नाम भन्न डराउनेहरु आत्मनिर्भर बनेर विभेदविरुद्ध औंला उठाउँदै, छोरीहरु स्कुलतिर


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

– अरुणा रायमाझी, चितवनबाट फर्केर 

‘१४ वर्षमा विहे भयो । १५ वर्षमा पहिलो सन्तान जन्मियो ! अहिले चार छोरी र एक छोरा छन् । मैले लेख्न पढ्न जान्दिन तर छोरीहरुलाई धेरै पढाउने इच्छा छ ।’ दलित महिला उत्थान संघ नेपालले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै चितवन रत्ननगर नगरपालिकाकी सीता सुनारले यी कुरा भनिरहँदा कार्यक्रममा सहभागी अन्य महिलाहरुले निकै बेरसम्म ताली बजाई रहेँ । सायद सीताको जिवनसँग आफ्नो जिवन कथा मिलेको हुनुपर्छ ।

नेतृत्व विकास, शिप मुलक तालिम र लैंगिक विभेद विरुद्ध सचेतना मुलक तालिम पाएकी सीताले एड्वानलाई पटक—पटक धन्यवाद दिँदै भनिन् ‘पहिला छोराछोरीबीच म आफैमा भेदभावको भावना आउँथ्यो, चारवटा छोरी हुँदा पनि छोरा चाहिन्छ भनेर, छोरा जन्माएँ । जुनबेला मैले लैंगिक विभेद के को ? हाम्रो अधिकार के हो बुझेकै थिईन । जब एड्वानबाट लैंगिक विभेदका बारेमा तालिम पाएँ बल्ल मेरा आँखा खुले । मेरो तेस्रो आँखा खोलिदिने एड्वान हो ।’

दुई/ चार जना मानिसको अगाडि नाम भन्न डराउने सीता अहिले समाजमा हुने विभेद विरुद्ध औंला उठाउन सक्ने भएकी छिन् ।

सीतालाई लैंगिक विभेदका विरुद्ध बोल्न सिकाउने मध्येकी एक हुन् बिन्दु परियार थापा । बिन्दु एड्वानकी महासचिव हुन् । सीता मञ्चमा उभिएर निर्धक्कसँग बोलेको सुनेपछि, आफू खुशीसँगै भावुक भएको बिन्दुले सुनाईन् । उनले भनिन् ‘सीता दिदीको कुराले खुशी साथै भावुक बनायो । एड्वानबाट लैंगिक विभेद विरुद्धको,तालिम दिन चितवन आएका बेला उहाँसँगै धेरै दिदी बहिनीहरुले आफ्नो नामनै भन्न अप्ठ्यारो मान्नु भएको थियो । तर,आज यसरी कुरा राख्न सक्ने हुनुभएको देख्दा निकै हर्सित छु । सबै कुरा अवसर नै हो ।’

लैंगिक विभेद अन्त्य गर्नका लागि शिक्षा सबैभन्दा ठूलो हतियार भएको राम्रोसँग बुझेकी सीताले भनिन् ‘दुई छोरीलाई १२ कक्षा पढाएर विहे गरिदिएँ,त्यो त केही नहुँदो रहेनछ । अहिले पछुताएकी छु, तर बाँकी दुई छोरीलाई सकेजति पढाउने इच्छा छ । छोरीहरु आफ्नो खुट्टामा उभिने भएपछि मात्र विवाहबारे सोच्ने हो । मैले धेरै जानेकी छैन । तर, तालिमबाट जति जानें, त्यसले मेरो जिवनमा मात्र होइन, मेरो छोरीहरुको जिवनमा पनि ठूलो परिवर्तन ल्याउने छ ।’

सीताले यसो भनिरहँदा, दर्शक दिर्घामा बसेकी दलित महिला उत्थान संघ नेपालकी संस्थापक अध्यक्ष डाक्टर विष्णुमाया परियार निकै खुशी थिइन् ।

आफ्नो खुशी हामीसँग साट्दै भनिन ‘मैले चाहेको यहीँ हो । लैंगिक विभेदबाट महिला मुक्त हुन, शिक्षासँगै आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी छ । यो संस्था स्थापना गर्दा सोचेको थिएन,धेरै केही गर्नसक्छु भन्ने तर, अहिले आएर मेरो सपना पुरा भैरहेको आँखा अगाडि देखिरहेको छु ।’

समुह निर्माण र तालिमपछि आफूलाई मात्र होइन, अन्य महिलामाथि कसैले हिंसा गर्दछ भन्ने सजिलै प्रतिकार गर्नसक्ने सार्वजनिक सुनुवाईमा सहभागी महिलाहरुले बताए ।
‘काम गर्न जानेका थियौँ तर, त्यसलाई कसरी व्यावसायीकरण गर्ने र आर्थिक आर्जन गर्ने भन्ने पटकै थाहा थिएन, एड्वानले,त्यो कुरा पनि सिकाएको छ,’ च्याउखेती गरिरहेकी सयपत्री महिला समुहकी गीता सुनुवारले बेलिबिस्तार लगाईन् ।

गीताले सार्वजनिक कार्यक्रममा आफूले च्याउखेतीबाट पहिलो पटक २३ हजार नाफा गरेको सुनाउँदै भनिन् ‘च्याउखेतीबाट फाईदा हुँदो रहेछ, बेच्नको लागि बजार जानै परेन, घरमै किन्न ब्यापारीहरु आए,तर हामीलाई च्याउको लागि पराल काट्ने मेसिन चहिएको छ, हातले काट्दा निकै गाह्रो हुँदोरहेछ ।’ रत्ननगर नगरपालिका १० की गीता एड्वानको ‘दलित तथा सिमान्तकृत महिलाहरुको लागि सुधारिएको जिविकोपार्जन’ कार्यक्रम अन्तरगत च्याउ उत्पादनमा लागेकी छन् ।

उनले १४ हजार रुपैयाको लागतमा च्याउ उत्पादन सुरु गरेको बताईन् । ‘हामीले उत्पादन गरेको च्याउ बजार लैजानु परेन, उत्पादन गरेको ठाउँबाटै विक्रि भयो । च्याउबाट बचत भएको पैसाले एक कठ्ठा जमिन भाडामा लिएर, बोडी खेती गर्यौं, त्यसबाट अहिले सात हजारको विक्रि भैसक्यो । त्यसमा फर्सीको मुन्टा पनि छ ।’ गीताले सुनाईन् ।
उनीहरुलाई एड्वानले उद्यमशिलताको विकास, व्यावसाय गर्दा ध्यान दिनु पर्ने कुरा, व्यावस्थापन, आय—व्याय कसरी राख्ने तथा व्यावसायीमा हुनुपर्ने गुणका लगायतका विषयमा निकै मेहनत गरेर प्रतिक्षित गरेको छ ।

महिलाहरुको प्रगति र उनीहरुमा आएको परिवर्तनबाट उत्साहित बनेकी संस्थापक अध्यक्ष बिष्णुमायाले आफ्नै पैसाले केही महिनापछि पराल काट्ने मेसिन किनिदिने बताउँदै भनिन् ‘म अमेरिका पुगेपछि धेरै घण्टा काम गरेर, पराल काट्ने मेसिन किन्ने पैसा पठाउँछु, चिन्ता नलिनु । तपाईहरुले मेहनत भने गर्नुपर्छ ।’ उनले अगाडि थपिन् ‘मेरो सपना भनेको महिलाहरुलाई आर्थिक र शिक्षाको क्षेत्रमा बलियो बनाउनु हो । जुन अहिले भैरहेको छ ।’

राज्यबाट पछाडि पारिएका गरिव, सिमान्तकृत र दलित महिलालाई आर्थिक, समाजिक, राजनीतिक र बालबालिकाको शिक्षाको क्षेत्रमा कामगर्दै आएको एड्वानले अहिले चितवनका दुई वटा नगरपारिकाका ६ वटा वडामा ‘दलित तथा सिमान्तकृत महिलाहरुको लागि सुधारिएको जिविको पार्जन परियोजना’ सञ्चालनमा ल्याएको छ ।
यो परियोजना चितवनमा तीन वर्षसम्म सञ्चालन हुने संस्थाका कार्यकारी निर्देशक कमलबाबु परियारले जानकारी दिए। उनका अनुसार यो कार्यक्रम सुरु भएको एकवर्ष मात्र भयो । यो चितवनमा दुईवर्षसम्म चल्नेछ ।

यो परियोजना अन्तरगत शिपमुलक तालिम लिएपछि ९० जना महिलाले ६ वटा वडामा सामुहिक र व्यक्तिगत रुपमा उत्पादन सुरु गरिसकेका छन् । संस्थाले उनीहरुलाई व्यवसाय सञ्चालनको लागि केही ऋण समेत उपलब्ध गराउँदै आएको छ ।

भरतपुर नगरपालिका १७ र १८ वडाका महिला समुहले नयाँ तरिकाले भूईकटर खेती सुरु गरेका छन् । उनीहरुले करिव १० कठ्ठा बराबरको जग्गामा भूईकटर लगाएका छन् । भूइकटर उत्पादनमा लागेकी अनिता थापाले भनिन् ‘पहिलो पटक लगाउँदा केही विरुवा मरे, अरु राम्रो हुँदै आएका छन् । पहिलो वर्ष भएकाले आम्दानी छैन, अर्को वर्षबाट मात्र हाम्रो आम्दानी हुन्छ । यो खेती अरु जस्तो होइन । समय लाग्छ । अरु सबै ठीक छ, हामीलाई सिंचाईको समस्या भयो ।’ उनको कुरा सुनेपछि संस्थाले पानीको समस्या समाधानका लागि पैसा जम्मा गर्न च्यारिटी शो गर्ने भएको छ ।

यसैगरी महिलाहरुले आधुनिक तरिकाले अदुवा र बेसारको खेती पनि गरिरहेका छन् भने ३० जना महिला दिदी बहिनीहरु सिलाई कटाई तालिममा छन् ।

यतिमात्र होइन, एड्वानले चितवनमा विपन्न र सिमान्तकृत समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष पम्फा परियारले बताईन् ।

एड्वानले गरिव, सिमान्तकृत र दलित विद्यार्थीका लागि चितवनमा मात्र १३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । उनीहरुले १२ कक्षासम्म छात्रवृत्ति पाउने छन् ।
एड्वानले दिएको छात्रवृत्तिबाट चितवनकी रञ्जिता सुनार पञ्चकन्यामा अहिले कक्षा १२ मा म्यानेजमेन्ट अध्यायन गर्दैछिन् । तपाईले छात्रवृत्ति नपाएको भए पढ्न सक्ने अवस्था थियो कि थिएन ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘घरको आर्थिक अवस्था कमजोर छ । पढ्न त सम्भव नै थिएन ।’

उनले कक्षा १२ सम्मको लागि मात्र छात्रवृत्ति पाएकी रहेछन् । १२ पासपछि काम गर्दै अगाडि पढ्ने सुनाईन् ।

एड्वानले उपलब्ध गराएको छात्रवृत्तिबाट रचना वि.क पनि १२ कक्षामा म्यानेजमेन्ट अध्यायन गर्दैछिन् । १२ पासपछि अध्यायनलाई निरन्तता दिने बताउँदै रचनाले भनिन्, ‘अगाडिको पढाईको लागि पनि सहयोग पाए हुने थियो जस्तो लागेको छ । यो छात्रवृत्ति १२ सम्मलाई मात्र हो । काम पाए त ठिकै छ , नत्र के गर्ने होला भन्ने चिन्ता लागेको छ ।’

यसैगरी प्रतिसा भने अहिले एजुकेशन पढ्दैन छन् । उनी पनि एड्वानको सहयोगबाट विद्यालय गएकी छिन् । उनी पनि कक्षा १२ मा अध्यायन गर्दैछन् । उनको उद्देश्य शिक्षक बन्ने हो । तर, यसअघिको पढाई कसरी पुरा गर्ने होला भन्नेमा चिन्तित छिन् ।

महिला समुह निर्माणपछि, आर्थिक रुपमा आत्मनिर्भर बन्न शिप मुलक तालिम, व्यावसाय सञ्चालनको लागि ऋण र छोराछोरीहरु पढाउन छात्रवृत्तिको व्यावस्था जस्तो काम एड्वानले गर्दै आएको छ । यस्तो काम समाज रुपान्तरण र समाज विकासका लागि राम्रो उदारणको रुपमा लिन सकिन्छ ।

आमाहरु समुहमा अबद्ध भएपछि, छोरीहरुलाई पढाईमा मात्र होइन, बिभेदविरुद्ध बोल्न सक्ने शिक्षा समेत मिलेको छ । उनीहरुमा आएको परिवर्तनले समाजममा सकारात्मक सन्देश दिएको संस्थाकी अध्यक्ष पम्फा परियारको दाबी छ ।

आमाहरुले लैंगिक विभेदका बारेमा थाहा पाएपछि छोरीहरुले पढ्ने मौका मात्र हेइन, स्वतन्त्र भएर आफ्नो जिवन साथी चुन्ने वातावरण पनि बनेको छ । यो शिक्षालाई सामान्य अर्थमा लिनुहुँदैन । यो त महिला समानताको सुनौलो मौका पनि हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com