विदेशमा पढेका ‘नेपाली धोबी’


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

नुनुता राई/ एक वर्ष भयो, ‘नेपाली धोबी’को जन्म भएको । एक वर्षअघि नेपाली धोबी भन्दा उडाउँथे, अहिले पत्याउँछन् । ‘जसले जुन उद्देश्यले धोबी भने पनि गर्व लाग्छ ।’ ऋचाले गर्वानुभूति सुनाइन् ।

तीन फरक व्यक्तिको एउटै सोच भएपछि नेपाली धोबीको जन्म भएको थियो । विदेशमा बस्दा गर्नुपर्ने मिहिनेतबारे जानकार दुई युवा र स्वदेशमा मिहिनेत गरिरहेका यी तीन युवाको भेट संयोगले भयो । उद्देश्य पनि संयोगवश मिल्यो । नितान्त फरक विषय र फरक देशमा पढेका यी युवालाई उद्देश्यले एक ठाउँमा ल्यायो ।

स्कलटल्यान्डमा आइटी पढेर आएका विकास सुवेदी, अस्ट्रेलियामा नर्सिङ पढेकी ऋचा धमला र नेपालमा नै स्नातक गरेका निकुञ्ज भण्डारीको भेट साझा साथीमार्फत भयो । तीन युवाको व्यक्तिगत चाहना नेपालमा नै केही नयाँ गर्ने भन्ने थियो । साझा साथीमार्फत चिनिए पनि केही नयाँ गर्ने सोचले उनीहरूलाई छिटै नजिक बनायो । ‘केही नयाँ गर्ने भन्ने सोच मिल्यो, तर के गर्ने त भनेर ठ्याक्कै पत्ता लगाउन धेरैपटक छलफल ग¥यौँ ।’ विकास सुरुवाती दिनको स्मरण गर्छन् । त्यसैमा ऋचाले थपिन्, ‘छलफलकै क्रममा हामीले भोगेका समस्या सेयर गर्दा सबैभन्दा बढी लुगा धुने समस्या पत्ता लगायौँ ।’ समस्या पहिचान भएपछि ‘केही नयाँ’ गर्ने सोचका साथ एकजुट भएका तीन युवाले खोजीनीति गरे ।

उनीहरूको अनुसन्धानले उपत्यकाको व्यस्त जीवनशैलीमा पानीको अभावले उत्पन्न समस्यामध्ये मुख्य एक देखियो– लुगा धुने । अब यही समस्यामा नयाँ तरिकाले केही गर्नुपर्छ भन्ने छलफल चल्यो ।

लुगा धुने अर्डर अनलाइनमार्फत लिने भनेर त्यहीअनुरूप उनीहरू तयारीमा जुटे । त्यसपछि धोबी बन्नका लागि अध्ययन, अनुसन्धान सबै गर्दा झन्डै एक वर्ष लागेछ । विकास भन्छन्, ‘सुरुमा आइडिया सेयर गर्दा परिवारका सदस्य नै हाँसे । साथीभाइले पटक–पटक साँच्चै यही गर्न लागेको हो ? भनेर प्रश्न गर्थे ।’ आफूहरू आफ्नो सोचलाई यथार्थमा बदल्न अहोरात्र खटेको उनी बताउँछन् । बिहान ७ बजे निस्केर साँझ ८ बजे घर पुग्ने दैनिकी बन्यो, उनीहरूको । कति दिन त बिहानको खानाको सट्टा साँझ ४ बजे बर्गर खाएर काम गरे भने कहिले एकैचोटि साँझको खाना खाएको सम्झन्छन्, उनीहरू ।

लुगा धुने ‘मार्केटिङ’का लागि उनीहरू कहिले मान्छेहरू चियामा गफिइरहेको ठाउँमा गएर कुराकानी गरे त कहिले आफ्ना कुरा सुनिदिन अनुरोध बिसाए । उनीहरूले विभिन्न समस्या झेलेर भविष्यमा हुन सक्ने अप्ठ्याराहरूसमेत पहिचान गरे । लुगा धुन कुन केमिकल प्रयोग गर्ने, फेब्रिकको पहिचानलगायत सबै सिके । ‘कम्प्लिट रूपमा धोबी बन्न धेरै मिहिनेत गरियो,’ विनोद सम्झन्छन्, ‘त्यसवेला आफूलाई पूर्ण रूपमा धोबी बनाउन आफन्त, चिनेजानेको, धेरैको मैला लुगा निःशुल्क धोयौँ पनि ।’

स्कटल्यान्डमा आइटी पढेर आएका विकास सुवेदी, अस्ट्रेलियामा नर्सिङ पढेकी ऋचा धमला र नेपालमा नै स्नातक गरेका निकुञ्ज भण्डारीले स्वदेशमै केही गर्ने अठोटका साथ अनलाइन अर्डर लिएर लुगा धुने व्यवसाय सुरु गरे |

उद्योग सुरु गर्न उनीहरूले काठमाडौंको बौद्घ एरिया रोजे । जसको मुख्य कारण पानी थियो । बौद्धमा फ्याक्ट्री खोल्न त्यहाँको पानी जाँच गराएर उपयुक्त भएपछि मात्रै सुरु गरेको बताउँछन्, उनीहरू । नेपाली धोबीमा पहिलोपटक बालुवाटारबाट अनलाइन अर्डर आउँदा उनीहरू आफैँलाई होइन कि, साथीहरूले जिस्काइरहेका त छैनन् भन्ने लागेछ । शंका लाग्दालाग्दै पनि आफू र विनोद कपडा लिन गएको ऋचा सुनाउँछिन् । ‘हामीलाई लुगा धुन साँच्चै अर्डर आएको रहेछ,’ ऋचाले सुनाइन्, ‘एकजना दिदी हुनुहुन्थ्यो, उहाँले हाम्रो कामको एप्रिसिएसन गर्नुभयो । हामीलाई हौसला दिनुभयो । पहिलो अर्डरले साह्रै खुसी भयौँ ।’

आफूहरूले लुगा धुने व्यवसाय थाल्न लागेको बताउँदा, सल्लाह माग्दा सुरुमा धेरैले डर देखाएको उनीहरू बताउँछन् । ‘लु डुबिएला है । खै नेपालमा अनलाइनबाट पनि कसैले लुगा धुवाउला र ? यो पेसा ठीक हुन्छ र ? ह्या धोबी बन्ने…? तिमीहरू पढेकाले यस्तो काम गर्ने ? भनेर अधिकांशले हतोत्साहित गर्दै डर देखाए,’ ऋचा र विनोदले एकसाथ भने, ‘तर, हामी आफ्नो योजनामा निरन्तर लागिरह्यौँ । बिस्तारै अर्डरहरू आउन थाले । काठमाडौंवासीबीच नेपाली धोबी परिचित हुन थाल्यो । अहिले समस्या छैन ।’

विकास, ऋचा र निकुञ्जको ‘नेपाली धोबी’ले सुरुका दिनमा बौद्धको बाटोका कारण धेरै समस्या भोग्नुपरेछ । ‘गाडीले आउन नमान्ने, स्टाफहरू पनि अन्कनाउने, आफैँ पनि उद्योगमा पुग्न धेरै गाह्रो भयो,’ ऋचाले भनिन्, ‘बाटोकै कारण समयमा सेवा दिन नसकिने भयो । जसकारण व्यवसायमा असर पर्ने देखिएपछि हामीले विकल्पका रूपमा नजिकै अथवा सहज ठाउँमा सर्भिस सेन्टर खोल्ने योजना बनायौँ।’
उपत्यकावासीमा परिचित हुने क्रममा रहेको नेपाली धोबीमा हाल १२ जना कर्मचारी कार्यरत छन् । सञ्चालकत्रयको अहिलेसम्म आफूहरूले सेवाग्राहीलाई गुनासो गर्ने मौका नदिएको दाबी छ ।

खोज्दै जाँदा कुपन्डोलमा ठाउँ पाए । त्यहाँ एक रोपनी जग्गा भाडामा लिएर धोबी काम अघि बढाए । भौतिक व्यवस्थापन गर्नका लागि हस्पिटल र होटेलबाहेकको केजीको अर्डर बन्द गरेर काम गरे । करिब पाँच महिनापछि फेरि केजीको अर्डर लिन थालेका छन् । कुपन्डोलमा उद्योग निर्माणकै क्रममा फेरि समस्या आइलाग्यो । आधी काम भइरहेका वेला चोरी भयो । करिब १२ लाखबराबरको सामान चोरी भएको विकास बताउँछन् । त्यस दुर्घटनाले उनीहरूलाई दोधारमा पार्‍यो । चोरी भएपछि चौकीमा उजुरी गर्न जाँदा प्रहरीको गैरजिम्मेवार प्रतिक्रियाले झनै निराश बनाएको विनोद बताउँछन् । विनोद उजुरी टिप्ने प्रहरीको भनाइ सम्झन्छन्, ‘यहाँ त यस्तै हो, दैनिक तीनदेखि चारवटासम्म चोरीको उजुरी आउँछ ।’ प्रहरीकै गैरजिम्मेवार प्रतिक्रियाले झन् अन्योल थप्यो । तर, शुभचिन्तकहरूको हौसलाले उनीहरू कुपन्डोलमै उद्योगलाई निरन्तरता दिन तयार भए । ऋचा भन्छिन्, ‘चोरले सामान मात्रै लगेन, सुरक्षित रहनुपर्छ भन्ने पाठ पनि सिकायो । धन्न मेसिन सबै ल्याइसकेका थिएनौँ । नत्र त झन् धेरै क्षति हुने रहेछ ।’

सरकारी प्रक्रियाप्रति निराशा
कुपन्डोलमा कम्पनी विस्तार गर्ने क्रममा सरकारी प्रक्रियाले पनि निराश बनाएको उनीहरू बताउँछन् । एउटै कम्पनी सुरु गर्न तीन तहमा कर तिर्नुपर्ने बाध्यता छ । वडा, महानगरपालिका र कर कार्यालय । ‘कम लागतको कम्पनी सुरु गर्दा कुल लगानीको आधाभन्दा बढी त कर नै तिर्नुपर्ने रहेछ,’ विनोद थप्छन्, ‘यसले हामीजस्ता आफ्नै देशमा केही गरौँ भन्ने युवालाई निराश बनाउँछ ।’ सरकारको यस्तो प्रवृत्तिले युवालाई विदेश पलायन हुन प्रोत्साहन गरेको ठम्याइ उनको छ ।

अहिलेका युवा लाखौँ खर्चेर विदेश जान तयार छन् । त्यस्ता युवाशक्तिलाई रोक्न र स्वदेशमै लगानी गर्ने वातावरण बनाउन सरकारले यस्ता झन्झटिला प्रक्रिया सहज र सुलभ बनाउनुपर्ने धारणा उनीहरूको छ । विदेशमा अध्ययनसँगै बस्न–खानका लागि गर्नुपर्ने कडा परिश्रमबारे जानकार विनोद भन्छन्, ‘त्यहाँ गर्ने मिहिनेतले यहीँ पनि स्थापित हुन सकिन्छ । त्यसको उदाहरण हामी हुनेछौँ । हामीबाट कोही दुईजना मात्रै युवा प्रोत्साहित भए भने मात्रै पनि हामी उपलब्धि ठान्छौँ ।’

दैनिक ७० केजीभन्दा बढीको अर्डर
उनीहरूलाई अहिले दैनिक ७० केजीभन्दा बढी कपडा धुने अर्डर आउने गरेको छ । हस्पिटल, होटेल तथा रेस्टुरेन्टलगायत पाँचवटा नियमित सेवाग्राही छन् भने व्यक्तिगत सेवाग्राहीहरू अझ धेरै रहेको उनीहरू बताउँछन् । ‘हामीसँग यस्तो सेवाग्राही पनि हुनुहुन्छ, जसले विदेशबाट यहाँ रहनुभएका आमाबुबा एवं आफन्तको अर्डर गरिदिनुहुन्छ र पेमेन्ट अनलाइन गर्नुहुन्छ । उहाँहरू नियमित सेवाग्राही भइसक्नुभएको छ,’ ऋचाले सुनाइन् । ‘नेपाली धोबी’ले एक केजीको लुगा एक सय २० रुपैयाँमा धुने गरेको छ भने रङ जाने कपडाको सोही रकममा छुट्टै तरिकाले धुने, अलि ठूलो कपडाको गोटाको हिसाब गर्ने गरेको छ । विनोद भन्छन्, ‘कपडा जस्तो छ, त्यहीअनुसार धुन्छौँ । अहिलेसम्म सेवाग्राहीलाई गुनासो गर्ने मौका दिएका छैनौँ ।’ उपत्यकावासीमा परिचित हुने क्रममा रहेको नेपाली धोबीमा १२ जना कर्मचारी कार्यरत छन् । आफूहरूले सुरु गरेको काम स्थापित हुँदै गइरहेकोमा गर्वानुभूति गर्छन्, यी तीन ‘धोबी’ युवा विकास, ऋचा र निकुञ्ज ।नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com