केही नजानी विदेश जाँदा यातना


प्रकाशित मिति : १४ माघ २०७३, शुक्रबार

इटहरी उपमहानगरपालिका– ६ की सकली सदा चार वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण विदेशमा गएर पैसा कमाउने सपना बोकेर साउदी पुगेकी सदाले पैसा त कमाउन सकिनन् उल्टो चार वर्ष नारकीय जीवन बिताइन् । छिमेकी फ्याकिनी चौधरी र सरिता चौधरी थापाले मासिक १८ हजार कमाइ हुने गरी कुवेत पठाइदिन्छु भने । विदेश जान आफ्नो एक पैसा पनि खर्च नहुने भनेपछि सदाले धेरै सोचिनन् । काठमाडौं लगेर एजेन्टले नै पासपोर्ट बनाइदिए । आफ्नो र परिवारको सुखद भविष्यको कल्पना गर्दै घरबाट निस्किएकी सदाले नसोचेको भयो ।

भारत हुँदै कुवेतका लागि हिँडेकी सदालाई एजेन्टले साउदी पठाइदिएछन् । साउदी पुगेपछि मात्रै उनले भनिएकोभन्दा फरक देश आइपुगेको थाहा पाइन् । साउदी पुगेपछि घरेलु कामदारको रूपमा उनको दिनचर्या सुरु भयो । काम गरेको एक महिना पुगेपछि साहुसँग पारिश्रमिक माग्दा थाहा भयो दलालले आफूलाई १० लाखमा बेचेको रहेछ । साहुकोमा काम गर्न थालेपछि महिना बित्दै गए, तर तलब दिएनन् । काम गरेको पैसा माग्दा साहुले उल्टै झपारे– तँलाई त मैले किनिसकेको छु के को पैसा ? चार वर्ष साउदीमा बन्धक भएर काम गर्दा उनले तलब त पाइनन् नै मानसिक र शारीरिक यातना पनि धेरै खेपिन् । काम गरेको पैसा माग्दा साहुको कुटाइ खानुपर्‍यो । स्वदेश फर्कन्छु भन्दा पासपोर्ट र नागरिकता साहुले खोसेर राखेपछि हिंसा सहेर बस्न बाध्य भइन् ।

उनले भनिन्, ‘साहुले ढाडमा कुटेकाले मुखबाट रगत बग्ने समस्या भयो । काम गर्न नसकेपछि साहुले रातको समयमा नेपाली दूतावासमा लगेर छाडिदियो ।’ दूतावासले नै सदाको उपचार गरिदियो । चार महिना दूतावासको शरणमा बसेर उनी ०७३ असार १० गते रित्तोहात स्वदेश फर्किन् । दूतावासकै सहयोगमा राजधानीदेखि इटहरीसम्म आइन् । आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएपछि सदालाई विदेश पठाउने दलाल फ्याकनी चौधरी र सरिता चौधरीलाई प्रहरीले त समायो, तर दबाबमा परेर दलालसँग मिलापत्र गराएपछि सदाले न्याय पाउन सकिनन् । चार वर्षको कमाइ दिन्छु भनेर मिलापत्र गरे पनि उनीहरूले दिएनन् । उनले भनिन्, ‘दलालले पैसा दिनुको साटो उल्टै धम्क्याउँछन् । मलाई कसैले न्याय दिएन । न्यायका लागि विभिन्न सङ्घसंस्था र सरकारी कार्यालय धाइरहेकी छु ।’

सदाको जस्तै पीडा छ सुनसरी प्रकाशपुरकी मनमाया भट्टराईको । सात वर्षअघि भट्टराई भारत हुँदै कुवेत गइन् । मामलीभाइ पर्ने सन्त राईले कुवेतमा राम्रो कमाइ हुन्छ भनेकाले घरपरिवार छाडेर कुवेत पुगेकी भट्टराईले एक घरमा घरेलु कामदारको रूपमा काम सुरु गरिन् । काम सुरु गरेको दोस्रो दिन साहुले कपडामा आइरन लगाउन लगाए, तर भट्टराईले आइरन लगाउन जानिनन् । यति काम पनि नजान्ने भनेर घर मालिक्नीले तातो आइरनले गालामा डामिदिइन् । १० महिना कुवेत बसेकी भट्टराईले हरेक दिन यसरी नै कुनै न कुनै यातनामा बिताइन् । मालिक्नीले उनलाई साना–साना कुरामा पिट्थिन् ।

भट्टराई भन्छिन्, ‘साहुले सानातिना गल्तीमा समेत तातोपानीले पोलिदिने, पिट्ने गर्थे ।’ दैनिकजसोको यातनाबाट कमजोर भएपछि १० महिनापछि साहुले नेपाल फर्काए, तर उनले काम गरेको एक पैसा पनि पाइनन् । नेपाल आएर प्रहरीमा उजुरी दिएपछि सन्त राईलाई प्रहरीले पक्राउ गर्‍यो । ५० हजार क्षतिपूर्ति दिने सहमतिपछि छुटेका राईले २० हजार त दिए, तर बाँकी रकम नदिई फरार भए । सीप नसिकी विदेश जाँदा पाएको दुःख एकातिर रह्यो भने आफ्नैबाट ठगिनुको पीडा अर्कोतिर ।

सदा र भट्टराई त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै घरेलु कामदारका रूपमा बिदेसिएका अरू पनि महिला वैदेशिक रोजगारीका नाममा ठगिएका छन् । विगत १८ महिनाको अवधिमा सुरक्षित आप्रवासन परियोजनाअन्तर्गतको सूचना परामर्श केन्द्र सुनसरीमा वैदेशिक रोजगारीसम्बन्धी तीन सय ८६ मुद्दा छन्, तीमध्ये आठ मुद्दा महिलाका छन् । ठगीमा परेका सबै महिला वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति नलिई गैरकानुनी रूपमा बिदेसिएको पाइएको छ । अवैध बाटो रोजेका कारण आफू पनि कारबाहीमा पर्ने डरले ठगिएकाहरूले उजुरी दिन हिचकिचाउने गरेको सूचना परामर्श केन्द्र सुनसरीकी परामर्शदाता कमला कटुवालको अनुभव छ ।

त्यसो त सुनसरी सबैभन्दा बढी युवा विदेश जाने जिल्लामध्ये सातौँमा पर्छ । वैदेशिक रोजगार विभागका अनुसार सन् २०१५ मा सुनसरीबाट मात्रै तीन हजार ६ सय ७३ जना महिला बिदेसिएका छन् । श्रमस्वीकृति नलिई गैरकानुनी रूपमा बिदेसिने कति छन् भन्ने तथ्याङ्क कसैसँग छैन । सरकारले वैदेशिक रोजगारका लागि एक सय १० मुलुक खुला गरेको छ । तथापि इजरायल, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब एमिरेट्सजस्ता मुलुक महिलाको प्रमुख गन्तव्य बनेका छन् । हाल अफ्रिकी देशहरूमा वैधानिक वा अवैधानिक तवरले जाने क्रम बढ्दो रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कमजोर आर्थिक अवस्था भएका महिलाले अवैधानिक रूपमा बिनाझन्झट बिदेसिन पाइने हुँदा अवैधानिक बाटो अपनाउने गरेको पाइएको छ । विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिला खाडी मुलुक जाने गरेको सुरक्षित आप्रवासन परियोजना सुनसरीकी डिम्पल यादवले जानकारी दिइन् । यादव भन्छिन्, ‘सीप नसिकी दलालले फकाएको भरमा बिदेसिँदा महिलाले दुःख खेप्नुपरेको छ ।’ अधिकांश महिला घरेलु कामदारका रूपमा खाडी मुलुक जाने गरेका छन् । वैधानिक रूपमा बाहिरिने महिलाको सङ्ख्या कम देखिए पनि अवैधानिक रूपमा बाहिरिनेको सङ्ख्या ठूलो हुन सक्ने यादवको अनुमान छ । नेपाली महिला कम पढेका र आधुनिक प्रविधिसँग हेलमेल गर्न नजानेकै कारण पनि विदेशमा बढी दुःख पाउने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीप नसिकी गएका महिला घरायसी काम गर्दा भाषाको समस्यादेखि इस्त्री लगाउने, भ्याकुमक्लिनर लगाउने, वासिङमेसिन चलाउनेसम्मको सामान्य काम गर्ने अनुभव नहुँदा उनीहरू मालिकको आक्रोशमा पर्ने गरेका छन् । विशेषगरी भारत हुँदै गैरकानुनी तरिकाले घरेलु कामदारको रूपमा विदेश जाने महिलालाई अप्ठ्यारो परिस्थिति सिर्जना हुने गरेको छ । अवैधानिक प्रक्रिया अपनाउँदा महिला विदेशमा विभिन्न किसिमका हिंसामा पर्ने र शोषण सहन बाध्य हुने गरेका हुन् । आफूले विदेशमा कहाँ, कस्तो अवस्थामा र के काम गर्नुपर्छ भन्नेबारेमा जानकारी नै नलिई गएका कारण पनि महिला बढी हिंसा र शोषणमा पर्ने गरेका छन् । ‘म्याग फिचर सर्भिस’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com