Follow @khasokhasmag

सामुहिक बलात्कारमा परेकी महिलाले १७ वर्षपछि पाइन् न्याय


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

सन् २००२ मा १९ वर्षे पाँच महिनाकी गर्भवती बिल्किस बानो पूर्वी गुजरातस्थित रान्धिकापुर गाउँमा रहेको आफ्नो घरबाट भागिन् ।  उनको गाउँमा साम्प्रदायिक दंगा सुरु भएको थियो त्यसकारण ज्यान जोगाउन उनी थुप्रै आफन्तसँगै भागेकी थिइन् ।

कट्टरपन्थी हिन्दुवादी समूहले पूरै गाउँमा बितन्डा मच्चाएपछि त्यहाँका मुस्लिम समुदाय समूह बनाउँदै भागिरहेका थिए ।

बानोको परिवारले एउटा सानो गाउँमा शरण लिएका थिए जहाँ उनकी कजन बहिनी सामिमलाई प्रसव व्यथा सुरु भयो र स्थानीय सुडेनीको सहयोगमा छोरी जन्माइन् ।

त्यसको दुई दिनपछि सीमा पार गर्ने क्रममा तरबार र हँसिया बोकेका आक्रमणकारी दुईवटा सेतो गाडीमा आएर चिच्याए, ‘यिनीहरु मुस्लिम हुन्, यिनलाई मार, काट ।’

त्यहाँ बानोका १३ परिवारलाई एउटै चिहान बनाइयो जसमा उनकी तीन वर्षे छोरी र सामिमकी दुई दिनकी छोरीको समेत हत्या गरियो । बानोलाई सामूहिक बलात्कार गरियो । उनले मरेको नाटक गरेपछि बाँच्न सफल भइन् ।

रेलमा गरिएको आगलागीमा ६० हिन्दु तीर्थयात्री जिउँदै जलेपछि गुजरात दंगा सुरु भएको थियो । उक्त दंगामा कम्तीमा दुई हजारको हत्या गरियो जसमध्ये मुस्लिमको संख्या अत्यधिक थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यतिबेला गुजरातका मुख्यमन्त्री थिए । गुजरात दंगालाई शान्त पार्न महत्वपूर्ण भूमिका निभाएपछि उनी राजनीतिमा छाए ।

गत महिना १७ वर्षको संघर्षपछि सर्वोच्च अदालतले गुजरात सरकारले बानोलाई जागिर र उनले रोजेको ठाउँमा आवासको सुविधासहित ७१ हजार डलर क्षतीपूर्ती प्रदान गर्न आदेश दियो ।

भारतमा बलात्कार पीडितलाई दिएको यो अहिलेसम्मकै ठूलो क्षतीपूर्ती हो ।

सन् २०१७ मा उच्च न्यायलयले ११ जनालाई बलात्कार र हत्याको दोषी ठहर गर्दै जन्मकैदको सजायँ तोकेको छ ।

‘म सर्वोच्च अदालतको आदेशमा निकै खुसी छु,’ ३६ वर्षे बानोले अल जजिरालाई भनिन् । ‘मलाई न्याय दिलाउनका लागि मेरा थुप्रै साथी, महिला अधिकारकर्मीको सहयोग छ ।’

यसमा उनका श्रीमान् याकुब रासेलले पनि निकै सहयोग गरेको उनले बताइन् ।

स्थानीय अधिकारीले उनको उजुरी लिन नमानेपछि उनी राष्ट्रिय मानवअधिकार आयोग पुगिन् । आयोगले नै उनको मुद्दा सर्वोच्च अदालतसम्म पुर्यायो ।

प्रत्यक्षदर्शीलाई धम्की दिइयो । बानोले पनि ज्यान मार्ने धम्की पाएपछि विभिन्न एनजीओको सहयोगमा उनको परिवार एक ठाउँबाट अर्को ठाउँ सरिरहे ।

‘राज्यले अपराधीको संरक्षण गर्न आफ्नो शक्ति र अधिकार  प्रयोग गर्यो । आखिर राज्यले किन यस्तो गर्यो ?,’ बानोलाई सन् २००३ देखि परामर्श दिइरहेकी शोभा गुप्ताले भनिन् ।

‘हाम्रो लागि निकै कठिन परिस्थिती थियो,’ बानोले भनिन्, ‘हामीले अत्यधिक दुःख झेल्यौं ।’

तर संघर्षविराम गर्ने सोच उनको दिमागमा कहिले पनि नआएको बताइन् ।

‘उनीहरुले मेरो परिवारको हत्या गरे । मेरी छोरी मारे । उनीहरुले मारेका आफन्तको शवलाई सफा र अन्त्येष्टिसमेत गर्न दिएनन् । म यो कसरी बिर्सन सक्छु ।’

बानो ग्रामिण गुजरातमा हुर्किएकी थिइन् । उनको बुवाले परिवार पाल्न दुध बेच्ने गर्दथे । उनले सबैलाई चिन्थिन् ।

उनका अनुसार उक्त घटनाअघि कहिले पनि भेदभावको सामना गर्नुपरेको थिएन ।

‘म अझै पनि बुझ्न सक्दिनँ कि उनीहरुले हाम्रो आफन्तको किन यस्तो विभत्स हत्या गरे ?’ उनले भनिन् ।

दोषी प्रमाणित ११ व्यक्ति उनका छिमेकी थिए । उनीहरुसँगै बानो हुर्किएकी थिइन् र उनीहरुलाई नामैले चिन्थिन् ।

‘यो घटनापछि मैले के बुझेँ भने पुरुषहरु सोच्नै नसकिने गरी हिंस्रक जनावर पनि हुनसक्छन्,’ उनले भनिन् । ‘बिडम्बनाको कुरा के छ भने त्यस्ता मानिसहरुले आफ्नो घृणा पोख्नका लागि महिलालाई नै प्रयोग गर्छन् ।’

गत अप्रिल २४ तारिखमा बानो क्यामराको अघि उभिएर मसी लगाइएको चोर औंला देखाइन् । उनले आम निर्वाचनमा भोट हालेकी थिइन् । पत्रकारले प्रश्न सोध्दा आफ्नो भोट देशको एकता र प्रजातन्त्रमा समर्पित बताएकी थिइन् ।

‘जब आवश्यकता पर्छ तब हामीले संघर्ष गर्नैपर्छ,’ बानोले अल जजिरालाई भनिन् ।

निर्णयपछि नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बानोले आफ्ना श्रीमान् र दंगापछि जन्मिएकी छोरीसहित यौनहिंसाबाट बचेकाहरुलाई आर्थिक सहयोग गर्ने बताएकी छिन् । ‘उनीहरुले मैले जस्तै लडाईं लड्नुपर्छ । उनीहरु यसका लागि साहसी हुनैपर्छ । यदि छैनन् भने कसरी साहस बटुल्ने, म सिकाउँछु,’ उनले भनिन् ।

RATOPATI

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com