बम विस्फाेटनमा मृत्यु भएका प्रज्वललाई डाक्टर बनाउने धाेकाे थियाे..


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें। डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ।’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको।

आइतबार बेलुका काठमाडौंको घट्टेकुलाेस्थित कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो। उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ। ‘गरिबीको मार खेपिरहेको छु। भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें। अब कसरी कहाँबाट तिर्न हो ! आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए। ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु। सानो काम पनि गर्छु भन्थ्यो। पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ। अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो। काठमाडौं म जान सक्दिनँ।’ याे खबर आजकाे नागरिक दैनिकमा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com