कसरी गर्नु सक्छन् एक जना व्यक्ति ले नाै जनाको हत्या रहस्यमय
प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार
काठमाडौं। पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा एक जनामात्र संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्याकाण्डको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरलाई उद्धृत गर्दै पहिलोपोस्ट अनलाइनले लेखेको समाचारमा अहिलेसम्म एक जनाको मात्र सलग्नता खुलेको उल्लेख छ । यद्यपि यसको पुष्टिका लागि डिएसपी कुँवरलाई डिसीनेपालले फोन सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन उठेन ।

‘सामूहिक भन्ने देखिँदैन । एक जनाले नै गरेको स्थानीयको बयान र अन्य जानकारीबाट खुलेको छ । थप अनुसन्धान गरिरहेका छौै,’ डिएसपी कुँवरको भनाइ उद्धृत गर्दै समाचारमा उल्लेख छ । चारजनाको परिवारमा तीन जना पुरुष र एक महिलाको काटेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अर्को घटनामा एकजना बालिका भागेर बाँच्न सफल भएकी छन् । घटनास्थलबाट भाग्न सफल भएकी बालिकाले एकजना नकाबधारी मान्छे मात्र देखेको बताएको प्रहरीले जनाएको छ । बालिकाकै बयानको आधारमा एक जना मात्र संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको हो ।
ती नकाबधारी को हुन् भन्ने पहिचान खुलेको छैन । नकाबधारी भएकोले पनि पहिचानमा गाह्रो भएको छ । ती आक्रमणकारीले ढोका खोल्नेबित्तिकै सिधै आक्रमण गरेको बताइएको छ । घाइते बालिकालाई अहिले उपचारको लागि दमक पठाइसकिएको छ । प्रहरीले घटना रिसिइवीको कारणले पनि हुनसक्ने भएकाले आफन्तसँग पनि सोधपुछ गरिरहेको छ ।
घटनास्थलबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । ती युवकको शव झुण्डिएको अवस्थामा भेटिएको हो । प्रहरीले घटनामा उनको संलग्नता भएको आशंकामा दुवै घटनालाई जोडेर अनुसन्धान अगाडि बढाएको छ । तर, ती युवकको घटनामा संलग्नता थियो वा थिएन भन्ने पुष्टि भएको छैन । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो । उनैले हत्याकाण्ड गरेर आत्महत्या गरेको हो कि भन्ने आशंका गरिएको छ ।
५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ






