अदालती सुनुवाईसम्म एसाइलम आवेदकलाई मेक्सिको फिर्ता पठाउने नीति पुन: कार्यान्वयन हुने


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

अमेरिकी सिमाक्षेत्रमा रहेका पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्ने आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता गर्ने नीति ट्रम्प प्रशासनले पुन कार्यान्वयन गर्ने भएको छ । सान फ्रान्सिस्कोका संघीय न्यायाधिस रिचार्ड सिबर्गले गरेको फैसलालाई नाइन्थ सर्किट कोर्ट अफ अपिलले उल्टाइदिएपछि ट्रम्प प्रशासनले एसाइलम आवेदकलाई मेक्सिको पठाउन पुन सुरु गर्ने भएको हो ।

गत अप्रिल ८ मा क्यालिफोर्नियाका संघीय न्यायाधिसले अदालती सुनुवाई सम्मका लागि एसाइलम आवेदकलाई मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयनमा रोक लगाउने आदेश जारी गरेका थिए । तर उक्त फैसलाबिरुद्ध ट्रम्प प्रशासनले पुनारावेदन गरेको थियो । त्यसपछि अप्रिल १३ मा नाइन्थ सर्किट कोर्टले अस्थायी आदेश जारी गर्दै एसाइलम आवेदकलाई मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयनका लागि बाटो खोलिदिएको थियो ।

सर्किट कोर्टको आदेशपछि युएससीआईएसले अदालती सुनुवाईसम्म एसाइलम आवेदकलाई मेक्सिको फिर्ता पठाउने नीति कार्यान्यायनका लागि तयार रहन निर्देशन दिएको छ । यो नीति अन्तरगत अहिलेसम्म ११ सय ५ जना एसाइलम आवदेकलाई मेक्सिको फिर्ता पठाइसकिएको छ । सान डिएगोको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट यो नीति कार्यान्वयन सुरु गरिएपनि अन्य पोर्ट अफ इन्ट्रीमा समेत विस्तार गर्ने ट्रम्प प्रशासनको योजना रहेको छ ।

रिचार्ड सिबर्गले अप्रिल ९ मा मेक्सिको फिर्ता पठाउने नीति कार्यान्वयन रोक लगाएयता भने कुनै पनि आप्रवासीलाई मेक्सिको फिर्ता पठाइएको छैन । तर अब मेक्सिको फिर्ता पठाउने नीति टेक्सासमा समेत विस्तार गरिदै छ । क्यालेक्सिको, सान डिएगो र एल पासो पोर्ट अफ इन्ट्रीमा नयाँ नीति विस्तार गरिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com