१२ देशका नागरिकलाई नेपालमा सहज भिसा प्रतिबन्ध


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

किशोर पन्थी

भिसाका सन्दर्भमा विश्वका मुलुकहरुका आआफ्नै नियमहरु छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछि कार्यकारी आदेश जारी गरेर विश्वका सातवटा मुलुकलाई भिसामा प्रतिबन्ध लगाएका छन् । तर नेपालले भने विश्वका १२ वटा मुलुकहरुलाई नेपालमा भिसा प्रतिबन्ध लगाएको छ । विश्वका प्राय सबैदेशका नागरिकलाई नेपालले तुरुन्तै भिसा उपलब्ध गराउने भएपनि १२ वटा देशलाई भने नेपालले कालोसुचीमा राखेको छ ।
विश्वमा यस्ता केही मुलुकहरु पनि छन्, जुन देशका नागरिकहरुले नेपालको भिसा पाउनु नेपालीले अमेरिकाको भिसा पाउनुभन्दा कैयौं गुणा कठिन हुन्छ । किनभने विश्वका १२ वटा देशलाई त नेपालले कालो सुचीमा नै राखेको छ । ति देशका नागरिकहरुले नेपालको भिसा पाउनु प्राय असम्भव छ ।

केवल कुटनीतिक भ्रमणका लागि उच्च स्तरका सरकारी अधिकारीहरुले मात्र नेपालको भिसा पाउछन्, त्यो पनि लामो अनुसन्धानपछि मात्रै । सुरुमा नेपालले केही मुलुकहरुलाई मात्र कालोसुचीमा राखेको थियो । त्यसमा अधिकांश मुलुकहरु अफ्रिकन मुलुकहरु थिए । तर अहिले सार्क मुलुककै सदस्य रहेको दक्षिण एसियाकै देश अफगानिस्तानलाई मात्र होइन सन् २०१६ मा सिरियालाई पनि कालो सुचीमा राखेपछि कालो सुचीमा रहेका देशहरुको संख्या १२ पुगेको छ ।

न्युयोर्कको नेपाली कन्सुलेटका अधिकारी कृष्ण सुवेदी भन्छन् –“हालै सिरियालाई पनि त्यस्तो सुचीमा राखिएको छ । त्यो बाहेक दुईदेशबीच सम्बन्ध नभएका कारण हामीले ताइवानका नागरिकका लागि पनि भिसा जारी गर्दैनौं ।”

अफ्रिकी देशहरु बाहेक इराक र प्यालेष्टाइन जस्ता मध्यपूर्वी देशहरुलाई समेत नेपालले कालो सुचीमा राखेको छ । अहिलेसम्म कालो सुचीमा राखिएका मुलुकहरु नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया हुन् । यी देशका नागरिकहरुका लागि कन्सुलेट कार्यालयले सामान्यता भिसा जारी गर्दैन । यदि भिसा जारी गर्नै पर्ने भएमा पासपोर्टको कपी राखेर सम्बन्धित नियोगमा आवेदन दिएमा त्यो डकुमेन्ट परराष्ट्र मन्त्रालयमा पठाउने र परराष्ट्रले गृहमन्त्रालयलाई पठाएपछि गृहबाट क्लियरेन्स आएमा भिसा जारी गर्ने सुवेदीले जानकारी दिए । तर यसको लागि एकदेखि तीनमहिनासम्म समेत लाग्नसक्ने जनाइएको छ ।

यी बाहेकका अन्य देशका नागरिकलाई भने एकघण्टाभित्र भिसा जारी सुवेदीले जानकारी दिएका छन् । तर १२ देशका नागरिकहरु विना भिसा नेपालमा गएभने विमानस्थलमा नै नियन्त्रणमा लिएर डिपोर्ट गरिन्छ । त्यो देशका नागरिकहरु नेपालमा शरणार्थी बन्न र गैरकानुनी रुपमा काम गर्न जाने गरेको पाइएपछि सहज भिसामा प्रतिबन्ध लगाइएको हो ।


किन राखियो कालोसुचीमा ?

विश्वका १२ वटा देशहरुलाई नेपालको गृह मन्त्रालयले कालो सुचीमा राखेको हो । गृहमन्त्रालयले निर्णय गरेपछि परराष्ट्रमन्त्रालय मार्फत विभिन्न देशमा रहेका कन्सुलेट कार्यालयहरुलाई कालो सुचीमा रहेका देशका नागरिकहरुलाई भिसा उपलब्ध नगराउन निर्देशन दिएको थियो ।

कैयन अफ्रिकी देशका नागरिकहरु नेपालमा गएर उतै लुकेर बस्ने गरेपछि त्यस्ता देशलाई कालोसुचीमा राखिएको हो । त्यो बाहेक ति देशका नागरिकहरु नेपालमा गएर लागु औषधको कारोबारमा संलग्न भएको पाइएपछि ति देशका नागरिकहरुलाई भिसामा रोक लगाइएको गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ । अफगानिस्तानलाई भने आतंकवादी समुहका मान्छेको घुसपैठ रोक्नका लागि कालोसुचीमा राखिएको हो ।

कालो सुचीमा परेका देशका कुनै साधारण राहदानी वाहक नागरिक नेपाल जानै पर्ने भएमा भने त्यो व्यक्तिको बारेमा गृहमन्त्रालयले गम्भीर अनुसन्धान गर्छ । गृह मन्त्रालयले बनाएको व्यक्तिको सुचीमा त्यस्तो व्यक्ति नपरेको खण्डमा मात्र त्यस्ता व्यक्तिलाई भिसा दिइन्छ । कालो सुचीमा परेका देशका साधारण राहदानी वाहकका लागि विभिन्न देशमा रहेका नेपाली नियोगले भिसा दिन मिल्दैन । गृहमन्त्रालयले अनुसन्धान गरेर स्वीकृती जनाएपछि नेपालकै परराष्ट्र मन्त्रालयले भिसा उपलब्ध गराउछ ।

हुन त नेपालमा खुल्ला सिमाना भएका कारण भारतबाट पनि अरु देशका नागरिक छिर्न सजिलो छ । तर नेपालमा जान रोक लगाइएका १२ देशका नागरिकले यदि भारतको खुल्ला सिमानाको दूरुपयोग गरेर नेपाल छिरेको खण्डमा त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरिन्छ । त्यसरी जवर्जस्ती विना भिसा छिर्नेहरुले जेलको सजाय समेत भोगिरहेका छन्, नेपालमा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com