मनोरञ्जन क्षेत्रमा बालबालिकाको मागलाई निरुत्साहित गर्न ‘अठार मुनि’ अभियान सुरु


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

मनोरञ्जन क्षेत्र (डान्सबार, मसाज पार्लर, दोहोरी तथा क्याविन रेस्टुरेन्ट आदि) मा बालबालिकाको माग/प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यसहित इक्वेल एक्सेस नेपालले फ्रिडम फन्डको सहयोगमा सामाजिक र व्यवहार परिवर्तनको लागि ६ महिने ‘‘अठार मुनि’’ अभियान शुरु गरेको छ । फ्रिडम फन्डले २०१८ मा गरेको एक अध्धयन अनुसार काठमाडौँमा सैंयौंको संख्यामा १८ बर्ष भन्दा कम उमेरका बालिकाहरु मनोरन्जन क्षेत्रमा काम गर्छन् । त्यस मध्ये ६०% भन्दा बढी बालिकाहरु यौन शोषणको ठुलो जोखिममा रहेका छन् ।

नेपालको मनोरञ्जन क्षेत्रमा बालबालिकाको यौन शोषण रोक्नुपर्ने पर्ने अत्यावश्यक अवस्थालाई मध्यनजर गरी यो अभियान शुरु गरिएको हो ।

मनोरञ्जन क्षेत्रमा १८ वर्ष मुनिका बालबालिकासँग गरिने यौन क्रियाकलापलाई निरुत्साहित गर्न यो अभियानले विभिन्न मल्टिमिडिया तथा सामाजिक संजालको माध्यमबाट जनचेतना फैलाउने उद्देश्य राखेको छ । इक्वेल एक्सेस इन्टरनेसनलकी नेपाल प्रतिनिधि विनीता श्रेष्ठका अनुसार ‘काठमाडौंका डान्सबार, मसाज पार्लर, दोहोरी तथा क्याविन रेस्टुरेन्ट आदि मा हुने बालबालिकाको यौन शोषण रोक्नका लागि सबैलाई यस्ता क्रियाकलाप विरुद्ध आवाज उठाउन आवहान गर्नु यस अभियानको उद्देश्य हो ।’

यो अभियानले नेपाल प्रहरी, समाजका प्रभावशाली व्यक्तित्व, सेलिब्रेटी साथै मनोरञ्जन क्षेत्रमा बालबालिकाको हकअधिकार सुनिश्चित गर्न काम गरिरहेका अन्य सरोकारवालासँग सहकार्य गर्नेछ ।

अन्य जानकारीको लागि अभियानको फेसबुक पेज हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com