टी या त्यो पार्टी भन्ने धारणा बदल्न जरुरी छ । अहिले एनआरएनए अमेरिकामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुमा प्रजातान्त्रिक धारका व्यक्तिहरुको हावी भए भन्ने पनि यदाकदा सुनिएको छ त्यस्ता भनाईहरुमा मेरो गम्भीर असहमति छ । निर्वाचन आफैमा प्रजातान्त्रिक प्रकृया हो, यो प्रकृयामा सामेल भएका सबै प्रजातान्त्रिक व्यक्तिहरु हुन् । मतदानको माध्यमबाट चुन्ने र चुनिने प्रक्रियामा सामेल कोहि चाहीं प्रजातन्त्रवादी अर्को गैर प्रजातान्त्रिक ? यस्तो हल्का टिप्पणी र बुझाइ राख्नु हुदैन । अझै कतिपयले त यहाँ काँग्रेस र कम्युनिष्ट भन्दै कित्ताकाट गर्न खोजेको पनि देख्नु सुन्नु पर्यो ? तर जहाँ उल्लेखित नामका दलहरुले शाखा खोल्न पाउदैनन, खोल्दैनन भने पछि प्रवासमा कांग्रेस र कम्यूनिष्ट भनेर दिवा सपनामा रमाउने, वौद्धिक दिवालियापन देखाउनुको के अर्थ हुन्छ र ? भलै आफ्नो राजनीतिक आस्थालाइ मनमा राख्ने, आवद्धतालाइ सम्पर्कको तहमा राख्ने र भोलि नेपाली भएर नेपाल फर्कन सक्दा मिल्दा त्यतै बहादुरी देखाउन सक्ने कुरो अर्कै भयो ।

अब कुरा गरौं यहाँको सम्पन्न निर्वाचनका बारेमा । यो निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले छातिमा हात राखेर भन्नुस तपाई जुन हिसावले निर्वाचित हुनुभयो के तपाईहरु स्वयम खुसी हुनुहुन्छ ? तपाई आफैले आफैलाई झुठ बोलिरहनु भएको छ । तपाईलाई म आम मतदाताले विश्वास गरेर यो निर्वाचित भएको हुँ जस्तो लाग्छ ? यो प्रश्न खडा अधिकांशसंग उत्तर हुनेछैन । निर्वाचन मुख्यत सेटिङमै भैरहेको छ, केही मान्छेले भोट बनाउँछन्, त्यही बनाएको भोटको आधारमा निर्वाचितहरुको माइबाप बन्ने गर्छन किनकि मुख्य रुपमा आफै बन्ने चलन छैन् । यहाँ रहेको नेपालीहरुको १० प्रतिशत पनि समावेश हुन नसकेको परिपक्षलाई समात्ने हो भने एनआरएन सबैको साझा संस्था बन्न सकिरहेको छैन भन्ने स्पष्ट नै छ । यदी सबैको संस्था बन्न सकेको भए यस्तो स्थिति बन्ने थिएन् । केही ठेकेदारले भोट बैंक बनाएका छन्, उनिहरुले नै यो संस्थालाई कब्जा गरिरहेका छन् भन्ने आरोप लाग्ने थिएन ।

अहिले सम्म जो जो निर्वाचित भए ति मध्य धेरै चाहिं त्यही ठेकेदारको आर्शिवादमा निर्वाचित भएका व्यक्तिहरु हुन भन्दा धेरैले पत्याउने अवस्था छ । जजस्ले आर्शिवाद पाए या त्यो समुहको नजिक हुन सके त्यही व्यक्तिले निर्वाचन आफ्नो पक्षमा पार्न सकेको छन भन्दा अन्यथा हुने अवस्था छैन । आम मतदाताको भोटबाट सर्वप्रिय व्यक्ति छनौट भएका होइनन् ।

निर्वाचनका बखत बिभिन्न समुहमा जानु या समुह बनाउनु गलत होइन् । यो संसारमा चल्ने नियम हो । अध्यक्षका प्रत्यासी र बिजयी अध्यक्षले जुन समुह बनाउनु भयो त्यो निर्वाचनका बेला गरिने एउटा अभ्यासको निरन्तरता हो । जसले जे भनेपनि वहाँहरु कुनै पनि पार्टीको उम्मेदवार होइन् । यसर्थ हामी कांग्रेस या कम्यूनिष्ट भनेर सपनामा नरमाउन साथीहरुलाई आग्रह गर्दछु ।

यो संस्था पुरै गलत भन्ने मेरो तर्क हुँदै होइन्, प्रकृया गतल भयो । अब निर्वाचित भएका साथीहरुले यो संस्थालाई आम मान्छेको संस्था बनाउनुस, स्वतस्फुर्त सदस्य बन्ने संस्था बनाउनुस, अमेरिकामा रहेका सबै मानिस नभएपनि कम्तीमा ५० प्रतिशत भएपनि सदस्य बन्न सक्ने संस्था बनाउनुस, कुनै भोट बैंकले छानेर होइन प्रत्येक व्यक्तिले भोट हालेर जित्ने परिपाटी बनानुस अनि मात्रै तपाई सबैको नेता बन्न सक्नु हुन्छ । प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको हक र अधिकारका लागि म व्यक्तिगत रुपमा र म आवद्ध संस्थाबाट संस्थागत रुपमा सँधै लागि रहने प्रण गर्दै, आगामी दिनमा सबैको साझा संस्था बनाउनका लागि गैरआवासिय नेपाली संघ राष्ट्रिय समिति लगायत बिभिन्न राज्यमा रहेका च्याप्टरलाई म बिनम्रता पूर्वक आग्रह गर्दछु । अनुचित र असंगतिपूर्ण माध्यमबाट निर्वाचित भएर एनआरएन अमेरिकाको नेतृत्वमा पुग्ने सम्भवनानै नहुने वैज्ञानिक र विश्वसनीय आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारीवोध गर्न नवनिर्मित कार्यसमितिलाइ मेरो अनुरोध छ !

प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजासंग एनआरएनए अमेरिकामा प्रजातान्त्रिक व्यक्ति हावी भन्ने बारेमा गरिएको कुराकानीमा आधारित ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com