निजामती कर्मचारीका सन्तानकाे छात्रवृत्तिमा ५१ करोड वितरण


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

सरकारले निजामती कर्मचारीका सन्ततिलाई विभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरूप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ । छात्रवृत्ति कार्यक्रमको सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय २१ जना सन्ततिका लागि ५० करोड ७७ लाख २९ हजार रुपैयाँ वितरण गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहनस्वरूप तिनका छोराछोरीका लागि आर्थिक वर्ष ०६६/६७ देखि विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले निजामती कर्मचारीको प्रतिस्पर्धात्मक क्षमता र मनोबल उच्च राख्न सबै कर्मचारीलाई क्षमता विकास तथा सेवासुविधामा समान अवसर उपलब्ध गराउने नीतिअनुरूप सन्तति छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । आव ०७३/७४ को छात्रवृत्ति कार्यक्रमका लागि छिट्टै सार्वजनिक सूचना प्रकाशन गर्ने गृहकार्य थालिएको उनले जानकारी दिए ।

सुरुमा तीन, हाल १० विषयमा छात्रवृत्ति
मन्त्रालयले आव ०६६/६७ मा कर्मचारीका मेधावी सन्ततिका लागि एमबिबिएस, बिडिएस र इन्जिनियरिङ विषयमा छात्रवृत्ति प्रदान गरेको थियो । तर, अहिले कृषिविज्ञान, पशुविज्ञान, आयुर्वेद, वनविज्ञान, व्यवस्थापन, नर्सिङ र विज्ञान विषय गरी १० वटा विषयमा छात्रवृत्ति दिन थालिएको छ । मन्त्रालय छात्रवृत्ति शाखाका नायव सुब्बा विजय महर्जनका अनुसार एसएलसी र प्लस टुलाई आधार मानी दुवै कक्षामा उत्कृष्ट नम्बर ल्याएकाहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ ।

कुन आवमा कति रकम वितरण ?
सुरुको वर्षमा इन्जियरिङ विषयमा दुई सय २३ जना, एमबिबिएसमा एक सय ९६ जना र बिडिएसमा १० जना गरी चार सय २९ जना विद्यार्थीलाई तीन करोड ३९ लाख ५६ हजार रुपैयाँ वितरण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो आव ०७२/७३ मा सबै विषयमा गरी चार सय विद्यार्थीलाई नौ करोड ७० लाख ४३ हजार रुपैयाँ वितरण गरिएको छ । आव ०७१/७२ मा चार सय विद्यार्थीकै लागि नौ करोड ९५ लाख, आव ०७०/७१ मा चार सय विद्यार्थीका लागि नौ करोड ९५ लाख ८० हजार, आव ०६९/७० मा तीन सय ९२ विद्यार्थीका लागि नौ करोड ८२ लाख ३० हजार रुपैयाँ वितरण गरिएको थियो । यस्तै, आव ०६८/६९ मा दुई सयजनाका लागि पाँच करोड २८ लाख रुपैयाँ र आव ०६७/६८ मा दुई सय विद्यार्थीकै लागि दुई करोड ६६ लाख रुपैयाँ वितरण गरिएको थियो ।

दुईदेखि पाँच लाखसम्म छात्रवृत्ति रकम उपलब्ध
छात्रवृत्ति पाउने कर्मचारीका सन्ततिले दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म छात्रवृत्ति पाउँदै आएका छन् । छात्रवृत्तिका लागि हाल समावेशीसमेत गरी कोटा निर्धारण गरिएको छ । जसअनुसार सबैभन्दा बढी इन्जिनियरिङ विषयमा एक सय ५४ वटा, एमबिबिएसमा ८३, व्यवस्थापन संकायमा ७३, विज्ञान संकायमा ३५ जना, नर्सिङमा १९ जना, बिडिएसमा २१ जना, वनविज्ञानमा सातजना, कृषिविज्ञानमा चारवटा कोटा, पशुविज्ञान र आयुर्वेदका लागि दुई–दुईवटा कोटा निर्धारण गरिएको छ ।

धेरै छात्रवृत्ति इन्जिनियरिङ अध्ययन गर्नेलाई
हालसम्म सबैभन्दा बढी छात्रवृत्ति इन्जिनियरिङ पढ्ने एक हजार ३७ विद्यार्थीले पाएका छन् । यस्तै, एमबिबिएस ६ सय ५२, व्यवस्थापन संकाय दुई सय ९२, बिडिएस एक सय ६, विज्ञान एक सय ३२, वनविज्ञान ३४, पशुविज्ञान २० र कृषि विज्ञान अध्ययन गर्ने २८ जनाले छात्रवृत्ति पाइसकेका छन् । नयाँ पत्रिका/ सागर पण्डित

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com