नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेना ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारवाही गर्ने गरेको बताउनुहुन्छ । “दैनिक ५० देखि ८० मोटरसाइकल तथा स्कुटर कारवाही गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ । नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर रु एक हजार जरिवना गर्दै आएको छ ।

नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु ९७ लाख २५ हजार राजश्वसमेत सङ्कलन गरेको छ । नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त कारवाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने बताउनुहुन्छ । “सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ,” उहाँ भन्नुहुन्छ । यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौँ उपत्यकामा नौ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com