जसले हाँसीहाँसी आहुति दिए : सहिद-एक सम्झना


प्रकाशित मिति : माघ १६, २०७३ आईतबार

पाली समाजलाई प्रजातन्त्रको बाटोमा हिँडाउन देशका चार सपूतले प्राण आहुति गरेको आज ७६ वर्ष पूरा भएको छ । यी साढे सात दशकमा नेपाली प्रजातन्त्र विभिन्न बाटो हुँदै गणतन्त्रात्मक स्वरूपसम्म आइपुगेको छ । राणाशाहीको निरंकुशता, समाजको बेमेल चरित्र र देशकै विपन्नताले आजित युवाहरूले बडो साहसका साथ थालेको त्यो महान् यात्रामा हामीले के कति योगदान थप्यौं, समयले मूल्यांकन गर्ने नै छ । सहिदका सपनाहरू पूरा गर्ने बाटोमा थप सहिद भएकाहरूको योगदानको कति कदर गर्‍यौं, त्यो पनि समयकै जिम्मा । सामाजिक बनोटमा असमानता र विभेद कायम नै रहेको भने साँचो नै हो । विपन्नता र पराधीनता किन हाम्रो नियति बनिरह्यो, प्रश्न गर्नुपर्ने आजको खाँचो हो । सहिद दिवसको सन्दर्भमा भने ती महान् सहिदसँगै कालकोठरीमा थुनिएर सर्वस्व कैद एवं १८ वर्ष कैद सजाय सुनाइएका युगकवि सिद्धिचरण श्रेष्ठको निबन्ध ।

हाम्रा अमर सहिदः एक सम्झना

-सिद्धिचरण श्रेष्ठ आँखामा सुनौला फ्रेमवाला चस्मा, न होचो न अग्लो, मझौला कद, गोरो स्वस्थ शरीर, दौरा सुरुवालमा कोट, कहिलेकाहीँ सेरमानी पनि लाउने, एउटा ठकुरी युवक त्यस बेलाका कम्यान्डर इन चिफ श्री रुद्रशमशेरका छोराहरूसँग बराबर बसउठ गर्दै हिँडेका देखिन्थे । काठमाडौंमा उनी श्री रुद्रशमशेरकै घरको क्याम्पमा बस्थे । उनलाई देखेर मानिसहरू सहजै विचार गर्थे- ‘कुनै राणा परिवारसँग बिहेको सम्बन्ध जोडेर बस्ने उनी कुनै ठकुरी बाबुसाहेब होलान् । बिहे नभइसकेको भए केही दिन महिनापछि हुने होला ।’ त्यसताका त्यस्तै थियो, पश्चिमका लायक तथा चोखा ठकुरीहरूलाई ल्याईल्याई राणाहरू आफ्नो जुँवाइ पार्थे र त्यतैतिरका ठिटीहरूलाई डोला पारेर बिहे गर्थे । उनी १९६१ सालमा बैतडीमा जन्मी हिन्दुस्थानको अल्मोडामा प्राथमिक शिक्षादीक्षा प्राप्त गरी बनारसबाट म्याट्रिक पास गरेका श्री दशरथ चन्द हुन् । उनले केही समयसम्म त्रिचन्द्र कलेजमा पनि इन्टरमिडियटको अध्ययन गरे । त्यसबेलाको स्तरअनुसार यस्तो लायक युवकलाई जुवाईं बनाउन सोच्नु राणाहरूको निम्ति स्वाभाविक पनि हो । तर उनले बिहे गरेनन्, मातृभूमिको बलिवेदीमा जीवन होम्ने उनले भाकल गरेका थिए । शायद अद्र्धमुच्र्छित नेपाली समाजमा अर्की एउटी विधवाको दुःख र सुस्केरा किन थपेर जाऊँ भनी सोचेका थिए । १९९० सालको माघ महिनामा गएको ठूलो भूकम्पले धेरैको घर-दरबार भत्कियो । केही खुल्ला ठाउँमा पाल टाँगेर अथवा हलुका किसिमको छाप्रो बनाएर धेरैले गुज्रान गर्नुपरेको थियो । हाल रोयल होटेल भएको श्री रुद्रशमशेरको महल पनि भत्केर चर्केर बस्न नहुने भएको थियो । त्यसैको क्याम्पाभित्र माथि भने झैं पाल टाँगेर तथा छाप्रो बनाएर श्री रुद्रशमशेरका परिवारहरू बसेका थिए । महलका मैयाँसाहेबहरू पनि महल बाहिर क्याम्पमा बस्न आउनु परेको थियो । साथीहरूको भनाइ छ, त्यसै दरबारकी एउटी कुनै मैयाँले श्री दशरथ चन्दलाई साह्रै नै चाहेकी थिइन् । श्री दशरथ चन्द सहिद भएपछि त्यही विरहमा पाल्पामा उक्त मैयाँको प्राण गएको कुरा पनि कसैकसैले गर्छन् । ठूलो आपत्ले मानिसलाई दिने दुःख र वेदनाको साथसाथै निर्भयता र जोस पनि एउटा हो । अवश्य नै काठमाडौंमा भएको ज्यानको खति, घरधनको हिनामिना र मान्छेहरूको बिचल्लीले गर्दा युवकहरूको हृदयमा देशसेवाको केही चेतना छर्न सकेको थियो । यसै बेलातिर श्री रुद्रशमशेरले श्री धर्मभक्तलाई कलकत्ताबाट नेपालमा ल्याई आफूकहाँ नोकरी दिइराखेका थिए । यहीँ श्री धर्मभक्त र श्री दशरथ चन्दको मिलन भयो । यसको केही महिनापछि नै राणाहरूमा भएको ए, बी, सीको चोखीनीतिले श्री रुद्रशमशेर पाल्पा धपिए । श्री धर्मभक्त श्री ५ महाराजाधिराज त्रिभुवनकहाँ व्यायाम शिक्षक खरिदार भएर काम गर्न थाले । श्री दशरथ चन्द चाहिँ पकनाजोलमा आफ्नी सानी आमाकहाँ गएर बसेका थिए । दुईजना क्रान्तिकारी साथीहरूको आपसमा भेट हुन्थ्यो । देशको त्यो अप्ठ्यारो र दुःखपूर्ण परिस्थिति र एक पिँजराजस्तो मात्र भएको दरबारका विषयमा दुवै साथी बसेर कुरा गर्थे । दुनियाँको जीवनलाई किञ्चित पनि नगनी मात्तिएका राणाहरूले गरेको अत्याचार चरम सीमा पुगिरहेको थियो । त्यो साह्रै नै डरलाग्दो समय थियो । भित्रको अलिकति पनि चेतना जागेको मानिस एक क्षण पनि टिक्न नसक्ने भयावह समय थियो । एकदुईजना चेतनाशील युवकहरू भित्रभित्रै कुँडिन्थे, तड्पिन्थे, तर विवश थिए । चारैतिरबाट उनीहरूको मुखमा बुझो हाल्न आउँथे, हात खुट्टा बाँधिएको जस्तो थियो । देश र जनताको यो दुर्दशाले राजा तथा राजपरिवारलाई भइरहेको असह्य पीडा तथा देशलाई मुक्त गर्ने उहाँहरूको केही प्रयासको चर्चा पनि श्री धर्मभक्तमार्फत श्री दशरथ चन्दले बराबर पाउँथे । युवकहरूको एउटा बलियो संगठन गरेर राणाको निरंकुशता हटाउने उपाय सोच्न लागे । यसै सिलसिलामा डाक्टर बोलाउन भनी बाहिर लगेको मोटरको खाली सिटभित्र लुकेर श्री दशरथ चन्द अर्को क्रान्तिकारी राजा तथा युवराज वर्तमान श्री ५ महाराजाधिराजको दर्शन गर्न जान्थे । यसरी श्री धर्मभक्त र श्री दशरथ चन्दको प्रयासले अर्को क्रान्तिकारी साथी श्री टंकप्रसाद आचार्यको अध्यक्षतामा नेपाल प्रजा परिषद्को गठन भएको हो । श्री ५ महाराजाधिराजलाई राजमहलमा बन्दीजस्तो तुल्याई जनताको मौलिक अधिकारलाई कसरी राणाहरूले निरंकुशतापूर्वक हडपेको छ भन्ने कुराको भन्डाफोर गर्दै प्रजापरिषद्ले पर्चाबाजी गरेको थियो । १९९५ सालतिरको कुरा हो श्री दशरथ चन्द, श्री धर्मभक्तको डेरा ओमबहाल जोर गणेशस्थानको अगाडि बसेका थिए । एक दिन मेरा कविताहरू सुनिरहेका थिए । ध्यानपूर्वक एक घन्टा जति कविताहरू सुनी उनले भने, ‘कलमको तागत तरबारको भन्दा धेरै ठूलो छ । तपाईं कलमको धनी हुनुहुन्छ । देशको यस्तो स्थितिमा के झर्झर् फरफर कवितामात्र लेख्नुहुन्छ ? अन्याय अत्याचारको विरोधमा युवकहरू जुर्मुराएर उठ्ने कविता पनि लेख्नोस्, सुतेका जनतालाई उठाउनोस् ।’ साँच्चै यो मेरो वीर साथीको आह्वान थियो । सुषुप्त नेपालीको गर्जना थियो । त्यसैताका मैले लेखेँ- ‘चम्क युवक, अब चम्कन चम्क, छाती फुलाई लम्कन लम्क । अघि सर, अघि सर साहस जोड कातरपन ली प्राण नछोड, पाइन बलको अब देखाउ, वैरीलाई मार भगाउ ।’ उनीसित भएको कुराको निचोडलाई यसो भन्न सकिन्छ-सुतेको नेपाली जातिलाई उठाई सोझो बाटोमा लाउन उनी छट्पटाइरहन्छन् । मातृभूमिको पीडाले उनको छाती छियाछिया छ । अत्याचारीहरूमाथि बदला तथा प्रतिहिंसाको भाव उनको नसा नसामा उम्लिरहन्छ । राजाको मनमा लुकिरहेको उकुसमुकुसलाई जनतासम्म पुर्‍याई देशको शोषण बढार्न खोज्ने एउटा मूल स्रोत उनी नै हुन् । सबैसित नरम तथा मीठो बोल्ने, तर अत्याचार र अन्यायदेखि भित्रैदेखि आगो बल्ने क्रान्तिकारी युवक श्री दशरथ चन्द हुन् । नेपाल आमाका समस्त व्यथा छातीमा राखेर उनी हिँड्थे । केटाकेटीहरूलाई भेला गरेर उनीहरूलाई कवायद खेलाउँदै घुम्नु उनको एउटा सोख थियो । अक्सर उनी आफू बसेको ठाउँमा यस्तै गर्थे । मातृभूमिको खुट्टाको जन्जिर काट्ने जागरुक क्रान्तिकारी युवकहरू तयार पार्ने उनको भित्रको ज्वालाको यो प्रतिक्रिया हो भन्ने आज मलाई लाग्छ । केटाकेटीहरूलाई तालिम गर्नु र उनीहरूलाई खान लाउन दिनु उनको बानी थियो । १९९७ साल कात्तिक ३ गते उनी बसेको आफ्नी सानीआमाको पकनाजोलको घरबाट गिरफ्तार गरिए । उनको निर्भय चाल, कोहीसित दब्न नजान्ने मिजासले गर्दा पहिले नै उनलाई उम्कन नदिई गिरफ्तार गरिएको होला । केही दिनपछि उहीं पोलाहाद्वारा उनी पनि प्रजा परिषद्को कर्मठ सदस्य उपसभापति हो भन्ने थाहा भएपछि नेलसिक्री लाइयो । विशेष कुरा चुट्नको निम्ति बाँसमा झुन्ड्याएर पिँडौलाको मासु झार्ने गरी कोर्रा बर्साइयो, तर श्री दशरथ चन्द मामुली हाड मासुले बनेका व्यक्ति थिएनन् । उनको मुखबाट के कुरा फुत्कोस् ? आफूलाई शारीरिक पीडा दिई सताउनेलाई उनी भन्थे- ‘मैले सबै कुरा स्वीकार गरेपछि म मारिने नै छु भने किन मार्न लाउन्नौ ? मान्छौ भने अब पनि मौका छ जनताको हक देऊ । यो अन्यायी शासन अब धेरै समय टिक्न सक्दैन । तिमीहरूको नासको बेला नजिक आइरहेछ ।’ साँच्चै मक्किइएको राणा शासनलाई औंल्याउने र असल बाटो लाग्न सल्लाह दिने दूरदर्शी व्यक्ति उनी नै थिए । मानिसको विवेक र चेतनालाई उठ्न नदिई अज्ञान र झुठले छोपेर सोझोलाई बांगो र बांगोलाई सोझो भनी चलेको शासन किमार्थ धेरै दिन चल्दैन भन्ने कुरा उनले प्रत्यक्ष देखेका थिए । जंगबहादुरको शासनमा ‘हाइ हुकुमत मेरो, टक-ढक तेरो’ भन्ने उर्दीप्रति राजाबाट भइआएको भए मात्र यस्तो हुकुम मान्छौं, मन्त्री (अमात्य)ले भनेर मान्ने होइनौं भनेर दशरथ चन्दका बाजे हरिचन्द, जयचन्दले विद्रोह गरेका कुरा उनी बराबर साथीहरूलाई सुनाउने गर्थे । बाजे बराज्यूहरूले गरिआएकै काम अब म पनि गर्दैछु भनेर बराबर भन्थे । उनको यस्तो कामले उनलाई ज्यान सजाय दिइने कुरामा पनि उनी पहिलेदेखि नै सचेत थिए । सिंहदरबारभित्र मुद्दा भइरहँदाको कुरा हो । पुसमाघको जाडोको मध्यान्ह नाघेर अपरान्ह हुनै लागेको थियो । आजभोलि नेपाल रेडियो भएको घरमा पनि राजनीतिक कैदीहरू कडा पहराका साथ राखिएका थिए । त्यसैको माथि कौसीमा बसेर हजुरियाहरू तथा प्राइम मिनिष्टरका पत्यारका कर्मचारीहरू मुद्दा हेर्थे । दिनहुँ बैठकेहरूले आफ्ना मालिकहरूलाई दिउँसो ज्यूनार बोकेर पुर्‍याउन ल्याउँथे । श्री दशरथ चन्दलाई अरूलाई जस्तो घरबाट दिनहुँ खानेकुरा पठाइन्नथ्यो । एक दिन बैठकेले आफ्नो मालिकलाई चाँदीको टल्कने किस्तीमा छोपेर पुर्‍याउन भोजन ‘यी मेरा दाजुभाइ दिदीबहिनीहरूको पसिना हो, तिम्रो मालिकको मात्र होइन, यसलाई लिने र खाने हक मेरो पनि छ’ भन्दै खोसेर एक भाग आफ्नो गराए । बैठके जिल्ल पर्‍यो । के के भनेर माथिसम्म हल्लीखल्ली भयो । मालिक जरसाहेबले के सोचेर हो क्या रे कुन्नि ? भोलिदेखि एक भाग उनलाई पनि ल्याउने प्रबन्ध गरिदिए । श्री दशरथ चन्दले जीवनमा कहिले पनि शिर निहुराउन जानेनन् । सिंहदरबारमा मुद्दा फैसला सुनाउँदा ‘दशरथको ज्यान, अंश सर्वस्व’ भन्दा उमेर पुगेका जान्ने मानिसहरू केटाकेटीहरूको खेलमा हाँसे झैं उनी हल्ल हाँसिदिएका थिए । मृत्युको फैसलामा यस्तो हाँसो निकाल्न सक्नु कम आत्मबलको परिणाम होइन । श्री दशरथ चन्दको जीवनको सबभन्दा ठूलो सौन्दर्य उनको मृत्युदेखिको निर्भयता नै हो । साँच्चै मृत्युलाई भयावह भन्ने कुरा कहिले पनि उनले ठानेनन् । यात्रामा एक बासबाट अर्को बास सर्नु जत्तिकै मात्र उनले मृत्युलाई ठानेका थिए अथवा उनले थुनामा दिनहुँ पाठ गर्ने भगवद् गीताको श्लोक भनेको जस्तै मात्र – षासांसि जीर्णानि यथा विहाय नवानि गहृणाति नरो पराणि तथा शरीराणि विहाय जीर्णा न्यायाति संयाति नवानि देही । ‘लुगा पुराना जसरी त्यजेर नयाँ लुगा मानिस लिन्छ फेर यस्तै बूढा देहहरू त्यजेर जीवले लिन्छ नया शरीर ।’ (कोमलानुवाद) श्री गंगालाल र श्री दशरथ चन्द एकै कोठामा राखिएका थिए । श्री गंगालाल उनको अपेक्षा केही कलिलो उमेरका थिए । श्री दशरथ चन्द चाहिँ श्री गंगालाल हतोत्साही नहोऊन् भनी बारम्बार ढाडस दिइरहन्थे । भगवद्गीताको विराट पुरुषको वन्दना पाठ दुवै साथीहरूले मिलेर गर्थे । हाँसीहाँसी मृत्युको मुखमा पस्न लागेका यी दुई एक ज्यानका साथीहरूको त्यो सहवास साँच्चै नै स्वर्गीय वरदानजस्तो थियो । मित्रताको अगाधतामा चुर्लुम्म डुबेका यी दुई मित्रहरूमा भएको त्यसबेलाको कुराकानी बडो मार्मिक र अमूल्य त हुने नै भयो, तर लिपिबद्ध गरेर यसलाई भावी सन्तानको निम्ति सञ्चित गरिदिने को ? माघ १४ गते घरका मानिसहरूसित अन्तिम भेट गराउन सिंहदरबारबाट भद्रगोल जेलमा उनीहरू सारिए । १० गते पचली बाटोको रूखमा श्री शुक्रराजलाई फाँसी दिइएको थियो । त्यो रूखले उभिएर त्यस वीर सहिदको सम्झना आवत्जावत गर्नेहरूलाई आजसम्म पनि दिइरहेको छ । फाँसी दिइएको हाँगा भने काटिएको छ । १२ गते श्री धर्मभक्त पशुपति जाने मूलबाटोको रूखमा श्री धर्मभक्तलाई झुन्ड्याइयो, त्यो रूख अहिले जरैसम्म काटिएको छ । यसरी अब श्री गंगालाल र श्री दशरथ चन्दको पालो आइरहेको थियो । श्री गंगालालाई उनका पिता, भाइ, काका, तथा दिदी बहिनीहरू भेट्न आएका थिए । श्री दशरथ चन्दलाई भेट्न आउने कोही भएनन्, उनका दाजुभाइहरू काठमाडौंमा थिएनन् । उनका टाढाका साइनो पर्ने तथा अरू इष्टमित्रले उनलाई भेटी राणाको आँखाको कसिंगर हुने सम्भावनामा पाइला हालेनन् । रातको १२ बजेतिर भद्रगोल जेलबाट उनीहरूलाई कडा पहरामा लहरीमा राखी शोभा भगवतीस्थित भचाखुसीमा लगे । बालुवामा बलियोसँग उभ्याइएको दुईवटा बाँसमा चलहल गर्न नहुने गरी दुईजना साथीहरूलाई डोरीले बाँधे, आँखामा पट्टी लगाए । गंगालाल मभन्दा कान्छो छ, मलाई गोली लागेको देखेर डराउला । पहिलो गोली उमाथि दाग भन्ने श्री दशरथ चन्दको मागअनुसार पहिलो गोली श्री गंगालाल माथि दागियो । श्री दशरथ चन्दले श्री गंगालाललाई यसो पनि भनेको थिए रे -‘अन्तरिक्षमा मलाई पर्खनु, सँगसँगै स्वर्ग जानुपर्छ ।’ ड्याम्म छातीमा लागेको एक गोलीले नै श्री गंगालाल सहिद भए । अब श्री दशरथ चन्दमाथि गोली दागियो पेटतिर, खुट्टामा पर्‍यो । घाइते सिंह गर्जेर करायो-‘खुट्टामा के हान्छस् ? बाबुको छोरा भए छातीमा हान् !’ अर्को गोली छातीमा पर्‍यो । नेपाल आमाका दुई वीर सपूत सहिद भए । (युगकवि श्रेष्ठको पुस्तक ‘कारागारका सम्झना’बाट साभार ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com