हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइेका घरमा अग्निप्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेछ ।

आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताउनुहुन्छ ।

नगरपालिकामा १४ हजार भन्दा बढी परिवारको बसोवास रहेको छ । नगरपालिकाले आज घरधनीलाई सार्वजनिक सूचना गरी अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोध समेत गरेको छ ।

झापाका १५ स्थानीय तहमध्ये अग्निप्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा वारुणयन्त्र छैन । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com