मिडिया काउन्सिल विधेयक सच्चाउन माग गर्दै पत्रकार महासंघले प्रदर्शन गर्ने
प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार
स्वतन्त्र प्रेसमाथि प्रतिबन्ध लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्चाउन माग गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित छ । सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले मिडिया नियमनका लागि संघीय संसदमा दर्ता गर्नुभएकाे ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले विभिन्न संघर्षका कार्यक्रमहरू गर्दै आएकाे छ ।
पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज ( जेठ ३ गते शुक्रबार) महांसघले काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्दै छ । प्रदर्शनका लागि सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई आह्वान गरेकाे छ । काठमाडाैंमा आज मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन गर्ने महासंघले जनाएकाे छ ।
महासंघले विधेयक प्रेस स्वतन्त्रता विरोधी छ भनेर सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा सांसदहरुलाई ध्यानाकर्षण गराउनेदेखि सञ्चारमाध्यमका सम्पादकहरु, विज्ञहरु तथा महासंघका पूर्व पदाधिकारीसँग छलफल गर्ने गरेकाे थियाे । यस्तै राजनीतिक दलका शीर्ष नेतृत्वलाई ध्यानाकर्षण, विधेयकको विरुद्धमा कालो पट्टी बाँधेर काम समेत गरेका थिए ।
पहिलो चरण्को विरोधका कार्यक्रम गर्दा पनि सरकारले विधेयक नसच्चाए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि महासंघले दिएको छ ।






